तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन पार्टी प्यालेस व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन पार्टी प्यालेस व्यवसायीको माग

काठमाडौं, १८ असोज । पार्टी प्यालेस व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका छन् । देशभर रहेका ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजार भन्दा बढीको रोजगारी गुमेको र लाखौंको संख्यामा जनजीवन प्रभावित भएको भन्दै व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका हुन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले राज्यले तत्काल निर्वाध रुपमा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गर्नुभयो । अध्यक्ष जिसिले होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न दिने तर पार्टी प्यालेस व्यवसाय सञ्चालन गर्न नदिने कुरा नमिल्दो भएको बताउनुभयो ।

भौतिक दुरी कायम गर्दै सरकारले तोकेको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न माग गर्दा समेत व्यवसाय बन्द गरिनुको कारण सरकारले स्पस्ट पार्नुपर्ने बताउनुभयो । उहाँले पार्टी प्यालेस खोल्दा संक्रमण फैलिन्छ भन्ने भ्रममा सरकार रहेको बताउनुभयो । ठूला होटल तथा रेष्टुरेन्टका पार्टीहलहरु सञ्चालन हुँदा कोरोना नसर्ने तर पार्टी प्यालेसका हल सञ्चालन गर्दा कोरोना सर्ने कुरा आफुहरुले नमान्ने पनि अध्यक्ष जिसिले बताउनुभयो ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले करिब ७ महिना यता पार्टी प्यालेस बन्द हुँदा व्यवसायबाट नै पलायन हुने स्थितिमा आफुहरु पुगेको बताउनुभयो । अहिले देशभर २ सय भन्दा बढी व्यवसायीहरु पलायन भइसकेको बताउँदै अझबढी क्षति हुने देखिएको बताउनुभयो । ५० हजार भन्दा बढीको रोजगारी गुम्ने मात्र नभएर सरकारले वार्षिक २ अर्ब भन्दा बढी राजश्व समेत गुमाएको उहाँको भनाई छ ।

त्यस्तै पछिल्लो समय आफुहरुसँग कर्मचारीका लागि तलब खुवाउन समेत पूँजीको अभाव भएको उहाँले बताउनुभयो । त्यसबाहेक पार्टी प्यालेस व्यवसाय सञ्चालन नहुँदा कृषि उत्पादनको खपत घटेको र बजारमा मँहगि बढेको उहाँले दावी गर्नुभयो । प्रवक्ता पाण्डेका अनुसार कुल कृषि उत्पादनको २५ प्रतिशत पार्टी प्यालेस व्यवसायमा खपत हुँदै आएको छ ।

यसबाट अप्रत्यक्ष रुपमा लाखौंको रोजगारी प्रभावित भएको उहाँले बताउनुभयो । बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरु सबैभन्दा बढी समस्यामा परेको पनि उहाँले बताउनुभयो । अन्य उद्योग व्यवसाय सरह यो व्यवसायलाई लिन पनि प्रवक्ता पाण्डेले सरकारसँग आग्रह गर्नुभयो । संकटको बेला पार्टी प्यालेस व्यवसायीहरुले सरकारबाट कुनैपनि राहत पाउन नसकेको गुनासो उहाँको छ ।

व्यवसायीहरुले आफुहरु कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले तोकेको मापदण्डसहित उच्च सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न सक्षम रहेको पनि बताएका छन् । सरकारले आर्थिक कारोबारलाई चलायमान गराउन र व्यवसायबाट पलायन हुने स्थिति आउन नदिन पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुले बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);