काठमाडौं, १२ भदौ । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।
कोरोना संक्रमण बढेका कारण बैठक स्थगित भएको जनाइएको छ । सचिवालय सदस्यसमेत रहनु भएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित एक बैठकका सहभागीलाई कोरोना संक्रमण देखिएकाले सचिवालय बैठक स्थगित गर्नुपरेको बताइएको छ ।
पोखरेल र थापा एक साता आइसोलेसनमा बस्नुहुने जनाइएको छ । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइसोलेसनमा बस्नु भएको थियो ।
आगामी बैठकमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलले पार्टीको आन्तरिक बिवाद समाधानका लागि १५ बुँदे सुझाव दिएको छ ।कार्यदलले दिएको सुझाव सचिवालय बैठकमा छलफल भएपछि कार्यान्वयनमा लैजाने बताइएको छ ।