काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोरोना जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गर्नुभएको हो ।
आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुने भन्दै राष्ट्रपति भण्डारीले यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास गर्नुभएको छ ।




