काठमाडौं, २८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएकाले कांग्रेसले बताएको छ ।
चीनको तर्फबाट सीमाना मिचिएको खवर बाहिर आएपछि सरकारले हतारोमा टिप्पणी गरेको आरोप पनि कांग्रेसले लगाएको छ । पिलर नजिकै चीनले तारबार गरेको, नेपाली भूमिमा भौतिक संरचना निर्माण गरेको र एउटा पिलर भरखरै निर्माणको गरेको तथ्यहरु सार्वजनिक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
सरकारी अधिकारीहरु अध्ययनका लागि घटनास्थल नपुग्दै सीमा मिचिएको छैन भन्दै अभिव्यक्ति दिने सरकारले सरकारी टोलीको प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।
शर्माले भन्नुभयो, ‘‘सीमा मिचिएकै छैन भनेर सरकारले हतारोमा टिप्पणी ग¥यो । स्थलगत अध्ययन गरी फर्किएको टोलीको पतिवेदनका आधारमा राजनीतिक दल र राज्यले आफ्नो धारणा बनाउनुपर्नेमा त्यसो हुन सकेन । सहायक प्रमुख जिल्ला अधिकारीले सीमा मिचिएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधियो । अहिले टोली फर्किएर आउँदा पनि न प्रतिवेदनका आधारमा सरकारले आफ्नो धारणा समेत सार्वजनकि गरेन ।’’
प्रवक्ता शर्माले पार्टीको तर्फबाट शाहीको नेतृत्वमा असोज १४ गते लिमी लगायतका ठाउँमा स्थलगत अध्ययनका लागि गएकोमा टोलीले सीमा मिचिएको प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो ।
शर्माले भन्नुभयो, ‘‘सरकारले अध्ययनबिना नै चीनले भूमि नमिचेको सार्वजनिक अभिव्यक्ति दियो । त्यसलाई हामीले गम्भिर रुपमा लियौँ । जीवन बहादुर शाहीको नेतृत्वमा १४ गते गएको टोलीले सीमा मिचिएको तथ्यसहित प्रतिवेदन बुझाउनुभएको छ । कुटनीतिक प्रश्नमा आवेगमा आएर भनदा वस्तुगत भएर बोल्नुपर्ने भएपनि सरकारले हतारमा सीमा मिचिएको छैन भन्यो । अहिले प्रतिवेदन आएपनि सरकारले सार्वजनिक गरिरहेको छैन । आफ्नो धारणा समेत सार्वजनिक नगरी मौन बसेको छ ।’’
कांग्रेसले सरकारलाई आफ्नो धारणा छिटो सार्वजनिक गर्न माग गर्दै उच्च स्तरिय वार्ता टोली गठन गरी भूमि फिर्ताका लागि पहल गर्नुपर्ने पनि बताएको छ । ११ दिनसम्म नेपाल—चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भूभागमा पर्ने निष्कर्ष पनि निकालेको छ ।
चीनले ५ (२) नम्बरको पुरानो सीमा स्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाएको, नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।
चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) नम्बर स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको, ५ (१) र ५ (२) सीमा स्तम्भलाई चीनले तारबार गरी राखेको प्रतिवेदनमा उल्लेख छ ।