राजेन्द्र सिंह
वीरगञ्ज, ४ साउन । ठोरीको विषय यतिबेला निकै चर्चामा छ । प्रधानमन्त्री ओलीबाट राम नेपालको ठोरीमै जन्मिएको भन्ने अभिव्यक्तिपछि ठोरी चर्चामा आएको हो ।
नेपाल–भारतबीच सीमा विवादले सम्बन्ध चिसिँदै गएको बेला ठोरीको प्रसङ्गले थप चिसिएको छ । सांस्कृतिक विषयसँग जोडिएको ठोरी नेपाली राष्ट्रियताको प्रसङ्गले मुलुक तातिरहेको बेला ठोरीको चर्चाले सबैको ध्यान तानेको छ ।
सुमेरू पर्वत, ‘सीता गुफा, वाल्मीकि आश्रम, अयोध्यापुरी पर्सा अनि ठोरीबासीका लागि नयाँ होइनन् । तर, यतिबेला ठोरी विषयले नेपाल भारतका शीर्षस्थ नेतृत्वमा बहसको विषय बनेको छ ।
बहसको विषय मात्रै होइन, त्रेता युगका पुरुषोत्तम रामको जन्मस्थल कहाँ हो ? त्यो अर्काे पाटो हो । तर, ठोरी सांस्कृतिक तथा धार्मिक महत्व भएको स्थान पक्कै हो ।
सुक्खा बन्दरगाह वीरगन्जदेखि झण्डै ६५ किलोमिटर पश्चिममा ठोरी पर्दछ । यस ठाँउमा त्रेता युगमा सीताले वनवास जाँदा बसेको एक स्थान छ । जस्लाई ‘सीता गुफा’ नामले चिनिन्छ। ठोरी सांस्कृतिक धार्मिक हिसाबले पुरानो भएको स्थानीय सरकारको दाबी छ ।
‘सीता गुफा यहाँ वस्ती बस्नु भन्दा अगाडिदेखि नै थियो र वर्षौंदेखि गुफामा पूजापाठ हुँदै आएको छ’, ठोरी गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले भन्नुभयो, ‘त्यसले गर्दा सीता गुफा पत्ता लाग्यो होइन कि, पहिलेदेखि यहाँ थियो भनेर बुझ्नुहोस्।’
२०३२ मा यता माडी ठोरी अलग भएपछि चितवनमा अयोध्यापुरी गाविस थियो । हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । माडीबाट नेपाल–भारत सीमा छेउसम्म फैलिएको सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काखमा सीता गुफा छ । यसको सामुन्नेमा चिता र ठुटे खोला मिलेको छ ।
‘ठोरीमा पहिले घनाघोर जङ्गल थियो, बस्ती थिएन र यहाँ आसपासमा मठ मन्दिरहरू छन्’, ठोरीका स्थानीय रामचरण लामिछानेले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले कुनै इतिहास नपढी भगवान रामको जन्म ठोरीमा भएको भन्नु भएको होइन जस्तो लाग्छ। उहाँले वास्तविक बोल्नुभयो।’
त्रेता युगका राजा जनककी पुत्री जानकी (सीता) वनवास जाँदा बसेको सीता गुफा भनी अग्रजहरू सीता र रामको महिमा सुनाउँछन्। वाल्मीकि आश्रम पनि नजिकै छ । अनि, अयोध्यापुरी त छिमेकमा गाविस नै थियो ।
यो सबै कुरा एक-आपसमा मेल खाने भएकोले यसमा सत्यता रहेको ठोरीबासीको भनाई छ । रामले अस्मोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर रहेको स्थानीय बताउँछन् ।
‘त्रेता युगमा राम ठोरीमा जन्मेको हो भन्ने प्रशस्त्र आधार ठोरीवासीसँग छ’, अर्का स्थानीय चिरञ्जीवी सापकोटोले भन्नुभयो, ‘रामले अस्मोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर छ।’
रामायणमा उल्लेख भएका कतिपय ठाउँसँग प्रायः मेल खाने धेरै कुरा ठोरी गाउँपालिकामा रहेका सांस्कृतिक र धार्मिक तथ्यहरुले पुष्टि गरेका छन् । यद्यपि, ठोरीमा रामको जन्म भएको हो होइन, भन्ने यसको ऐतिहासिक पुष्टि हुन बाँकी छ ।
तैपनि, प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको महत्व राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको पक्कै हो । थप पुष्टिका लागि अध्ययन र अनुसन्धान गर्ने काम राज्यको हो । त्यसपछिको अध्ययनले यसको वास्तविकता अवश्य बाहिर ल्याउने नै छ ।