काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अनुस्थितिमा सुरु भएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा केहीबेर अघि सुरु भएको सो बैठकमा अन्तिमसम्म पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम थियो । तर निर्धारित समय बितिसकेपछि प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने खबर पार्टी मुख्यालयमा पुगेको थियो ।
स्रोतका अनुसार धुम्बाराहीको हल सानो भएको र निमर्लीकरण समेत नगरेका कारण कोरोना संक्रमणका जोखिम हुने भन्दै ओलीले बैठकमा सहभागी हुने कार्यक्रम अन्तिममा आएर रद्द गरेका थिए ।
आजको बैठकमा पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने बताइएको छ । तर आजको बैठकप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि रहेकाले कुनै निष्कर्ष निस्कने संभावना कम रहेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले आजको बैठकलाई बल प्रयोगको संज्ञा दिनुभएको छ ।