एजेन्सी , ९ मंसिर । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले आर्थिक हिनामिनाको आरोपमा अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको जनाएको छ ।
अफ्रिकी फुटबल प्रमुखका रूपमा फेरि चार वर्षका लागि निर्वाचित हुने प्रयासमा रहेका अहमदमाथि यो सजाय सुनाइएको हो । अफ्रिकी फुटबल महासंघका अध्यक्षका रूपमा उनी फिफाका उपाध्यक्षसमेत हुन् ।
फिफाको आचारसंहिता कमिटीले अहमदबाट इमान्दारिता नदेखाएको, अरूलाई उपहार र अन्य फाइदाको प्रलोभन देखाएको, वित्तको दुरुपयोग गरेको र आफ्नो पदीय दुरुपयोग गरेको जनाएको छ ।
मादागास्करका पूर्व सरकारी पदाधिकारीसमेत रहेका अहमदलाई २ लाख २० हजार डलर जरिवाना पनि गरिएको छ । फिफाका अनुसार सन् २०१७ देखि २०१९ सम्ममा अहमदले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेका हुन् र यसका लागि फिफाले ५ महिना छानबिन गरेको थियो ।