एजेन्सी, ५ असोज । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शन गर्ने क्रमलाई निरन्तरता दिंदा शिर्ष स्थानको बार्सिलोनासँगको दूरी बढेको छ ।
लिग अन्तर्गत गएराति भएको खेलमा गत रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ । घरेलु मैदान बर्नाउमा भएको खेलमा मड्रिड पाहुना टोलीसँग १–० ले पराजित भएको हो । अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेलमा मड्रिडका लागि इन्जुरी समय घातक बन्यो । पाँच खेलको प्रतिबन्धपछि स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मैदान फर्किएको खेलमा मड्रिड हारबाट जोगिन सकेन । इन्जुरी समयको अन्तिममा रियल बेटिसका लागि एन्टोनियो सानाब्रियाले विजयी गोल गरे । रियल बेटिससँगको हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा सात अंकले पछि परेको छ । रियलको पाँच खेलबाट ८ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको १५ अंक छ ।
लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गरेको एथ्लेटिको मड्रिडको पाँच खेलबाट ११ अंक भएको छ ।




