कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथि पक्की पुल निर्माणको कार्य अलपत्र पर्दा स्थानीयले आवत जावतमा सास्ती खेप्नु परेको छ । पुल नबन्दा स्थानीयले जोखिम मोलेर नदी तर्ने गरेका छन । खानेपानीमन्त्री विना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिकाको उत्तर–पश्चिम भएर बग्ने दोदा नदीमा पुल निर्माणको काम अलपत्र अवस्थामा छ ।
नदीमा ओहोरदोहोर गर्न स्थानीयले विभिन्न उपाय अपनाउँदै आएका छन् । स्थानीयले नदीमा ओहोरदोहोर गर्न हिउँदमा काठे पुल निर्माण गर्ने गरेका छन भने वर्षातमा ट्युबको प्रयोग गर्नेगरेका छन् । सरकारले दोदा नदीमा पुल निर्माण नर्गदा लालझाडीबासी लामो समयदेखि समस्या भोग्दै आएका हुन् ।
दोदा नदीमा पुल नुहँदा लालझाडी गाउँपालिकामा प्रवेश गर्न पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । ट्युबमार्फत दोदा नदीमा ओहोरदोहोर गर्न २० रुपैयाँदेखि २ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । ट्युबबाट नदीमा वारपार गर्न मोटरसाइकलको २ सय रुपैयाँ र साइकलको २० देखि ३० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । नदीमा ओहोरदोहोर गर्न बाह्रै महिना रुपैयाँ तिर्नु परेको स्थानीयहरुले दुखेसो पोखेका छन ।
लालझाडीको देखतभुली र जाइँ जोड्ने दोदा नदीमा पुल निर्माणाधीन अवस्थामा छ । पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि पुल निर्माण अलपत्र परेको छ । देखतभुली–पर्सिया जोड्ने १ सय ७० मिटर लामो पक्की पुल २०७५ पुष २६ गतेभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर, फुटपाथ सहित २ लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीले प्राविधिक समस्या आएको भन्दै निर्माण ठप्प पारेको हो ।
पुलको डिजाइनमा समस्या आएकाले पुल निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । २०७२ पुष २६ देखि सुरु भएको पुलको निर्माण कार्य डेढ वर्षदेखि ठप्प छ । सडक विभागले पुल निर्माणकोलागि नयाँ डिजाइन सहित अनुमति दिएपछि मात्र काम सुरु हुने बताईएको छ ।




