भारतीयद्वारा श्रृंखलावद्ध सीमा अतिक्रमण, नेपाल सरकार मौन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८१, शनिबार

भारतीयद्वारा श्रृंखलावद्ध सीमा अतिक्रमण, नेपाल सरकार मौन (भिडियोसहित)

sima-oli-ssb

काठमाडौं, ९ साउन । नेपाल भारतबीचको खुला सीमाना नेपालको लागि निरन्तर चुनौती बन्दै गएको छ । हुँदाहुँदा अब सीमा मिचिएका र पिलर फ्याँकिएका घटनाहरुले नेपाली संचार माध्यमहरुमा समेत स्थान नपाउने सामान्य घटनाको रुपमा हेर्न थालिएको छ । प्रत्येक दिन कहीं न कहीं सीमा विवाद हुन्छ, सीमानाका पिलर फ्यांकिन्छन, नेपाल पक्ष मुकदर्शक बन्छ, निहत्था जनता सडकमा ओर्लिन्छन, यथार्थ बुझ्न खोज्दा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी बोल्न मिल्दैन भन्छन् । प्रमुख जिल्ला अधिकारी भन्दा माथि रहेका सम्बन्धित अधिकारीहरु मुख लुकाउँदै पन्छिन्छन् । मानौं, सार्वभोैकितामाथि निरन्तर आक्रमण हुँदा पनि, यो कसैको पनि प्रतिकारको विषय बन्न सकेको छैन ।

सीमा मिचाइको पछिल्लो घटना कञ्चनपुर जिल्लामा घटेको छ । २०५५ सालमा नेपालीहरुले आफैंले तारबार लगाइ संरक्षण गरिएको सामुदायिक वनमा तारवार मर्मत गर्न खोज्दा उनीहरुलाई थाहै भएन, त्यो त भारतको भइसकेको रहेछ । भारतीय सशस्त्र सुरक्षा बल, एसएसबी हतियारसहित उक्त क्षेत्रको गस्तीमा खटिइसकेका रहेछन् । सबै माहौल देख्दा अत्याधुनिक हतियारद्वारा सुसज्जित विदेशी सुरक्षाकर्मीको अगाडि हातमा लौरो लिएका नेपाली सुरक्षाकर्मी देखेर निरीह हुँदै पीडितजनहरु मुकदर्शक बन्न विवश भए ।

यत्रो ठूलो घटना हुँदा न यसले स्थानीय स्तरमा महत्व पायो, न राष्ट्रिय स्तरमा नै । राम जन्मभूमि अयोध्या प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई भूईंमा खस्न नपाउँदै व्यङग गरी ट्वीट गर्न पुग्ने पूर्व प्रधानमन्त्री डा.बाबुराम भटृराई र अन्य ट्वीटेदेखि लिएर सामाजिक संजालमा आफूलाई राष्ट्रवादी हुँ भनी दावी गरेर नअघाउने नागरिक समाजका अगुवा समेतको कलमको मसी एकाएक सुक्न गयो । आफ्नै प्रधानमन्त्रीको भनाईलाई खण्डन गर्न आतुर देखिने परराष्ट्र मन्त्रालय त झनै बेखबर देखियो ।

यस्तो लज्जा र हिनताबोधको अवस्था नेपालीहरुको लागि भने सहनै नसक्ने एउटा परिदृष्य बन्दै गएको छ । आजको युगमा पनि मध्ययुगिन संस्कारबाट ग्रस्त छिमेकी देश भारतको योजना अनुसार निरन्तर अतिक्रमणमा पर्दै गएको नेपाली भूभाग, यही प्रक्रिया रहेमा अबको केही समयमा नै सीमावर्ती क्षेत्रका गाउँ मात्र होइन, सहर नै भारतीय कब्जामा पर्दै जाने अवस्था समेत नआउला भन्न सकिंदैन । नेपाल सरकारको पूरै उदासिनताका कारण सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति प्रायः नगण्य छ ।

एकातर्फ सलह झैं देखएका सशस्त्र हतियारसहितका भारतीय सुरक्षाकर्मीको घना उपस्थिति, अर्काेतर्फ हातमा लौरो लिएका सामान्य निरीह प्रहरीहरुको उपस्थिति, त्यो पनि नगण्य रुपमा । नेपालसँग रहेको सुरक्षाकर्मीहरु नेताहरुको जुत्ता, झोला र छाता समाउनमै व्यस्त गराउनु परेकोले, अनि डिजेल पेट्रोलदेखि लिएर सरकारले मगाउन नसकेको विदेशी सामानहरु मगाइ दिने काम गर्नु परेकोले पनि होला, वास्तवमै अत्यन्त व्यस्त बनाइएको छ ।

जनताबाट असुरक्षित अनुभव गर्ने नेताहरुलाई ठूलै दलबलका साथ सुरक्षा दिनुपर्ने जिम्मेवारी पनि यी सुरक्षाकर्मीकै काँधमा हालिएकोले गर्दा सरकार यी सुरक्षाकर्मीहरुको व्यवस्थापन सीमा क्षेत्रमा बढाउन सकिरहेको छैन । सरकार देशको भूभाग गुमेकोमा तत्काल संवेदनशीलता किन प्रदर्शन गर्दैन ? के सरकार विकल्परहित एवं निरीह भएकै हो ?

यदि सरकारसंग केही मजबुरीहरु छ भने, जनताको नाममा सम्बोधन गरी जनतालाई आफ्नो मजबुरी बताउन सक्नु पर्यो । जनतालाई आव्हान गर्न सक्नु पर्यो । भारतीयसँग डराएर होइन, अन्तर्राष्टिय मूल्य र मान्यताको आधारमा आफ्नो देशको सुरक्षा गर्नेतर्फ तत्काल उन्मुख हुनुपर्यो । तत्काल सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा परिचालन गर्नुपर्यो । नेपाल भारत दुई सार्वभौम देश भएकाले पनि यसको सीमा अन्तर्राष्टिय मान्यता अनुसार तत्काल बन्द हुनुपर्यो । एक दुई वर्ष देश भित्र गरिने विकास खर्च कटाएर पनि सीमामा पर्खाल एवं तारबार यथाशीघ्र लगाइनु पर्यो ।

नत्र सीमा क्षेत्रमा राखिएको पिलर भारतीयले रातभर ओखल्ने छन् । भोलिपल्ट नेपाली नागरिकको नागरिकता भारतमय भइसक्नेछ । राष्ट्रियताको सवालमा सानो पनि कोही कसैबाट हुने हेलचेक्र्याइ, नालापानीको युद्धको विरासत सम्झिने नेपालीहरुको लागि सैह्य र मान्य हुने छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);