कञ्चनपुर, २ साउन । भारतको गौरीफण्टा क्षेत्रबाट कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास हुँदै सहलको झुण्ड कञ्चनपुर भित्रिएको छ ।बिहीबार साँझ पुनर्वास नगरपालिका–१० मा देखिएको सलहको झुण्ड शुक्रबार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका हुँदै भीमदत्त नगरपालिकामा प्रवेश गरेको हो ।
दक्षिणी क्षेत्रबाट प्रवेश गरेको झुण्ड कञ्चनपुरको सदरमुुकाम महेन्द्रनगर पुगेको छ । कृषि ज्ञान केन्द्रले पुनर्वासमा देखिएको सलहको झुण्ड कञ्चनपुरका विभिन्न स्थानीय तह हुँदै भीमदत्त नगरपालिकाका पुगेको जनाएको छ ।
ज्ञान केन्द्र प्रमुख रामचन्द्र भट्टले सलहको झुण्डलाई पिछा गरिरहेको, ज्ञान केन्द्रका प्राविधिकहरूले केही ठाउँमा विषादी छरिरहेको र आफूहरूले पनि किसानसँगै सलह भगाइरहेको बताउनुभएको छ ।
सलहको झुण्ड भीमदत्त नगरपालिका–१७ हुँदै महाकाली नगरपालिकातर्फ प्रवेश गरेको छ । सलहले केही स्थानमा रुखका पात खाएको छ भने अन्न बालीमा क्षति गरेको छैन ।
किसानहरूले सलह आकाशमै छँदा थाल ठटाउँदै धुवाँले धपाउन सफल भएका छन्। सलह नियन्त्रणका लागि स्थानीय तहका कृषि शाखाका प्राविधिकहरूलाई तयारी अवस्थामा बस्न आग्रह गरेको समेत कृषि ज्ञान केन्द्रले जनाएको छ ।