सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ताको खोजीकार्य जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ताको खोजीकार्य जारी

badhipahiro

चौतारा, ३१ असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशंका हुन थालेको छ ।

चार दिनदेखि मंगलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ । उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मंगलबार फर्किसकेको छ ।

बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो। बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ । खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ ।

डिभिजन सडक कार्यालय दोलखाले सुनकोशी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन । सरकारी समाचार संस्था राससका अनुसार बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव नभएको हो ।

त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजनल इञ्जीनियर विजयकुमार महतोले बताउनुभयो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);