समाचार | Page 2016 of 5936 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

समाचार

जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो 

खोटाङ । १८ वर्षअघि व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका ईन्द्र श्रेष्ठलाई छिमेकीलेनै पत्याएका थिएनन् । बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर त्यही तरकारी आफ्नै बारीमा फलाउन सकिन्छ भन्नेमा कसैको ध्यान गएको थिएन ।

त्यो बेला कृषिविज्ञ मदन राई र सूर्यबहादुर राईको नेतृत्वमा खाल्लेको नाहिमा कृषि श्रोत केन्द्र सञ्चालन थियो । नाहिमा हाल शुभम् फाउण्डेसन (दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–२ सोल्मा)को रुपमा सञ्चालनमा छन् । त्यही कृषि श्रोत केन्द्र पुगेर व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएर श्रेष्ठले बारीमा कृषि कर्म सुरु गरे ।

गोलबेँडा, तिते करेला, फर्सी, काँक्रोलगायत तरकारी फलाउन थालेपछि भने ईन्द्रलाई छिमेकीले पत्याउन थाले । उनको बारीमा उत्पादित तरकारी दिक्तेल बजार पुग्न थाल्यो । तरकारी बिक्रीबाट राम्रो आम्दानी गर्न थाले । बिस्तारै छरछिमेकमा उनको सिको सुरु भयो । घर–घरमा तरकारी खेती हुन थाल्यो ।

हाल खाल्ले बाँझघरेका स्थानीयले तरकारी खेतीलाई आम्दानीको माध्यम बनाएका छन् । बाँझघरेमा १७ घरपरिवारको बसोबास छ । यी सबै घरमा तरकारी खेती हुन्छ । तरकारी बिक्रीबाट किसानले मासिक ३५–४० हजार आम्दानी गर्छन । तरकारी खेतीबाटै घर खर्च टरिरहेको स्थानीय सूर्योदय कृषक समूहका अध्यक्ष टंक श्रेष्ठ बताउँछन् ।

तरकारीसँगै मौरीपालन 
अगुवा किसान ईन्द्र श्रेष्ठ तरकारी खेतीमा मात्र सिमित भएनन् । उनले व्यवसायिक रुपमा मौरी पालन पनि सुरु गरे । हाल वार्षीक ५० देखि ६० केजी मह बिक्री हुने गरेको श्रेष्ठ बताउँछन् । उनको घर वरपर मौरीका १७ घार छन् । मौरी पालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएकाले घार थप्ने योजना बनाएको श्रेष्ठ बताउँछन् । मौरीपालन भने ६–७ वर्षअघि मात्र सुरु गरिएको हो ।

मौरी पालनका लागि उनले आफैले मौरीको घार निर्माण गर्ने गरेका छन् । हाल उनले नयाँ २५ घार तयारी अवस्थामा राखेका छन् । मौरी पालनलाई थप वृहत बनाउन उनका छोरा इटहरी पुगेर तालिम लिएर फर्किसकेका छन् ।

आचारसंहिता उल्लंघन भए जोसुकैमाथि कारवाही हुन्छ : अयोग

बुटवल । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र कहीं कतैबाट उल्लंघन भए कारवाही हुने प्रतिबद्धता जनाएको हो । आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नहुने बताए र्। आचारसंहिता उल्लंघनबारे सम्पूर्ण कुरा आयोगले मात्र अनुगमन गर्न सक्दैन, उल्लंघन भए सञ्चारमाध्यमले निगरानी गरेर जानकारी गराउनुपर्ने हुन सक्छ,’ उनले भने ।

पत्रकारिता क्षेत्रले पनि आचारसंहिता पालना गर्नुपर्नेमा पनि जोड दिँदै उनले सुरक्षा निकाय जस्तैं सञ्चार माध्यमको भूमिका पनि महत्वपूर्ण रहेको बताए । नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडियानै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन उनले आग्रह गरे । उनले निर्वाचनको माहोल सिर्जना गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । आयोग संविधान ऐनमा रही नयाँ कार्य गर्न गर्न खोजिरहेको उनले बताए ।

‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका विचार र दलका गतिविधिसम्मलाई अनुगमन गरेर सत्यतथ्य समाचार आउन जरुरी छ,’ उनले भने, ‘यसले आयोगलाई समेत गल्ती कमजोरी पत्ता लगाउन र सुधार्न सहज हुनेछ ।’  निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताए ।

सूचना आयोगका पूर्व आयुक्त यशोदा तिम्सिनाले निर्वाचनमा सञ्चारकर्मीहरू मिथ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले निर्वाचन तोकिएकै मितिमा हुँदैन भन्ने भ्रम चिर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

सिन्धुलीको सुनकोसीमा कांग्रेसले गठबन्धन नगर्ने, एक्लै चुनाव लड्ने निर्णयसहितको पत्र प्रदेश संयन्त्रमा

सिन्धुली । सिन्धुलीस्थित सुनकोसी गाउँपालिकामा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहित नेपाली कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई औपचारिक पत्र पठाएको छ । सुनकोशी गाउँपालिकाका सात जना वडा सभापतिको संयुक्त बैठकले केन्द्रको निर्णयअनुसार गठबन्धन गर्न आवश्यक नभएको र एक्लै चुनावी मैदानमा भाग लिने भन्दै राजनीतिक संयन्त्रलाई पत्र पठाएका हुन्  ।

सुनकोसी–५ का वडा अध्यक्ष अर्जुनविक्रम थापाको सभापतित्वमा बसेको वडा सभापतिहरूको भेलाले सो निर्णय गरेका हो । नेपाली कांग्रेस र अन्य राजनीतिक दलबीच गठबन्धनका साथै चुनावी अभियानमा जाने कुरा संघ, जिल्ला प्रदेशमा गाउँपालिकामा गठबन्धनसबन्धी छलफल भइरहेको भए पनि सुनकोसीले गठबन्धन नगर्ने निष्कर्ष निकालेको निर्णयमा उल्लेख छ ।

‘यस गाउँपालिका अन्र्तगतका वडा तथा गाउँपालिका गठबन्धनको पक्षमा नरहेको’ उल्लेख गर्दै वडा सभापतिहरूको निर्णयमा भनिएको छ, ‘हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार हुने छन् ।’ सो निर्णयसँगै गाउँपालिका समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश स्तरीय संयन्त्रलाई औपचारिक रुपमा पत्र पठाएको हो । निर्णयमा क्रमशः १ देखि ७ सम्मका वडा सभापतिहरू रामकुमार श्रेष्ठ, विजय मोक्तान, बिशु सुर्यबंशी, हरिकुमार योञ्जन, अर्जुनविक्रम थापा, होमप्रसाद तिमिल्सना, उत्तमकुमार लामाले हस्ताक्षर गरेका छन् ।

सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा, सरकार स्थानीय तह निर्वाचन पनि सार्न खोज्दैछ : महेश बस्नेत

चितवन । नेकपा (एमाले)का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए ।

‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङ गरेर हटाएर चुनाव सार्न सकिन्छ की भन्नेतर्फ पनि लागेको देखिन्छ ।’

गठबन्धन जोगिन्छ की जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको उनले बताए । यद्यपि, निर्वाचनको आयोगतको तीव्र तयारी र निर्वाचनप्रति जनताको लगाव देखेर सत्ता गठबन्धनले चुनाव सार्न सक्ने अवस्था भने नरहेको उनले दावी गरे ।

‘पाँच दलभित्र पनि गठबन्धनको प्रक्रिया कति जटिल छ भन्ने हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘भरतपुरमा गठबन्धनल अस्वीकार गर्छौँ भनेर कांग्रेसले खुला भनेको अवस्था छ । कांग्रेसका ठूला नेताहरू पनि गठबन्धन गर्ने या नगर्ने भनिरहेको अवस्था छ ।’

त्यस्तै, एमालेको चुनाव चिह्न सूर्य लिएर साना दलका उम्मेदवारले पनि चुनाव लड्न पाउने गरी गरेको सहमतिलाई गठबन्धन भन्न नमिल्ने उनले बताए । ‘नेकपा एमालेको आकर्षण र प्रभावबाट विभिन्न दलका नेताहरू नजिक हुनुभनेको एमालेसँग निकट हुनु हो,’ उनले भने ।

यसपालि देशभरी नै निर्वाचनमा एमालेले धावा बोल्ने उद्घोष गरिसकेको उनले बताए । ‘एमालेले गठबन्धन गर्नेभन्दा पनि एमालेप्रति आकर्षण भएका साथीहरूलाई एमालेको चुनाव चिह्न लिएर हामीसँग आउनु खोज्छन् भने हामीले यसलाई फराकिलो ढंगले लिन्छौँ,’ उनले भने ।

ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागेको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नुभन्दा पहिले नै योजना ल्याउनसमेत आग्रह गरे ।

प्रतियोगितामा सात टिम पुरुष र चार टिम महिलाको सहभागीता रहेको छ । पहिलो खेलमा जाउलाखेल क्लबलाई त्रिभुवन आर्मी क्लबले २१, ३३ ले पराजित गरेको छ । अरु खेल जरी छन् । प्रतियोगिताको फाइनल पनि आजै हुने जनाइएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिइनेछ ।

निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका, भन्छनः रोकिए दुर्घटना हुन्छ 

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी ३० बैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशंका पुनः व्यक्त गरेका छन । जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशंका व्क्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताएका छन ।

‘घोषित मितिको निर्वाचन रोकिएको खण्डमा मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न,’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनको माहौला बनाउने मिडियाले हो, अहिलेसम्म मिडियाले माहौल बनाएको छ, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।’

स्थानिय तहको निर्वाचन आउन २७ दिन बाँकी रहदाँ  प्रमुख आयुक्तले निर्वाचन रोकिए दुर्घटनामा पर्ने निरन्तर अभिब्यक्ति दिईरहेका छन । गत साता पनि बिराटनगरमा निर्वाचन स्थगित गर्न नहुने तथा स्थगित भएमा मुलुक दुर्घटनामा जाने अभिब्यक्ति दिएका थिए ।  प्रमुख आयुक्तका अभिव्यक्तिलाई राजनीतिक बिश्लेषकहरुले गम्भीर रुपमा  हेरिरहेका छन ।

बाइसे चौबिसे कालको पुल अझै पनि प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण

सुर्खेत । जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया देवि पुन जीर्ण पुलबाट खसेर गम्भीर घाइते भएकी हुन् ।

चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा उनी पुलबाट खसेको उनका छोरा प्रेमबहादुर पुनले बताए । उनको करङ र दुवै खुट्टा भाँचिएको छ । घाइते पुनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । कच्ची पुलमा राखिएको काठका फल्याक झरेपछि पुलबाट खसेर नदि किनारमा खसेकी हुन् ।

पुन मात्रै होइन यो पुलबाट खसेर वर्षेनी दर्जन बढी सर्वसाधारण घाइते हुन्छन् । जुनसुकै बेला पुलबाट खसेर घाइते भइन्छ भन्ने जान्दा जन्दै पनि सर्वसाधारण यही पुल प्रयोग गर्न बाध्य छन् । किनकी उनीहरूको विकल्प छैन । जीर्ण पूर्ण निर्माण गर्न स्थानीय सरकार र अन्य तहका सरकारले पनि चासो दिएका छैनन् ।

रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल वर्षौदेखि जीर्ण अवस्थामा छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाएको मटेलाको झोलुङ्गे पुलले अहिले पनि जेनतेन सेवा दिइरहेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेलाबीचको भेरी नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाइ छ ।

अहिले झोलुङ्गे पुलको ठाउँ–ठाउँमा प्वाल परेको छ भने तारबारको जालीहरू फुत्किँदै गएको छ । पुलका विभिन्न भागमा रहेका नटबोल्टहरू समेत झरेका छन् । भेरी नगरपालिका–११ कि विष्णु गिरी पढ्न विद्यालय जाने विद्यार्थीहरू समेत डराइ ,डराइ पुल तर्ने गरेको बताउँछिन् । उनले पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको दुखेसो पोखिन ।

कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले वर्षौसम्म मर्मत नभएको र कसैले पनि संरक्षणमा ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको बताए ।

उक्त पुल ९० मिटर लामो छ । पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका–४ का राजेन्द्रविक्रम शाहले बताए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यस पुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि यो पुल बनेको बताइन्छ ।

जाजरकोटकी छोरी बालकुमारीले चन्द्रशमशेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात् जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगञ्ज आवागमन गर्न निकै कष्ट भएपछि भेरी नदीमा पुल जरुरी रहेको भनेर राणा दरवारमा आग्रह गरेपछि पुल निर्माण भएको शाहको भनाइ छ  ।

कैलालीमा लोसपा, जसपा र लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

धनगढी । केन्द्रमा पाँच दली गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा भने सो गठबन्धन तोड्दै जसपाबाट नै अलग्गिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेत गर्ने सहमति गरेको छ । कुनै समय जसपामै रहेका रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सहभागि हुने भएको छ ।

सत्तारुढ गठनब्नधले सुदूरपश्चिम सरकारमा सहभागी नगराएपछि रुष्ट बनेको जसपाले केन्द्रीय गठबन्धनलाई बहिस्कार गरेर अन्य साना दलसँग चुनावी तालमेल गर्नेगरी सहमति भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरिलाल चौधरीले बताए ।

‘उम्मेदवार जिताउनका लागि मात्रै गठबन्धन गर्ने तर सत्तामा ठूला दलले रजाई गर्ने कुरा हामीलाई मान्य छैन,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘त्यसैले हामी पाँच दलीय गठबन्धनबाट बाहिरिएका छौं, अब अधिकारका लागि संघर्षरत एजेण्डा मिल्ने दलसँग चुनावी तालमेल हुन्छ ।’ उनका अनुसार कैलालीमा जसपाको नेतृत्वमा चार दलीय गठबन्धन हुनेछ ।

सो गठबन्धनले कैलालीको धनगढी उपमहानगरपालिकाबाहेक १२  स्थानीय तहमा उम्मेदवारी दिनेछ । तर, उपमहानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्ने उनले बताए । उनले कैलालीमा चार दलीय गठबन्धनमा रहेकाबाहेक अन्य ठस्ला दलसँग पनि आवश्यकताअनुसार तालमेल हुन सक्ने उनले बताए ।

चुनावका लागि गरिएको चार दलीय गठबन्धनले ठुला दलसँग पनि जिल्लामा आवश्यकताअनुसार गठबन्धन गर्न सक्ने नेपाल लोकतान्त्रिक पार्टी कैलालीका संयोजक लक्ष्मण चौधरीले बताए । ‘तालमेलका लागि एमालेलगायत ठस्ला दलसँग पनि आवश्यक छलफल भइरहेको छ,’ संयोजक चौधरीले भने, ‘तर कांग्रेस माओवादी र समाजवादी पार्टीसँग भने तालमेल हुने सम्भावना कम छ ।’

विगतमा आफ्ना अधिकारका लागिसँगै लडेका साना पार्टीबीच तालमेल गर्दै ठुला दललाई चुनौति दिइने उनले बताए । तालमेलपछि सबै पालिकामा सहमतिका आधारमा उम्मेदवारी दिइने र जुन पालिकामा जस्ले नेतृत्व पाउँछ उसैको चुनास चिन्ह प्रयोग गरिने चार दलीय गठबन्धनबीच सहमति भएको छ । तर, वडाको हकमा भने जुन पार्टीले वडा अध्यक्ष पाउँछ त्यही पार्टीको चिन्हमा सदस्यले चुनाव लड्नु पर्ने सहमति भएको जसपाका कैलाली अध्यक्ष गयाप्रसाद कुस्मीले बताए । एक साताभित्रै उम्मेदवारी टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको उनले बताए ।

पाँच दलीय गठबन्धनः केन्द्रमा सहमति, जिल्लामा तोडिदैँ

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ । विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिएलगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम सुरु हुन थालेको हो ।

भरतपुर महानगरपालिकामा मेयर पुनः नेकपा माओवादी केन्द्रले पाउने भएपछि कांग्रेसका जनप्रतिनिधिद्धारा बिद्रोहको चेतावनी, पर्सा कांग्रेसद्धारा गठबन्धन नगर्ने निर्णय सार्वजनिक, बाँकेमा जनता समाजवादी पार्टी बाँकेमा गठबन्धनवाट बाहिरिएको घोषणा, डोल्पामा सहमति नहुँदा अलग अलग निर्वाचनमा जाने निर्णयको तहमा पुगेका छन ।

रोल्पा र रुकुममा कांग्रेस र नेकपा एकीकृत समाजवादीले धेरै भागवन्डा खोजेको भन्दै माओवादीको असन्तुष्टि र संखुवासभामा गठबन्धनबाट कांग्रेस बाहिरिएको घोषणालगायतको दृश्यले पाँच दलीय गठबन्धनको केन्द्रिय निर्णयलाई स्थानीय तहले मन नपराएको देखिन्छ ।

प्रचण्डको गृहनगर भरतपुरमा कांग्रेस–माओवादी संघर्ष
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रिय निर्णय आउनुअघि र आएपछि पनि चितवनस्थित भरतपुर महानगरपालिका चर्चाको शिखरमा छ । नेकपा एमालेले भरतपुर महानगपालिकाका लागि प्रदेश सांसद बिजय सुबेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा पनि पाँच दलीय गठबन्धनले अझै साझा उम्मेदवार तय गर्न सकेको छैनन् ।

केन्द्रीय निर्णयअनुसार भरतपुरमा माओवादी केन्द्रको भागमा परेपछि मुख्यतः कांग्रेस जनप्रतिनिधिहरुले आपत्ति जनाउँदै आएका छन । पार्टी सभापति शेरबहादुर देउवाले भरतपुर पुनः माओवादीलाई दिने निर्णय लिन खोजेपछि कांग्रेस जिल्ला कमिटी नै काठमाडौंमा ‘डेलिगेसन’ आएर आपत्ति जनाएको थियो भने सो निर्णयपछि पनि वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा गत मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गर्दै माओवादी केन्द्रलाई दिएको खण्डमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

‘वडा सभापतिको संयुक्त निर्णय विपरित गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने निर्णय भईसकेको छ, हामी तयारीमा जुटिसक्यौं,’ तामाङले निर्णयपछि भन्दै आएका छन । उनका अनुसार बैठकको सो निर्णय केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरणसमेत गरिसकेका छन् । गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुदाँ भरतपुरवाट माओवादीकी रेणु दाहाल बिजयी भएकी थिइन ।

पर्सा कांग्रेसको निर्णयः गठबन्धन मान्दैनौ– एक्लै लडछाैँ
पर्सा कांग्रेसले गठबन्धन नमान्ने र एक्लै निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ । केन्द्रीय निर्णयअनुसार जसपा नेपालको भागमा परेको वीरगञ्ज महानगरपालिका स्विकार गर्न नसकिने भन्दै पर्साका १४ वटै स्थानिय तहमा एक्लै चुनाव लडने जिल्ला कंग्रेसले ३० चैतमा औपचारिक निर्णय नै गरिसकेका छन ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ, क्षेत्र नं–१ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेशसभा क्षेत्र नम्बर १ का र २ का सभापतिहरूले पत्रकार सम्मेलन नै गरेर गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘जिल्लामा रहेका वीरगन्ज महानगरपालिकासहित सबै १४ वटा पालिकामा नेपाली कांग्रेसले अन्य दलसँग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको छ,’ जिल्ला उपसभापति रामनारायण कुर्मीले भने, ‘नेपाली कांग्रेसले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।’
जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न सो बैठकमा केन्द्रीय सदस्यद्धय रमेश रिजाल र अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्वसभापति राजेन्द्र बहादुर अमात्य, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मालगायतको उपस्थित रहेको सो बैठकले निर्णय गरेको थियो ।

डोल्पाः गठबन्धन गर्न नसकिने निर्णय गर्दै केन्द्रलाई पत्र 
काठमाडौंवाट पाँच दलीय गठबन्धन बनाउन निर्देशन दिएपनि डोल्पामा भने गठबन्धन नगरी अलग–अलग निर्वाचन लडने निर्णय नै गरिएको छ । कांग्रेस पार्टी सभापति तथा जिल्ला स्तरीय संयन्त्रका संयोजक दिपेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्न नसकिने भन्दै केन्द्रीय कार्यालयलाई जानकारी गराउने निर्णय नै गरेको छ ।

रौतहटः माधव नेपालको गृहनगरमा कांग्रेस बिपक्षमा 
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको चन्द्रपुरमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय लिएको छ ।
नगर सभापित मुकेश गिरीको सभापतित्वमा बसेको बैठकले कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचनमा लडने निर्णय लिएको हो । जसअनुसार भावी नगरप्रमुखका लागि चन्द्रपुरवाट कांग्रेसले १२ जना आंकक्षीको नाम सार्वजनिक गरिसकेको सभापति गिरीले जानकारी दिएका छन ।
संखुवासभाः चार दिनसम्म पनि सहमति नभएपछि बैठक
खाँदवारीमा चार दिनसम्म बसेको पाँच दलीय गठबन्धनले कुनै निष्कर्ष निकाल्न नसकेपछि गठबन्धन टुटेको कांग्रेस सभापति दिपक खडकाले घोषणा गरेका छन । चार दिनसम्म बसेको बैठकमा दलहरूले दावी नछाडेपछि माओवादी केन्द्र छलफलको प्रक्रियावाट नै बाहिरिए पछि संखुवासभामा गठबन्धनको सम्भावना टरेको हो ।
बाँकेः गठबन्धन छाडेर जसपा एक्लै निर्वाचनमा 

नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले दावी नछाडेपछि जसपा नेपाल गठबन्धनवाट बाहिरिएको छ । एमालेले पशुपतिदयाल मिश्रलाई नेपालगञ्जको भावी मेयरको उम्मेदवार घोषणा गरिसक्दा पनि गठबन्धनभित्रका दलहरु मुख्यतः कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनमा समस्या देखा परेको हो । जसपा नेपालका जिल्ला अध्यक्ष कमरुद्धिन राईका अनुसार नेपालगञ्ज जसपालाई छुट्टाएर  एमालेले जितेका स्थानीय तहमा भागवन्डा गरेर जाने प्रस्तावलाई कांग्रेसले अस्विकार गरेपछि गठबन्धनवाट बाहिरिनु परेको हो ।

मोरङः बिरानटनगर कांग्रेसलाई दिए जसपाले अस्विकार गर्ने

मोरङका १७ मध्ये नेपाली कांग्रेस एक्लैले बिरानटनगर महानगरपालिकासहित १० स्थानीय  तहको नेतृत्वमा दावी गरेपछि पाँच दलीय गठबन्धनमा भागवन्डा टुंग्याउन निकै सकस परेको छ । यसअघि कांग्रेसले बिजयी हाँसिल गरेको बिराटनगर महानगरपालिकाको भावी नेतृत्वका लागि कांग्रेस र जसपा नेपाल दुबैले दाबी गरिरहेका छन । कांग्रेस र जसपा नेपाल जसले पाए पनि स्थानीय तहमा एउटा दल भने बिद्रोहमा निस्कने लगभग देखिएको छ ।

उता,  मोरङका १७ वटा स्थानिय तहमध्ये कांग्रेसले १० वटा, माओवादी केन्द्रले ६ वटा  नेकपा एस र जसपा नेपालले ४–४ स्थानीय तहमा दाबी गरेपछि गठबन्धनमा सकस भएको छ । कांग्रेसले अत्याधिक स्थानिय तहमा दावी गरेपछि माओवादी केन्द्र र नेकपा एसले अलग्गै गठबन्धन बनाएर जाने सम्भावना देखिएको स्थानीय नेताहरुले बताएका छन ।

केन्द्रमा निर्णय गरे पनि स्थानीय तहमा गठबन्धन गराउन सकस देखा परेपछि कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अपरान्ह २ बजे बस्ने बैठकले ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकाको भागबन्डा र भावी नेतृत्वका लागि आवाश्यक निर्णय लिदैँछ भने चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डले भरतपुरको मेयरका बारेमा चाँडै निर्णय हुने घोषणा गरेका छन् ।

दक्षिण ललितपुरको प्युटार जंगलमा भिषण आगलागी

ललितपुर ।  दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार  वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् ।

शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौं ।’  निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए ।

आगो फैलदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।

चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

रौतहट । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले  स्थानीय पचरौता नगरपालिका– ६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ बर्षिय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआईजी गणेश ठाडा मगरले बताएका छन । भारतीय नागरिक साहको साथबाट एककिलो दुईसय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कार्वाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाईएको डिआईजी मगरले जानकारी दिएका छन ।

अस्पतालको ठेक्का प्रकरणः मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन संयोजक नै विवादमा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री  कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ । मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन समिति संयोजक नै विवादमा तानिएका छन् ।

करिव डेढ अर्ब अनियमितता हुने गरी आह्वान गरिएको बोलपत्र प्रकरणमा छानविन गर्न गठित छानविन समितिले मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेपछि यो प्रकरण रहस्यमय बनेको हो । छानविन समितिका संयोजक मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी बोलपत्र आह्वान सम्बन्धी निर्णयमा आफै हस्ताक्षरकर्ता थिए ।

आफू अनुकुल प्रतिवेदन बनाउने गरी मुख्यमन्त्री केसीले सुवेदीलाई छानविन समितिको संयोजक बनाएपछि त्यतिबेलै उनको आलोचना भएको थियो । छानविन समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई पूर्णरुपमा दोषी देखाउँदै मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेको हो ।

तर, तत्कालीन प्रमुख घिमिरेले भने अनियमितताको साक्षी आफू नबने भन्दै देश र जनतालाई घाटा लाग्ने काम गर्नुभन्दा बाहिर बस्ने भन्दै राजीनामा दिएका थिए । छानविन समितिले प्रतिवेदन पेश गरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत घिमिरेले भने अनियमितता प्रकरणको योजनाकार नै छानविन समितिको संयोजक रहेको प्रतिक्रिया दिए ।

“जो योजनाकार थियो, उसैको नेतृत्वमा मुख्यमन्त्री केसीले छानविन समिति बनाएका हुन्, त्यो समितिले मुख्यमन्त्रीलाई जोगाउने कुरा स्वाभाविक हो”–उनले भने । आफू प्राधिकरणको तत्कालीन प्रमुख कार्यकारी भएपनि छानविन समितिले आफूलाई एकपटक पनि नसोधेको घिमिरेले बताए । तर छानविन समितिले भने घिमिरेलाई बयानका लागि बोलाएको भएपनि नआएको बताएको छ ।

मुख्य न्यायाधिवक्ता घिमिरेले भने आफू कुनैपनि निर्णय प्रक्रियामा सहभागी नभएको बताए । “ममाथि लगाएको आरोप प्रमाणित गर्नुपर्छ, हिजो मुख्यमन्त्रीमाथि दोष लगाउनेले आज म माथि लगाउनुभएको छ, कुन तथ्यमा आधारमा दोषारोपण गर्नु भो, त्यसबारे प्रष्ट पार्नुपर्छ”–सुवेदीले भने ।

गएको फागुन २ मा बसेको बैठकमा अस्पताल भवनको लागत स्वीकृत गरेर बोलपत्रको मापदण्ड तोक्दै ठेक्का आह्वान गर्ने निर्णय हुँदा सुवेदीले आमन्त्रित सदस्यका रुपमा माइन्यूटमा हस्ताक्षर गरेका छन् ।

तर छानविन समिति संयोजक सुवेदीले भने मुख्यमन्त्रीलाई बिवादमा तान्नको लागि तत्कालीन प्रमुख कार्यकारी घिमिरेले बैठकको माईन्युटलाई फेरबदल गर्ने, तिथिमिति सच्चाउने काम गरेको पाइएको दावी गरे । प्रदेश पूर्वाधार विकास प्राधिकरणका अध्यक्ष मुख्यमन्त्री हुने व्यवस्था  छ ।

७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेश र ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरि गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय हुन निर्देशन दिने निर्णय गरेको छ ।  पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रतिनिधि खटाउन निर्देश पनि गरेको छ ।

पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । लु१च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् । दुर्घटना घाइते भएका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने

भैरहवा । भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवाको क्रिकेट विकासलाई देशव्यापी रूपमा चिनाउनका लागि आयोजना गरेको हो । सेमिफाइनल खेलमा मलेसियाले युपी–११ लाई र रुपन्देहीले नेपाल आर्मीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । शनिबार दिउँसो २ बजे द्वय टीमबीच फाइनल उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा मलेसिया–११ ले युपी–११ लाई १४ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली रुपन्देहीले अहिलेसम्म अविजित रहँदै आएको नेपाल आर्मीलाई स्तब्ध बनायो । टस जित्दै ब्यटिङको निर्णय गरेको आर्मीले १९ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय ३ रन बनायो । आर्मीका लागी रोहित पौडेलले ३६ रन र हरि चौहानले १७ रन बनाए । बलिङ तर्फ रुपन्देहीका वसिर अहमद र रुपेश कुर्मीले २/२ विकेट लिए ।

१ सय ४ रनको विजयी लक्ष्य सहित मैदान छिरेको रुपन्देहीको ओपनिङ भने सुखद हुन सकेन । रुपन्देहीका ३ जना खेलाडी दोहोरो अंक नै नपुगी पेभेलिएन फर्किए । पाँचौं विकेटको रूपमा मैदान छिरेका वसिर अहमदले पारीलाई सम्हाल्दै उभो लगाए । उनले ३५ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाएर रुपन्देहीको जितको आधार बलियो बनाए ।

रुपन्देहीका लागी सन्दीप रजालीले अविजित १९ रन र विशाल विक्रम केसीले १३ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम सोबले एक्लैले ३ विकेट लिए ।  वार्नको थाइल्यान्डमा हृदयाघातका कारण गत साता ५२ वर्षको उमेरमा निधन भएको थियो । लेजेन्ड लेग स्पिनर वार्नले ७०८ टेस्ट विकेट लिएका थिए । उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ । गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताए । उनले त्यसरी छनोट भएको गीतलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।