कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी : सभामुख सापकोटा

काठमाडौं, १२ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताउनु भएको छ । जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो धारणा राख्नुभएको हो । सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताउनुभयो । त्यसैले पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननिय सांसदहरुमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदा खेरी त अरुको भर पर्नुप¥यो । बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुप¥यो । जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन उनीहरुले मात्रै जनमुखि विधेयकहरु बनाउन सक्छन । त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ । मैले के भन्न खोजेको हो भने पार्टीहरु भित्र पनि लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेको आभास हामीलाई भएको छैन । सामान्य प्रशिक्षणहरु भएको छैन र हामीले संघीय संसदबाट पनि सांसदहरुलाई प्रशिक्षणको वातावरण बनाउन सकेका छैनौं । ’

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताउनुभयो । पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरुकै भएको बताउनुभयो । यस्तै वैज्ञानिक वस्तुवादी र जनताका इक्षा, आकांक्षा र भावना समेटेर कानून निर्माण गर्न सकेमा मात्रै सफलता सुनिश्चित हुने बताउनुभयो ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दा प्रदेशलाई अप्ठेरो : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानूनहरु नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताउनुभयो । सबै कुराको वातावरण बनेपनि ऐनकै कारण काम नहुने स्थिति देखा परेको उहाँको भनाई छ । त्यसैले अवको हिउँदे अधिवेशनमा त्यस्ता सबै ऐन कानूनहरु निर्माण गरी संघीय संरचनाका सबै निकायहरुलाई काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ । संघ र प्रदेशले बनाउनुपर्ने कतिपय नबन्दाखेरी स्थानीय तहलाई अप्ठेरो् छ । वातावरण बनिरहेको छ तर ऐनकै कारणले झेल्नुपर्ने भएको छ । जे जति छन भोलीका दिनहरुमा यति लामो अवधि गइसकेको छ अव यो हिउँदे अधिवेसनमा कम्तिमा पनि ऐन त बन्ने परिमार्जन हुने संशोधन हुने जाने प्रक्रिया हुन्छन भइरहन्छन् । तर संघले ऐनहरु नबनाइदिएर हामीले काम गर्न पाएनौं भनेर प्रदेश र स्थानीय तहले गुनासो नहुनेगरी अव बाँकी नीति बनाएका छौं तिनलाई कार्यान्वयनमा लाने हो । म कानून मन्त्रीलाई विशेष गरी भन्न चाहन्छु त्यस्ता ऐन जति सबै यो हिउँदे अधिवेसनमा पास गरेर अव प्रदेश र स्थानीय तहको लागि संघले बनाउने कुनैपनि ऐनहरु बाँकी छैन भनेर भन्न सक्ने हामी बनाउनुपर्छ ।’

संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आयो : कानूनमन्त्री तुम्बाहाङ्फे

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताउनुभयो । उहाँले कति गते बोलाउने भन्ने टुंगो नलागेपनि नियमित अधिवेशन सुरु हुने बताउनुभयो । अधिवेशन बोलाउने सन्दर्भमा प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो नियमित अधिवेसन अन्त्य भएको धेरै समय वितिसक्यो । नियमित अधिवेसन प्रवेश गर्ने बेला भइसकेको छ । तसर्थ मैले अनौपचारिक रुपमा सभामुखलाई भनेको छु । र कर्मचारी साथीहरुलाई पनि भनेको छ । यहाँको अवश्यक पूर्व तयारीको निम्ति यहाँले काम गर्नुहोला भनेको थिए । मैले अहिले भर्खरै राष्ट्रिय सभाको हल हेर्दा बनाउनु भएको छ तर फिनिसिङ गर्न बाँकी रहेछ । प्रतिनिधि सभाको सम्भवतः त्यसै गर्नुभएको होला । हामी नियमित अधिवेसनको निम्ति कति गते भन्ने कुरा टुंगो लागेको छैन तर निमित अधिवेसन आव्हान हुन्छ । त्यसको लागि सम्माननिय सभामुख, सम्माननिय अध्यक्ष, उपाध्यक्ष त्यहाँका कर्मचारी साथीहरुलाई त्यतातर्फ पनि ध्यान दिनुभएको रहेछ काम गर्नुभएको रहेछ ।’

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आत्मसाथ गर्दै जानुपर्ने बेला आएको पनि बताउनुभयो । परिवर्तन, विकास र चेतनालाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);