बारा ,२६ भदौ। बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले बिहीबार कोल्हवीबाट पक्राउ गरेको छ । हत्या भएको १३ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।
पत्रकार साहको २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए । जिल्लाको साविक तेलकुवाँ गाविस वडा नं.४ हाल महागढीमाई नगरपालिका वडा नं.२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए ।
हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य र सोही पार्टी अन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रहरी उपरीक्षक पंङ्गेनीले बताउनु भयो ।
सात महिना अघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार छन् । सात महिनाको फरकमा पटेल र फौजदार पक्राउ परेका हुन् ।