काठमाडौं, २० कार्तिक । राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षणका लागि अनुमति दिएसँगै नेपाल क्रिकेट संघ क्यानले खेलाडीको क्याम्पका लागि आन्तरिक तयारी सुरु गरेको छ । परिषद्ले आगामी मंसिर १० बाट प्रशिक्षण गर्न अनुमति दिएपछि क्यानले तयारी सुरु गरेको हो ।
प्रशिक्षण अगाडी खेलाडीको अनिवार्य पिसीआर परिक्षण र उनीहरुलाई सुरक्षित राख्नु पर्ने छ । अझै करिव दुई महिना कुनैपनि प्रतियोगिता नभएको अवस्थामा क्यानले यो विचमा कुनै अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि योजना बनाएको छ । त्यसमा एकदिवसिय वा टी २० जुन भएपनि एक खेलाउने योजना क्यानको छ ।
परिषद्ले फुटबललाई प्रशिक्षणको अनुमती दिए जसरी नै क्यानलाई पनि खेलाडीलाई प्रशिक्षणमा राख्नका लागि स्विकृती दिएको हो । क्याम्पमा क्यानले बढिमा २६ जना खेलाडीलाई बोलाउने योजना बनाएको छ । यसका साथै क्यानले कीर्तिपुर मैदानमा खेलाडी राख्ने होस्टेलका लागि पनि तयारी अगाडी बढाएको छ । त्यसमा क्यानले राखेपसँग सहकार्य गर्ने छ । यो आर्थिक बर्षमा रातो कितावमा रहेको ४० लाख रुपैयाँ होस्टेलमा खर्च गर्ने योजना क्यानको छ ।
गत भदौको पहिलो साताबाट प्रशिक्षण सुरु गर्ने भनिएपनि यो बर्ष आइसीसीले गर्ने सबै प्रतियोगिता स्थगित गरेपछि अन्तिम समयमा स्थगित भएको थियो । यसका साथै सो बेला खेलाडीलाई राख्ने भनिएको बस्ने ब्यवस्थाको काम पनि रोकिएको थियो । अब फेरी खेलाडी बस्नका लागि सबै काम चाँडै पुरा गरिने भएको छ ।