कति टिक्छन् एउटा पार्टीमा फिरन्ते कार्यकर्ता ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, २२  भदौ । राष्ट्रिय जनता पार्टीबाट वीरगन्ज महानगरपालिकाका ‘मेयर’ मा चर्चामा रहेका विमल श्रीवास्तव मंगलबार फोरम लोकतान्त्रिक प्रवेश गरे । बुधबार नै उनले फोरम लोकतान्त्रिकबाट महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराए।

 

राजपा महोत्तरीका अध्यक्ष मण्डलका सदस्य नरेन्द्र यादव मंगलबार माओवादी केन्द्र प्रवेश गरे । उनले बुधबार नै औरही नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराए।

सद्भावना पार्टीका संस्थापक महासचिव अनिश अन्सारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एक साता लामो मधेस भ्रमणका क्रममा माओवादी प्रवेश गरे । उनले पनि बुधबार सप्तरीको राजविराज नगरपालिकाको मेयरमा माओवादीका तर्फबाट उम्मेदवारी दर्ता गराए।

वीरगन्ज मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारी माओवादी छाडेर एमाले प्रवेश गरे । एमालेबाट माओवादीमा प्रवेश गरेका उनी फेरि एमालेमै फर्केर बुधबार वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराए । यी प्रतिनिधि उदाहरण मात्र हुन्।

 

आजको अन्नपूर्णमा खबर छ-तराई-मधेसमा २ असोजमा हुन लागेको स्थानीय तह निर्वाचनमा झन्डै दर्जन बढी नेताले ‘टिकट’ कै लागि राजनीतिक दल बदलेर उम्मेदवारी दर्ता गराएका छन् । यसपटकको निर्वाचनमा दल बदलेर पार्टी प्रवेश गर्न चाहनेलाई कांग्रेस-एमालेको तुलनामा माओवादी केन्द्रले बढी टिकट दिएको छ।

माओवादीले एमालेबाट आएका राजनारायण चौधरीलाई महोत्तरीको भङगह नगरपालिका प्रमुख, राजपाबाट आएका शेख मोत्तिनलाई बाराको सिम्रनगढ नगरपालिका प्रमुख र कांग्रेसबाट आएका इस्लाम अन्सारीलाई आदर्शकोतवाल गाउँपालिका अध्यक्षको ‘टिकट’ दिएको छ।

राजनीतिक दल अदलबदल गर्ने र राजनीतिक उतारचढाव हुने क्रम अहिले मधेसमा दिनहुँ देखिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा पार्टी फेर्ने संस्कार नयाँ भने होइन । तर, यस्तो तरलता र पार्टी अदल-बदल पहाडमा भन्दा मधेसमा बढी हुने गरेको देखिएको छ । यस्तो अदलबदल व्यक्तिगत स्वार्थ र ‘अवसर’ कै लागि गर्ने गरेको यी तथ्यले देखाउँछ।

एक सातायताको मात्रै तथ्यांकलाई हेर्ने हो भने मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले मधेसमा पार्टी प्रवेश कार्यक्रमलाई महत्वव दिइरहेका छन् । त्यसमा पनि माओवादी केन्द्रले अन्य दुई दलको भन्दा बढी चुनावी प्रपोगन्डा ‘पार्टी प्रवेश’ लाई बनाइरहेका छन्।

 

माओवादी केन्द्रले साताभित्र मात्रै अध्यक्ष पुष्पकमल दाहालको मधेस भ्रमणका क्रममा फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादव, सद्भावना पार्टीका संस्थापक महासचिव अनिश अन्सारीदेखि पूर्वसांसद शिवपुजन यादवसम्म गरी करिब १९ हजार नेता-कार्यकर्ता विभिन्न पार्टी छाडी आफ्नो पार्टी प्रवेश गरेको दाबी गरेको छ।

एमालेले पनि निर्वाचनकै सन्दर्भमा राजपाका कोषाध्यक्ष अनिता यादव, अखण्ड नेपाल पार्टीका उपाध्यक्ष रुपा भण्डारीलगायत नेता-कार्यकर्ता आफ्नो पार्टीमा आएको बताएको छ । कांग्रेसमा पनि यो क्रम उस्तै छ।

कति टिकाउ हुन्छन् ?
चुनावको मुखमा पार्टी प्रवेश गर्ने नेता-कार्यकर्ता सैद्धान्तिक रूपमा प्रतिबद्ध भएर नआउने राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल बताउँछन् । पार्टीले पनि आफ्नो दार्शनिक मूल्य/मान्यता, विचारमा सहमत भएर अन्य दलका नेता-कार्यकर्ता आफ्नो पार्टीमा भित्वयाउनेभन्दा पनि चुनावी ‘भोट बैंक’ का लागि मात्र भित्वयाउने गरेका छन् ।

चुनावी मुखमा पार्टी फेरबदलमा कुनै सैद्धान्तिक विषयले प्राथमिकता पाउँदैनन् । ‘मान्छेहरू सबैभन्दा पहिले आफू रहेको दलले टिकट नदिएपछि अर्को दलबाट टिकट पाउने लोभमा बार्गेनिङ गरी प्रवेश गर्ने गरेको बढी देखिएको छ’, बरालले अन्नपूर्णसँग भने, ‘मौका यही हो भन्ठानेर उनीहरू एक-अर्को पार्टी प्रवेश गरिरहेका हुन्छन् । सैद्धान्तिक आधार केही छैन, व्यक्तिगत लाभका लागि मात्र पार्टी परिवर्तन हुने गरेका छन् ।’

चुनावी मुखमा भित्रिएका नेता-कार्यकर्ता एकै पार्टीमा टिकाउ नहुने पनि बराल बताउँछन् । ‘यो टिकाउ हुँदैन । पार्टीले चुनावमा भोट तान्न जसलाई पनि पार्टीमा हुल्ने संस्कार छ’, उनले भने, ‘सैद्धान्तिक आधार नहुने, प्रतिबद्धता नहुने र आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र पार्टी फेर्नेहरू कसरी टिकाउ हुन्छन् ? जता अवसर पाउँछन्, उत्तै दौडिहाल्छन्।’ एमालेले वीरगन्ज महानगरपालिकामा मेयर उम्मेदवार बसुरुद्दिन अन्सारी यस्तैमध्येका एक हुन्।

दोस्रो संविधानसभा निर्वाचनको मुखमा उनी एमालेबाट माओवादी प्रवेश गरेका थिए । तर, अहिले उनी फेरि वीरगन्ज महानगरको मेयरको ‘टिकट’ लिएर एमालेमै फर्केका छन् । ‘मान्छे सबैभन्दा पहिले आफ्नो पहिचानको खोजी गर्छ, आफूलाई मान-सम्मान गरिदेओस् भन्ने चाहन्छ’, राजनीतिक विश्लेषक प्राध्यापक बराल थप्छन्, ‘चुनावकै बेला दल अदल-बदल बढी हुनुमा मौका पनि मिल्ने, फाइदा लिन पनि सकिने भएर दल फेर्न मान्छे हतारिन्छ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);