पलायन हुँदै रेस्टुरेन्ट र पार्टी प्यालेस व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पलायन हुँदै रेस्टुरेन्ट र पार्टी प्यालेस व्यवसायी

काठमाडौं, २१ भदौ । कोभिड-१९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । जावलाखेल स्थित बगैचा रेस्टुरेन्ट, बार एण्ड ब्याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ ।

रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा, टर्कि, कडकनाथ, कालिज लगायत पाल्न थालिएको बताउनुभयो । बैंकको ऋण तिर्न, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने देखेपछि लोकल कुखुरा लगायतका चराहरु पाल्न थालिएको पनि उहाँले बताउनुभयो ।

करिब ५ करोड रुपैयाँ लगानीमा सञ्चालित बगैचाले रेस्टुरेन्ट सेवा, पार्टीप्यालेस लगायतको सेवा उपलब्ध गराउँदै आएको थियो । २५ जनाले रोजगारी पाउँदै आएको रेस्टुरेन्टमा अहिले २ जना मात्रै कार्यरत छन । रेस्टुरेन्टमा पालिएको कुखुरा, टर्कि, कालिज लगायतको खपत सहज स्थिति भएपछि आफ्नै रेस्टुरेन्टमा गर्ने योजना रहेको पनि दाहालले बताउनुभयो ।

रेस्टुरेन्ट व्यवसाय जस्तै देशभर सञ्चालित अधिकांश पार्टी प्यालेस व्यवसायीहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् । पार्टी प्यालेस व्यवसायीहरुको छाता संगठन ‘नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ’ले लकडाउन सुरु हुनुभन्दा पहिले २०७६ चैत ७ गते देखि नै देशभरका व्यवसाय बन्द गर्न व्यसायीहरुलाई परिपत्र गरेको थियो । चैत ११ गते देखि लकडाउन भयो र साउन महिनामा लकडाउन खुकुलो बनाइएपनि पार्टी प्यालेसहरु खुल्न सकेनन् ।

वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय पनि हो । तर ती महिनामा पार्टीप्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुले बताएका छन् । पार्टीप्यालेस व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले वार्षिक ३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको क्षेत्रको यो व्यवसायमा अर्बौ रुपैयाँ नोक्सानी भइसकेको बताउनुभयो ।

उपत्यका लगायत अधिकांश जिल्लामा दोस्रोपटक निषेधाज्ञा जारी भएपछि सम्पूर्ण व्यवसायीको मनोबल खस्किएको पनि उहाँले बताउनुभयो । अबको तीन चार महिना यसैगरी बन्द भएमा उपत्यकामा मात्रै २ सय भन्दा बढी व्यवसायीहरु विस्थापित हुने पाण्डेले बताउनुभयो ।

महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् । जसमध्ये १५ प्रतिशत स्थायी रुपमा कार्यरत छन् । लकडाउन भएयता तीन महिना सम्म सबै कर्मचारीलाई पुरै तलब दिएकोमा त्यसपछि भने अधिकांश व्यवसायीले आधा तलब पनि मुस्किलले दिन सकेको प्रवक्ता पाण्डेले बताउनुभयो । उहाँले व्यवसाय गर्न सक्ने स्थिति नरहेपछि अव व्यवसायलाई केमा परिणत गर्न सकिन्छ भन्ने चिन्तामा व्यवसायीहरु पुगेको बताउनुभयो ।

७० प्रतिशत व्यवसाय बैंकको ऋणबाट सञ्चालित रहेकोमा सरकारले किस्ता र ब्याज रकम व्यवसाय पुनः सञ्चालनमा आएपछि मात्रै तिर्ने व्यवस्था मिलाउन समेत महासंघले अपिल गरेको बताउनुभयो । अहिलेको स्थितिमा व्यवसाय सञ्चालन गर्दापनि र नगर्दा पनि व्यवसायीहरु जोखिममा रहेको पाण्डेले बताउनुभयो ।

कोभिडकै बिचमा पनि व्यवसाय सञ्चालन गर्नका लागि सरकारले मापदण्ड तयार गरिदिनुपर्नेमा पाण्डेले जोड दिनुभयो । महासंघमा अवद्ध रहेका ४५ जिल्लाका ७ हजार भन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सहित सबै जिल्लाका व्यवसायीहरु कसरी भाडा तिर्ने र कर्मचारीको व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहेको बताउनुभयो । सरकारले अन्य व्यवसायलाई जस्तै सञ्चालन गर्न दिएर प्रोत्साहन गर्ने नीति लिनुपर्ने उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);