काठमाडौं, ४ साउन । राष्ट्रिय अभिलेखालयका पूर्वप्रमुख भीमप्रसाद नेपालले इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयमा नभएको बताउँनु भएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा भएको छलफलमा उहाँले एउटा प्रमाणको रुपमा ग्रहण गर्न सक्ने कुनै रेकर्ड अभिलेखालयमा नभएको बताउँनुभयो।
उहाँका अनुसार ‘रेकर्ड म्यानेजमेन्टमैत्री प्रशासन’ नभएका कारण यस्तो समस्या देखिएको हाे।
‘ठूलो मात्रामा सरकारी कार्यालयबाट रेकर्ड भएको भनेको मेरो कार्यकालमा हो, परराष्ट्र मन्त्रालयको सम्पूर्ण डकुमेन्ट राख्ने काम पनि भयो र त्यो पनि उनीहरू बसेको भवन राष्ट्रपति कार्यालयका लागि खाली गर्नु परेकाले दिएको हुनुपर्छ’, पूर्वप्रमुख नेपालले भन्नुभयो, ‘एउटा प्रमाणको रुपमा ग्रहण गर्न सक्ने, एउटा रेकर्ड म्यानेजमेन्टको रुपमा प्रयोग गर्न सक्ने र इतिहासमा प्रभाव पार्न सक्ने खालको गरी रेकर्ड नै भएको छैन।’
राष्ट्रिय अभिलेखालय वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा स्थापित भएकाले विगतमा परराष्ट्रसँग सम्बन्धित सन्धि सम्झौताका कागजपत्रहरू त्यहीँ राख्ने गरिएको र सरकारलाई आवश्यक परेको बेला प्रयोग हुने गरेको उहाँले बताउँनुभयो ।
‘राष्ट्रिय अभिलेखालय वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा विकास भएको हो, परराष्ट्रसँग सम्बन्धित, सन्धि सम्झौतासँग सम्बन्धित कागजातहरू परराष्ट्र मन्त्रालयको च्यानलबाट अर्कै तरिकाले गइरहेका हुन्थे र अभिलेखालयमा वीर पुस्तकालयको संकलनमा रहेका पुराना हस्तकला, हस्तलिखित दन्त्यहरू र शिलालेखका प्रतिलिपिलाई व्यवस्थित गर्ने प्रयोजनका लागि स्थापना भएको हो’, नेपालले भन्नुभयो, ‘२०२४ सालमा भारत सरकारले भवन बनाएको थियो, २०४६ मा अभिलेख संरक्षण ऐन २०४६ आएपछि पनि ३० वर्ष पुरातत्व विभागअन्तर्गत हुँदा कुनै विकास हुन सकेन।’
अभिलेखालय रेकर्ड सिर्जना गर्ने नभएर आएका रेकर्डहरू व्यवस्थापन गरेर राख्ने कार्यालय भएको नेपालकाे दाबी छ। अझै पनि रेकर्ड राख्नै पर्ने बाध्यकारी नियम नभएका कारण कतिपय कार्यालयहरूले रेकर्ड व्यवस्थापनका लागि काम नै नगर्ने गरेको बताउनुभयाे।




