काठमाडौं ।
बहराइनमा निस्तेज पारिएका इरानी ड्रोनका भग्नावशेषहरू खस्दा ११ वर्षीया एक बालिका सामान्य घाइते भएकी छिन् भने केही घरहरूमा क्षति पुगेको बहराइनको आन्तरिक मन्त्रालयले बिहीवार जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार घाइते बालिकाको घटनास्थलमै आवश्यक प्राथमिक उपचार गरिएको थियो । आकाशबाट खसेका ड्रोनका भग्नावशेषका कारण हमद टाउन र राजधानी मनामाका केही घरहरूमा क्षति पुग्नुका साथै कैयौँ सवारी साधनहरूमा आगो लागेको थियो । नागरिक रक्षा टोली र राष्ट्रिय एम्बुलेन्स सेवाले प्रभावित क्षेत्रहरूमा तत्काल पुगेर आवश्यक उद्धार कार्य गरेका थिए । बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न र धनजनको रक्षा गर्न पूर्वस्वीकृत विपद् व्यवस्थापन योजनाअनुरूप सो घटनालाई सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ । यो घोषणा हुनुअघि बिहीवार बिहानै त्यहाँका नागरिक तथा बासिन्दाहरूले आफ्नो स्मार्टफोनमा अधिकारीहरूले नयाँ इरानी आक्रमणहरूको सामना गरिरहेको चेतावनीसहितका दुईवटा सन्देश प्राप्त गरेका थिए । यसैबीच, इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले अमेरिकी हवाई हमलाको बदला लिन जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको बिहीवार दाबी गरेको छ ।




