वडा दशैंको आज पाँचौं दिन, देवी स्कन्दमाताको पूजा आराधना गरी मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

काठमाडौं, ९ असोज । बडा दशैंअन्तर्गत आज नवरात्रको पाँचौ दिन हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन्। भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन्।

सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ। यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन्। आ-आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गर्दैछन्।