सम्पादकीय
काठमाडौं, २४ असार । राजतन्त्रलाई समाप्त गरें भन्दै उफ्रने र लुरुलुरु दरदरबार बिना प्रतिक्रिया निक्लिएका राजालाई देख्दा महान विजय पतका फहराउनेहरुका लागि अहिलेको राजनीति देख्दा कस्तो लागि रहेको होला ? के सन्देश प्राप्त गरेका होलान ? अपेक्षा कति पूरा भए होलान ? समीक्षा गर्ने समय पुग्यो कि,पुगेन होला ? समय नपुगेको भए मूल्यांकनका लागि अब कति समय आवश्यक हुन्छ होला ? केही सोच्ने बेला भयो कि ?
राजनीतिक नारामै बितेको नेपालीको झण्डै ७०-७५ वर्ष र त्यसबाट प्राप्त परिणामलाई हेर्दा, अझै थुप्रै वर्षहरु नेपालीले, राजनीतिक व्यवस्था र राजनीतिक नारा मै बिताउनु पर्ला जस्तो देखिएको छ । दिनदिनै, राज्य प्रणाली कुनै काम गर्नै नसक्ने प्रकारले थलिंदै गएको छ । राजनीति, पद र प्रतिष्ठाको विषय बन्दै गएको छ । आपसी कलह र मिलन बिन्दु नै भेट्न नसकिने खालको विवादले, सबैलाई छोएको छ । नियम, कानुन, जनप्रतिनिधि लगायतका राज्यका सम्पूर्ण सम्बैधानिक शक्तिहरु देखाउने दांतका रुपमा परिभाषित हुँदै गएका छन् ।
दुई चार नेताहरुको बीचमा हुने दुई चार बुँदे सहमतिकै आधारमा देश चल्न सकेन भनेर भन्नु पर्ने अवस्था आएको छ । संविधान तथा कानुनहरु नेताहरुको दुई चार बुँदे सहमतिका अगाडि निरीह बन्न बाध्य छन् । समाधानरहित सांढेहरुको जुधाइका कारण देशले चुकाउनै नसक्ने खालको मूल्य चुकाउँदै गएको छ ।
प्राविधिक कुराहरुलाई आधार मानेर, सकभर काम गर्न नपरोस भन्ने चाहने कर्मचारीतन्त्र र भांडभैलामै रमाउन खोज्ने नेतागणबाट देशले मुक्ति पाउने छांट पटक्कै देखिएको छैन । यो उदेकलाग्दो अवस्था कहिलेसम्म रहला ? भन्नेसम्म पनि कुनै टुंगो छैन ।
यो सिंगो वातावरणले, जनतामा वास्तवमा यति ठूलो निराशा जन्माइदिएको छ कि,उनीहरु सम्भव भएमा यस्तो अवस्थालाई चिर्न जुनसुकै प्रकारको आँधीबेहरी ल्याउन समेत तयार देखिन्छन ।
आज देश लामो समयदेखि लकडाउनमा छ । किसान, मजदूर, व्यवसायी तथा सबै प्रकारका व्यवसायिक संस्थाहरु गम्भीर संकटको अवस्थामा छन् । विकल्परहित रुपमा यसको सामना गर्न सक्ने शक्ति सरकारसँग होइन, भगवानसँग माग्नुपर्ने अवस्था छ । आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दैछ । किसान,मजदूरहरु निरन्तर रुपमा आफ्नो रोजगारी गुमाउँदै छन् ।
व्यापार व्यवसाय नै अगाडि नबढेपछि रोजगारीको वातावरण बढ्ने कुरै भएन । बैंकहरु ऋण दिएर भएपनि व्याज असुल्नमा व्यस्त छन् । कर्मचारीहरु हुन सक्ने कामलाई पनि मिल्दैन भन्दै, घुस असुल्नमै व्यस्त छन् । असारे विकास देशभरि देखिएको छ । पानीको झरीमा ढल खन्ने र पीच गर्ने कामलाई तिव्रता दिइएको छ । अन्य ठाउँहरुमा पनि जसरी पनि बजेट सक्नुपर्ने कारणले गर्दा बील बनाउनकै लागि पनि काम देखाउने पुरानो अभ्यासले निरन्तरता पाएकै छ ।
आज देशमा रहेको झण्डै दुई तिहाइको सरकारलाई यी कुराहरु हेर्न फुर्सद नै छन् । प्रधानमन्त्रीको अगाडि सत्ता जोगाउने र उनका समकक्षी नेताहरुको अगाडि जसरी पनि सत्ता गिराउने खेलले प्रमुखता पाउँदा, बाँकी रहेका सबै मन्त्रालयहरु काम चलाउ प्रकारले अगाडि बढेका छन् । कुनै खास योजना छैन कसैसँग ।
आज देशमा कोरोनाको कारण भित्रिएका थुप्रै नागरिककलाई उत्पादनशील क्षेत्रमा लगाउँदै अघि बढ्नु पर्ने र देश विकासको निमित्त छलाङ मार्नुपर्ने बेलामा, सरकारको यो हवीगत भएपछि यसको दबाइ कहाँबाट ल्याउने ? अब कुन व्यवस्थाको खोजी गर्ने ? जनताले अब कति तिहाईको मत दिनुपर्ने हो ? प्रश्न माथि प्रश्न गर्दा प्रश्न नै हाता लाग्ने अवस्था बाहेक सायद अबको केही वर्ष पनि यसरी नै बित्ने देखिएको छ । हुन त, त्यसबेलाका भुक्तभोगीहरु अहिले धेरै वृद्ध अवस्थामा हुनुहुन्छ होला । सायद यस्तै राजनीतिक अवस्थाका कारण नेपालमा २०१७ आएको त थिएन ? अहिले पनि जनता, नेता माथि शासन गर्ने दरिलो नेता खोजी गरेबाट यही कुराको पुष्टि त गर्दैन ?
सबैले याद गर्नुपर्ने विषय के हो भने, जब राजनीतिमा शासन प्रणालीले काम गर्दैन, त्यसपछिको अभ्यास भनेको तानाशाही प्रवृत्ति नै हो । अराजकताले निम्त्याउने यो प्रवृत्तिले कहिलेकाही देशलाई राम्रै निकास दिएको विश्व इतिहास पनि हाम्रो अगाडि साक्षी नै छ । सम्पूर्ण साधन र श्रोतले सम्पन्न यो सुन्दर अनि स्वर्णिम भूमिमा एक यस्तै नेताको खाँचो जनताले महशुस गरेका छन् । अब भगवान पशुपति नाथले पनि सोच्ने बेला आएको छ ।