महोत्तरी, १३ साउन । लगाातार वर्षाका कारण सडकको दुरावस्था र पानीको उचित निकास नभएकाले वर्षौँदेखि महोत्तरीका गाउँबस्तीका सडक हिलाम्य छन् । महोत्तरीको एकडारा गाउँपालिका, सम्सी गाँउपालिका, महोत्तरी गाँउपालिका, पिपरा गाँउपालिका, जलेश्वर नगरपालिका र मनरा सिस्वा नगरपालिका लगायतका मुख्य सडक सहित गाँउबस्ती भित्रको बाटो हिलाम्य छन् ।
जनप्रतिनिधि तथा नेताहरुलाई पटक– पटक गुहारेपनि सडकको अवस्थामा सुधार हुन सकेको छैन । गाँउबस्तीका सडक बाटो हिलाम्य हुँदा सदरमुकाम पुग्ने त परै जाओस घरबाट निस्कन समेत गाह्रो छ ।
विकासको लागि महोत्तरीका विभिन्न पालिकामा पटकपटक स्थानीयले विरोध गर्दै ध्यानाकर्षण गर्दै आएका छन् । पालिका र वडाकार्यालयहरुको मुलगेटमै तालाबन्दी गरी विरोध जनाई सकेका छन् । तर, त्यसको उचित सुनुवाई भने भएको देखिएको छैन । सुुनुवाइ नहुँदा गाउँ घर आंगनका सडक कुरुप बन्दै गएका छन् ।
महिनौँसम्म घर अघि पानी जम्दा र बाटो हिलाम्य हुँदा त्यसबाट निस्किने दुर्गन्धले मानिसको स्वास्थ्यमा समेत समस्या आउने गरेको छ । खाल्डाखुल्डीको पानीकै कारण लामखुट्टेजन्य रोग र अन्य किराको प्रकोप समेत बढेको छ ।
देश संघीयतामा गएपछि स्थानीय तहबाट विकास पूर्वाधारमा केही सुधार होला भन्ने अपेक्षा गरेका स्थानीय विकासको दुर्दशाले दिक्दार छन्। वर्षाैदेखि चल्दै आएका यस्ता असारे विकासको प्रवृत्तिले महोत्तरीका ग्रामीण बस्तीमा पनि वाक्क दिक्क बनाएको छ । सडकमा भइरहेको अस्तव्यस्तको कसैले अन्ुगमन गर्दैन । तर, स्थानीय सरकारले कोरोनाको बाहना गर्दै आएको छ ।
सिंहदरबारको अधिकार र विकास गाँउ नगरमा भन्ने आशासहित मुलुकमा संघीयता लागु गरियो , संघीय शासनपछि सबैभन्दा बढी खुशी तिनै स्थानीय भए ।तर, स्थानीय तहको तीन वर्षे कार्य प्रगति हेर्दा सबैतिर निराशा छाउदै गएको छ ।नागरिकको घरदैलोको सरकारले विकास निर्माणमा गरेका चरम बदमासीले नागरिकमा निराशा छाएको हो ।