पार्टीहरुमा हावी हुँदै गएको गुट मण्डली (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पार्टीहरुमा हावी हुँदै गएको गुट मण्डली (भिडियोसहित)

gut rajniti

काठमाडौं, १० साउन । नेपालमा कति पार्टीहरु छन ? भनेर प्रश्न गरियो भने तीन, चार वा पाँच भन्ने जवाफ आउन सक्छ । तर वास्तविकता भने यस्तो छैन । हरेक पार्टी भित्रका नेता र त्यो नेतृत्वकै कारण जम्मा हुने आसेपासे सहितको समूहलाई हेर्ने हो भने, एउटै पार्टी भित्र झण्डै दर्जनभन्दा बढी साना पार्टीहरु क्रियासिल रहेको स्पष्ट देख्न सकिन्छ । देखिएका मूल पार्टी त यी साना पार्टीहरुको संघ जस्तो मात्र हुने गरेको छ । आज कुनै पनि पार्टी भित्र सिद्धान्त र कार्यक्रमको आधारमा बहस होइन, नेता र नेताको गुटको आधारमा सम्झौता र तालमेल गर्दै सत्ताको दावेदारीसम्मको अन्तर कथाहरुको रचना हुने गरेको छ ।

केही वर्ष अघिसम्म गुटसंग आफ्ना नाम जोडिएला भनेर डराउँदै भूमिगत शैलीमा गुटको पृष्ठपोषण गर्न बाध्य, यही अहिलेका नेतागणहरु अब भूमिगत शैलीमा होइन, खुलमखुल्ला नै आआफ्ना गुटको पक्ष पोषणमा सक्रिय देखिन्छन् । गुटकै आधारमा पार्टी नेतृत्व चयन हुने, सांसदको कोटा निर्धाण हुनेदेखि लिएर मन्त्रीमा सहभागिता समेत गुटकै आधारमा हुने गरेबाट गुटको राजनीति कति मौलाई रहेको छ, कसैले भन्नै परेन । राज्यका सम्पूर्ण निकायहरु समेत गुट र भागबण्डाले नै प्रभावित गरेबाट देशको नेतृत्वलाई आफ्नो मन्त्रीमण्डल, राज्यका महत्वपूर्ण निकायहरु र पार्टी पंक्तिमा समेत काम र योग्यताको आधारमा मूल्यांकन गर्नसक्ने वातावरण छैन ।

प्रधानमन्त्रीले चलाउनु पर्ने मन्त्रिमण्डल समेत पार्टी गुटकै कारण प्रभावित हुन जान्छ भने, त्यो देशको प्रगति कसरी होला ? आज यही नियति नेपालले भोगिरहेको छ । गुटकै कारण राम्रा मान्छे पाखामा छन, हाम्रा मान्छे सत्तामा छन् । जतिसुकै अलोकप्रिय रहेपनि बलियो गुटमा भएकै कारण त्यो व्यक्तिलाई हल्लाउन प्रधानमन्त्री समेत सक्दैनन् । शक्तशाली भनेको प्रधानमन्त्रीको अवस्था गुटैगुटले गर्दा कति निरीह बनाउँदो रहेछ, त्यो नेपाललाई नजिकबाट हेर्ने राजनीतिक विश्लेषकहरुबाट लुकेको छैन ।

कार्यकर्ता पंक्तिलाई पनि यसले धरै सजिलो बनाइ दिएको छ । किनभने, माथिल्लो पद पाउनको लागि योग्यता र क्षमता होइन, ठूलो गुटमा लागि दिए पुग्छ, ठूलो स्वरले नेताको जिन्दावाद भनिदिए पुग्छ, बाँकी सबै उनैले सम्हाल्छन् । गुटको नेताले नै परि आएको बेला दसखत माफी गरिदिन्छन । आज यीनै शैलीबाट देशको विकास अघि बढिरहेको छ । पिच गर्न असार लाग्नुपर्छ । ढल हाल्न पनि असार नै चाहिन्छ । खानेपानीको ढल, बिजुलीका काम प्रायः सबै विकासका गतिविधि असार महिनाको झमझम वर्षात समेत नभनी निर्वाध रुपमा अघि बढ्ने गरेको छ ।

श्रावण लागेसंगै विकासको प्रतिफलको रुपमा तुरुन्तै प्राप्त हुने विकासे लाभले सम्पूर्ण गुटको नै भलो हुने गर्दछ । भलै देश बाढीमा डुबोस, पहिरोले बगाओस वा यस्तै कुनै पनि अनिष्ट आओस । राज्यको स्रोत र साधनको संवाहक बन्दै काम गर्ने अवसर यस्तै प्रकारको गुटले प्राप्त गर्दछ । परिणाम नेपाली जनताको अगाडि छर्लङ्ग छ । गुटैगुटको भूस्वर्ग नेपाल हुँदै गएकोमा नेपाली जनता भने अत्यन्त निरास र चिन्तित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);