असत्य माथि सत्यको विजयको प्रतिक दशैं, कुन समुदायले कसरी मनाउँदै ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

असत्य माथि सत्यको विजयको प्रतिक दशैं, कुन समुदायले कसरी मनाउँदै ?

कल्पना सानु भट्टराई

बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुधपूजा आदि नामले पनि चिनिन्छ ।

आश्विन शुक्ल घटस्थापनापछि सुरु र सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी देखि पूर्णिमा सम्म लगातार मनाइने महापर्व हो दशैं । त्यसैले पनि दशैंलाई नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाडका रुपमा लिइन्छ । दशैंलाई धार्मिक परम्परा मात्र नभएर सामाजिक सदुभावको पर्वका रुपमा समेत लिइन्छ ।


त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा पनि यस चाडलाई मनाइने परम्परा छ । श्रीरामले दशैंको दिनमा रावणमाथि विजय हाँसिल गरेकाले परम्परागत दशैंसँगै रावणमाथि विजय हाँसिल जोडिएको संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग बताउँछन् । दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । त्यसैले पनि असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । दशैं जीतहरुको खुसीयाली र उत्साहको संग्रह भएको पनि संस्कृतिविद्हरुको दावी छ ।

दशैंलाई भगवान रामको विजय उत्सवको रुपमा वा दुर्गा भवानीले असुरहरुको बध गरेको उपलक्ष्यमा मनाए पनि दशैं शक्ति पूजनको पर्व हो । नेपाली संस्कृति र वीरताको पूजक अनि शौर्यको उपासकका रुपमा मनाइने दशैं अलिखित इतिहासको दस्तावेजका रुपमा लिनुपर्ने संस्कृतिविद्हरुको भनाई छ ।

बडादसैँको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । दशैंमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका राख्दछ । टाढा टाढा पुगेका सबै परिवार एकैस्थानमा भेला भएर मनाइने पर्व भएकाले पनि दशैंलाई पारिवारिक जमघटको पर्वका रुपमा पनि लिइन्छ ।

फूलपाती

नवरात्रिको सातौं दिन फूलपाती हो । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्राइन्छ ।

वर्षा ऋतु सकिएर शरद ऋतु को स्वागतमा नयाँ पालुवाहरू घरमा भित्राउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, व्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ । यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल,ण् अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी दुर्गापूजा गरेको स्थलमा भित्राउने परम्परा छ यस दिन विशेष गरेर महा सरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्राउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्राउने परम्परा छ । तर यस वर्ष भने कोभिड १९ का कारण औपचारिकतामात्र कायम राख्ने तयारी भएको छ ।

महाअष्टमी

नवरात्रीको आठौं दिन महाष्टमी हो । यस दिन महाकाली –भद्रकालीको विशेष पूजा–आजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी—शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको संस्कृतिविद्हरुको भनाई छ । पूजापश्चात् मानिसहरू नवदुर्गा ,आ—आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न् । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।

महानवमी

नवरात्रीको नवौं दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा—आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई वलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । वलिको अर्थ त्याग अर्थात त्यागिदिनु भन्ने हुन्छ । नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष, छल, कपट लगायतका खराव अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावल अवगुणहरुको त्याग गर्नु रहेको पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताए । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेंडा, मद, मात्सर्यको प्रतीक कुखुरा र हाँसलाई मान्दै बलि चढाउने चलन रहि आएको ञ ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्त कुमार महर्जनले बताउनु भयो ।


विजया दशमी


नवरथाको दशौं दिननै विजयादशमी हो । आश्विन शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुmिभन्छ । यो दशैंको खास दिन हो । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर घरमा सबैभन्दा पाको र मुख्य व्यक्तिले सोह्र सामाग्री सहित भगवती दुर्गा र अरु देवी तथा देवताको पूजा गरिन्छ । नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान गरिन्छ । सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइन्छ । आरती र पुष्पाञ्जलि सहित पूजा सकिएपछि वर्षभरि कसैले आफुमाथी आफूमाथि दमन गर्न सक्दैन र गरिहाले विजय प्राप्ती गर्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।


चन्दन, अक्षता, फूल छर्कँदै माफी दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरिन्छ । यस वर्ष देवि विर्सजनको साइत १० बजेर ११ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवी विसर्जन पछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । त्यसपछि घरका सबैभन्दा जेष्ठ वा मूलीले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिने गरिन्छ । यसपालीको टिकोको साइट कार्तिक १० गते विहान १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरको टिका लागाईसकेपछि मान्यवरकहाँ नयाँ नयाँ लुगा र गर गहना लगाई टीका लगाउन जाने प्रचलन छ । यस दिन पिङ खेल्यो वा भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने पारम्परिक मान्यता समेत रहेको छ । दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेको संस्कृतिविद्हरुको भनाई छ ।

दशैंमा टिका लगाउदा पुरुषलाई दिने आशिषः
‘आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।’

मन्त्रको अर्थः
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनु भन्ने हो । दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता बनुन् । विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कीर्ति वा प्रशिद्धि होस् । भन्दै मान्यजनवाट आशिर्वाद लिइन्छ । यी आर्शिवाद हेर्ने हो भने पनि विगतमा मानव सभ्यताका लागि हाम्रा पुष्ताले गरेका प्रयासहरू समेत दशैंमा जोडिएर आएको पाइन्छ ।

दशैमा टिका लगाउादा महिलालाई दिने आशिषः
‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।’

मन्त्रको अर्थः
जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस । मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस् । काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु । भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनू । कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु । दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु । क्षमाकी देवीले जस्तै क्षमा दिनु । शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु । धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु । स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु भन्ने हो ।’ यी मन्त्रलाई हेर्नेहो भने मानव सभ्यता विकासका लागि मानिसले खेल्नेपर्ने भूमिका बारे उपदेश दिइएको पाइन्छ ।

दशैंको टीकाको महत्व

दशैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आर्शीर्वाद लिन निधारमा टिका थापिन्छ । यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, पिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको रुपमा बुझ्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको भनाई छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ ।


दशैंमा समुदाय अनुसार टिकाका प्रकारहरू

रातो टिका :

रातो टिका विजयको प्रतिकको रुपमा लगाईन्छ । दशैको दिन अपराजीता नाम गरेकी देविको पुजा गरिन्छ । मन भित्रको सत्रुलाई हराउने आस्थाले तथा सौन्दर्यको भावनाले रातो टिका लगाईन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ । टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ ।

सेतो टिकाः


दशैमा थारू लगायतक केहि जनजातीले भने सेतो टिका लगाउने प्रचलन छ । परापूर्वकालमा रङ्गको उत्पादन नहुँदा पूर्खाहरूल सेतो रङ्गकै टिका लगाएका कारण पनि परम्परागत रुपमै सेतो टिका लगाउँदै आएका थारू संस्कृतिविद्हरुको भनाई छ । पसँगै लहसिए । त्यही रङ्गको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै रहेको मानिन्छ । प्रकृति र आदिमजातिको सम्बन्ध अटुट रहेको विश्वासका साथ सेतो टिका लगाउने परम्परा छ । देवीदेवताको पूजागर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भएको मान्यता छ । सेतो रङ शान्तिको प्रतीक हो । थारु जाति शान्तिकामी जाती भएको र लडाई झगडा र छलछाममा विश्वास नगर्ने भएकाले प्राचीनकालदेखि थारु जातिले आफ्नो देवीदेवतालाई सेता जल अर्थात गाईको दुधले पूजागर्ने गरेको थारु संस्कृतिकर्मीहरुको भनाई पाइन्छ ।

कालो टिकाः

नेवारी समुदायमा केहिले दशैको टिकामा कालो टिका पनि लगाउने गर्दछन । पहेलो र रातो टिका लगाइपनि विशेष महत्व कालो टिकालाई दिने गरेका छन । कालो टिकालाई मोहनी टिका पनि भन्ने गरिन्छ । दशैं हिन्दुहरुले मनाउनु अघिनै नेवार समुदायले मनाउँदै आएको र कालखण्डसँगै सोहि दशैंलाई हिन्दुत्वकरण गर्दै दबावमा प्रतिकुल दशैं मनाउन बाध्य पारिएपछि अपदस्त नेवार राजा र रैतीले सँस्कृतिमा त्यहि बेला देखि विरोधको प्रतिक स्वरुप कालो टिका लगाएरमात्र दशैं मान्न थालेको संस्कृतिविद्हरुको भनाई छ । अन्य समुदायको भन्दा नेवार समुदायको दशैं विशेष प्रकारको रहने गरेको छ ।

दशैंमा दक्षिणा :

दशैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने द्रब्य नै दक्षिणा हो । बिजयादशमीको दिन आ–आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछी दक्षिणा दिने गरिन्छ । सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ । र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।

nepali note


सामाजिक र पारिवारिक सद्भावको दशैं

नेपाल कृषिप्रधान देश हो । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवम् उमङ्गको सीमा हुँदैन । यस खुसीको अवसरमा भगवान वा प्रकृतिको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछन् । दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र बर्मा (म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । तर नेपालमा भने रोपिएका धान, मकै कोदो भित्राइसकेपछि प्रकृतिको पूजा गर्दै सम्पन्नशाली भएको अवशर पारेर सबैले मिठो खाने पर्वका रुपमा पनि दशैं मनाएको मान्न सकिने संस्कृतिविद्हरुको भनाई छ । दशैं सामाजिक र पारिवारिक सद्भाव आदान प्रदान पर्व हो ।

तर यो वर्षको दशै विगतको भन्दा फरक रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण दशै मनाउन विशेष ख्याल गर्नुपर्ने देखिएको छ । सामाजीक दुरी कायम गर्दै खुल्ला स्थानमा दशैको टिका लगाउन विज्ञहरुले बताएका छन । टिका थाप्ने र टिका लगाईदिने दुबै स्वस्थ छौं भन्ने एकिन गरेर टिका लगाउन विज्ञहरुले सुझाएका पनि छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);