एजेन्सी, ११ असोज । लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजिनामाको घोषणा गर्नुभएको छ । नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारी पुरा गर्न नसकेपछि प्रधानमन्त्री मुस्तफा अदीबले राजिनामाको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
लेबनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक संकटबाट माथि उठाउने चुनौतीबीच नयाँ सरकार गठन गर्न नसकेपछि अदीबले राजिनामाको घोषणा गर्नुभएको हो । लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजारौं व्यक्ति घाइते भएका थिए ।
गत अगष्ट ३१ मा प्रधानमन्त्री चयन भएदेखि नै मुस्तफा अदीबमाथि अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो ।
टेलिभिजन सम्बोधनमा अदिबले सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्दै सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएको भन्दै राजिनामाको घोषणा गर्नु भएको हो ।
दुई दलले अर्थ मन्त्रालयको दाबी नछाडेको कारण लेबनानमा सरकार गठन प्रक्रिया अन्ततः असफल भएको बताइएको छ ।