लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्रमा नेपालीहरुको आवत–जावत स्वाभाविक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्रमा नेपालीहरुको आवत–जावत स्वाभाविक

दार्चुला,१४ साउन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेकोले उक्त क्षेत्रमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको बताएको छ ।

जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले उक्त कुरा बताएको हो । पत्र मार्फत नेपालले लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट भएको भन्दै त्यहाँ नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको प्रतिक्रिया दिएको हो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर रहेको पत्रमा नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, तथा त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार उक्त भूमि नेपालको रहेको उल्लेख छ ।

पत्रमा ती नेपाली भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको बताइएको छ ।

गत जुलाई १४ मा धारचुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र भन्दै त्यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई आग्रह गरेका थिए ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);