काठमाडौं, ९ असोज । सरकारले नागरिकको स्वास्थ्य उपचार पाउने नैसर्गिक अधिकार एवं संबैधानिक हकलाई सम्मान गर्दै जारी आन्दोलनलाई अबिलम्ब फिर्ता लिन नेपाल चिकित्सक संघलाई आव्हान गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री बिजयकुमार गच्छदारको संयोजकत्वमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आन्दोलनरत चिकित्सकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई सबै किसिमका स्वास्थ्य सेवामा पुर्ववत रुपमा फर्कन आव्हान गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएपछि आन्दोलनरत चिकित्सको समस्या समाधानका लागि छलफल वार्ता अघि बढाउने भन्दै मन्त्रीपरिषद् बैठकले तत्काल विरामीको स्वास्थ्य उपचारमा जुट्न चिकित्सकलाई आव्हान गरेको हो ।
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिने क्रममा अहिले अमेरिकामा छन् । असोज २ गतेको मन्त्रीपरिषद्को बैठकले उपचाररत विरामी चिकित्सकको लापरवाहीका कारण मृत्यु भएमा क्षतिपुर्ति चिकित्सकबाट भराउने गरी स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई भनेको थियो ।
सोही निर्णयको विरोधमा चिकित्सकहरुले आन्दोलनरत छन् । यसैक्रममा सोमबार चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय अगाडि प्रर्दशन गरेका थिए ।