नेपाली सीमा रक्षा गर्न सरकार अत्यन्तै गम्भीर छ : परराष्ट्र मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाली सीमा रक्षा गर्न सरकार अत्यन्तै गम्भीर छ : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं, २३ चैत । दार्चुलामा महाकाली नदीमा सीमा मिचेर भारतले पर्खाल बनाउन थालेकोमा नेपाल सरकारले कडा आपत्ति जनाएको छ । सो पर्खालको वास्तविकता पत्ता लगाउन सरकारले भारतसँग संयुक्त अध्ययनको प्रस्ताव पनि पठाएको छ ।

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले प्रतिनिधि सभामा बोल्दै सीमा मिचिएको समाचार आएपछि सरकार गम्भीर भएको बताए । गत पुष २२ मा नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा, परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सम्मिलित टोलीले स्थलगत अध्ययन गरेको जानकारी उनले दिएको छ ।

सो टोलीले दुवै देशको समन्वयमा नापजाँच गर्नुपर्ने प्रस्ताव राखेको थियो । त्यसपछि नेपालले भारतसँग पत्राचार गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । अब १२ अप्रिलमा दुवै देशको नापी टोलीले स्थलगत अध्ययन गर्ने र त्यहाँ पर्खाल ठिक ढंगले बनेको छ कि छैन, अन्तराष्ट्रिय सीमा पालना भएको छ कि छैन भन्ने बारेमा अध्ययन गर्ने उहाँले जानकारी दिए ।

नेपालले आफ्नो सीमा तदारुकतासाथ सुरक्षा गर्ने उनले बताए । सीमा मिचिएको विषयमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको र सरकार अत्यन्त सजग रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । सोमबारको प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले १२ अप्रिलमा नेपाल र भारतका नापी टोली मिलेर स्थलगत अध्यन गरे पछि मात्र त्यसको काम अगाडी बढ्ने बताए ।

भारतले बनाउदै गरेको सुरक्षा वालहरु नेपालको सिमालाई मिचेर बनाईएको भन्ने कुरा आए पछि नापी विभागको टोली त्यस तर्फ गएको थियो । बिभिन्न सरोकार वाला सहितको अनुगमन टोली बनाएर छलफल पछि यो निष्कर्ष निकालिएको मन्त्री ज्ञवालीले बताए । नेपाल सरकार अन्तराष्ट्रीय सिमाको सुरक्षा गर्न प्रतिबद्ध रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);