नुवाकोट, २३ साउन । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै आजदेखि आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ ।
यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको छ । अर्को निर्णय नहुँदासम्म सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गर्ने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न रोक लगाइएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने, जिल्ला प्रवेश गर्ने नाकालाई थप व्यवस्थित बनाउने तथा ककनी र शिवपुरी गाउँपालिकास्थित सबै नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी आवतजावतमा कडाइ गर्ने र अतिआवश्यक कामबाहेकलाई मात्र पूर्वअनुमति लिएर आएकालाई मात्र प्रवेश गर्न दिने केन्द्रले जनाएको छ ।