समाचार | Page 2017 of 5936 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

समाचार

ठूला योजना जति ढिलासुस्तीको सूचीमा

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको तेस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र प्रगति भएको छ । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ठेक्का लिएको योजनाको तेस्रो म्याद गत ३० चैतमा नाघेको हो । सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ र दोस्रो म्याद १३ असार २०७८ मा सकिएको थियो ।

कालोपत्रे हुनुपर्ने बाटो अहिले पनि कच्ची अवस्थामै छन् । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरी २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।

मध्यपहाडी लोकमार्गको खोटाङभित्र पर्ने अन्य खण्ड कालोपत्रे भइसकेको छ । तर, चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रे नहुँदा खोटाङ र भोजपुर सिधा आवत–जावतमा समेत असर पुर्‍याइरहेको छ । निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बाँझेच्यानडाँडाका वडाध्यक्ष विजय गुरुङले बताए ।

म्याद सकियो, काम सकिएन

खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम २०७७ भित्र सकिनु पर्ने हो । तर पछिल्लोपल्ट थप भएको म्याद सकिँदा समेत कालोपत्रे राख्ने तरखर भएको छैन । महुरे–फोक्सिङटार सडक खण्डमध्ये महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन/सिद्दिसाई जेभी र सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ ।

भारत कन्स्ट्रक्सन/सिद्दिसाईले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको करिब ४५/४६ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताउँछन् ।

५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार खण्ड कालोपत्रे पूरा गर्ने सर्तमा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ११ साउन २०७३ मा ठेक्का सम्झौता गरेको थियो । हालसम्म सो खण्डको काम ५० प्रतिशत सकिएको छ । कोभिड–१९ को महामारी कारण देखाएर थप भएको दुवै खण्डको म्याद गत ३० चैतमा सकिएको हो ।

यस्तै, हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको मेनलाइनको दोस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । दवा–महादेव खिम्तीले दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएको हो । कोभिड–१९ को कारण देखाउँदै दिवा–महादेव खिम्तीले दुई पल्ट थप म्याद पाउँदा पनि काम सम्पन्न गर्न नसकेको हो ।

सुरुको सम्झौतालाई आधार मान्ने हो भने सम्झौता म्याद नाघेको ३३ महिना बितिसकेको छ । दिवा–महादेव खिम्तीले भ्याट बाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा १७ पुस २०७६ मा सम्पन्न गर्नेगरी २१ असार २०७४ मा आयोजनाको मेनलाइनको कामको ठेक्का सम्झौता गरेको थियो ।

सोही आयोजना अन्तरगत काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनको काम उस्तै निराशाजनक छ ।

२०७७ साल असार ३० गतेसम्ममा सक्ने सर्तमा २०७५ साल असार ३१ गते दुवै वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाइनको ठेक्का लिएको हो । कोभिडका कारण भन्दै दोस्रोपल्ट थप भएको वितरणलाइनतर्फको म्याद पनि ३० चैतमै सकिएको छ ।

अब एक चुनाव हेरौँ भन्ने समय अवस्था छैन : राजेन्द्र लिङदेन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताए ।

ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उनले भने, ‘अब एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठको वस्तु होइन। साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ?’

बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरूलाई उनले प्रश्न गरेका छन् । लिङदेनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताए ।

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उनले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने ?’

कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उनले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताए । सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरूले मागी खाने भाँडो बनाएको उनको आरोप छ ।

३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उनले बताए । ‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो । जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उनले भने ।

उनले अब विकल्प सोच्ने बेला आएको बताए । ‘चुनावलाई ख्याल ख्याल नठानौँ’, उनले भने, ‘भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’ गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उनले बताए ।

हात्ती पाइले रोगले शिवकुमार मण्डलकाे परिवार बिच्चलीमा

सप्तरी । सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएकाे छ । सरकारले हात्ती पाइले राेगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का ५० वर्षीय शिवकुमार मण्डल यस राेगबाट पीडित छन् ।

सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले राेगबाट थलिएपछि परिवार विचल्लीमा परेकाे ५ । उनी पूर्ण अशक्त छन्।  परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ´पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्राे भएकाे छ ।’

केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन् । उनले भनिन, ´ऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ । निकाे भएन । डाक्टरले यहाँ हुन सक्दैन धरान लागुपर्छ भनेकाे छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।’ मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्,´ म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।’

आगलागीमा जलेर बालकको मृत्यु

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।

बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् । आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ। दिउँसो ३ बजे आगलागी भएको हुँदा क्षति विवरण अहिले नै यकिन गर्न नसकिए पनि लाखौंको धनमालको क्षति भएको हुनसक्ने जिल्ला  प्रहरी कार्यालयका सप्तरीका प्रहरी  प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।आगलागीमा ज्यान गुमाएका शैलेशको बुवा भने वैदेशिक रोजगारमा विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालक मृत्यु स्थानीयको भनाई रहेको छ।

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएकाे छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले कागजात झिकाउन आदेश गरिएको हो ।

जबरामाथि संसदमा पेस भएको महाअभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजातहरू संघीय संसद सचिवालयबाट झिकाउने आदेश गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गत १ फाुगनमा जबराविरूद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसद्हरूले हस्ताक्षर गरेर संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

त्यसका विरुद्ध अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले ११ फागुनमा सर्वोच्चमा रिट दायर गरेका थिए । महाअभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गर्दै बदर गराई पाउँ भन्दै उनीहरूले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ भएको हो ।

सत्ताधारी दल र नेताले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरे : विक्रम पाण्डे

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको व्यापार घाटा बढ्दै गएको बताए ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ मा पाण्डेलाई प्रचण्डले हराएका थिए । ‘सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले भने ।  एमसीसी भन्ने चक्रब्यूह खडा गरेर सरकारले भ्रम छरेको भन्दै उनले कोशी र कर्णालीमा फसे जसरी फेरि पनि नेपाल फस्न लागेको उनले दाबी गरे ।

‘जसरी कोशी र कर्णालीमा हामी फस्यौं, अहिले पनि त्यसरी नै फस्दै छौं । एमसीसीले देशमा बिजुली बल्ने होइन, देशमा उत्पादन गरेको बिजुली हाइटेन्सन लाइनबाट सोझै विदेश लैजान्छन्’, उनले भने, ‘त्यसैले हामी चुनावी प्रचारप्रसारको लागि चितवन आएका होइनौं, एक पटक देश बचाइदिनोस् भन्न आएका हौं।’

देशमा बन्द भएका उद्योग सञ्चालन गरेर स्वदेशमै रोजगार सिर्जना गर्नुपर्ने भन्दै उनले स्वास्थ्य, शिक्षा, विद्युतजस्ता पूर्वाधार निर्माणमा राप्रपालाई जिम्मा दिने उनले आग्रह गरे । ‘प्राथमिक स्वास्थ्य उपचार हामी निःशुल्क गर्छौं। कक्षा १२ सम्म सुको पैसा नपर्ने व्यवस्था मिलाउँछौं’, उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हेमजङ्ग गुरुङले ठूला दलले ठूला भ्रष्टाचार गर्दा जनताले दुःख पाइरहेको बताए । उनले अबको चुनावमा फेरि पनि ठूला दललाई जिताएर गल्ति गर्न नहुने बताए ।

‘ठूला दलले ठूलै भ्रष्टाचार गर्दा त्यसको सजाय हामीले पाइरहेका छौँ। त्यसैले अब त्यस्तो गल्ती नगरौं। नेता चिनेर जिताऔं’, उनले भने । प्रचण्ड र देउवाले आफ्नो कमजोरी लुकाउन जतापनि आफ्नै मान्छेलाई मात्रै काखी च्याप्दै आएको उनले आरोप लगाए ।

राप्रपाकी महामन्त्री कुन्ती शाहीले देश निर्माणमा राजा महेन्द्रको परिकल्पना अधुरो रहेकी बताएकी छन् । उनले राजा महेन्द्रले चितवनलाई कस्तो बनाउने भन्ने विषयमा बनाएको सोच अधुरै रहेको बताएकी हुन् ।

‘अब चितवन बनाउन विक्रम पाण्डेजस्तो विकासप्रेमी नेता चितवनले पाएको छ। कम्युनिस्टले सोचेजस्तो दास मानसिकताबाट देश चल्दैन’, उनले भनिन् ।

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो 

नवलपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे ।

युवामा नेतृत्व हस्तान्न्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले  राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर थापा राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

तत्कालीन अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरणमा सहमत भए पनि लिङ्देनसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थापाले देशलाई दूरावस्थामा पु¥याउने भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र  कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए ।

मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका  जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो ।

अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलनमा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

यसबारे अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पूजादेवी बुढामगर, वडा नम्बर २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।

साथै गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराई समेतले गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रूपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ । उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँ बिगो कायम गरी सजाय गर्न र जरिवाना लिनसमेत माग गरिएको छ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाहसमेतलाई समेत कारबाही गर्न माग गरेको छ ।

गाउँपालिका अध्यक्ष स्वर्गीय रावलसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि करबापतको रकम गरी ५४ लाख १८ हजार ५६८ बराबर हानीनोक्सानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

अध्यक्ष रावलको मृत्यु भएको भए पनि मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले रावलको मृत्यु भइसके पनि निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियारबाट बिगो ५४ लाख १८ हजार ५६८ असुलउपर गर्न माग गरिएको छ ।

बुद्धकृष्णले छेडाए जिब्रो

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्षजस्तै यसवर्ष पनि जिब्राे छेड्ने जात्रा शुक्रबार सकिएको छ । यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । पछिल्लो पटक जिब्राे छेडाएका ४९ वर्षीय बुद्धकृष्णले यो पटक पनि नवौँपटक जिब्रो छेडाएका हुन् । यसअघि पछिल्लो वर्ष उनलै आठौँ पटक जिब्राे छेडाएका थिए ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गरेका छन् । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालकका रुपका कार्यरत छन् । उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेडेका थिए । त्यसपछि उनले २०६५ सम्म निरन्तर रुपमा जिब्रो छेडेका थिए । जिब्रो छेर्ने जात्राको लागि पहिला बजेटको व्यवस्था थिएन ।

पहिला जसले जिब्रो छेड्ने हो उसले  इष्टमित्रलाई भोज खुलाउनपर्ने थियाे । तर, अहिले भने मध्यपुर थिमि नगरपालिकाले यसको लागि गतवर्षदेखि एक लाख रुपैयाँ दिने गरेको छ।

जिब्रो छेडाउनु अघि दुई दिन अगाडिदेखि भोकै बस्ने गर्दछन् ।  नखाई बस्दा जिब्राे मर्ने र स्वाद थाहा नपाउने हुँंदा नदुख्ने बताइन्छ । दुई दिन पछि जिब्रो छेड्ने दिन एक महिनादेखि  भुटेको तोरीको तेलमा डुबाइ राखेको करिब एक फिट लामो सियाेले जिब्रो छेडिने गरिन्छ । जिब्रो छेड्ने दिन विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाउने परम्परा छ ।

जिब्रो छेड्ने  व्यक्तिलाई सम्मानको रुपमा बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ । त्यसपछि जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गरिन्छ ।  जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

सयौँ वर्षदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा कोरोना संक्रमणका कारण २०७६ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् । अहिलेसम्म १९६९ देखि १९९० सालसम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, १९९१ देखि २०२२ सालसम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ सालमा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ सालमा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले एक, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सालसम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सालसम्म तथा २०७३ देखि २०७९ सम्म नौ पटक र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।

बैतडीमा पानीको हाहाकार

बैतडी । बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ ।  दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा परेका छन् । सदरमुकामस्थित बृहत खानेपानी आयोजनामा समस्या आएपछि खानेपानीको हाहाकार भएको गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले बताए ।

उनले भने, ‘पहिला मासिक तीन सय रुपैयाँ तिरेपछि एक महिना पानी खान पाइन्थ्यो । अहिले ट्यांकरमा पानी ल्याउनुपर्दा मासिक चार हजार खर्च हुँदै छ । १८ करोड रकम खर्च गरेर बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । उक्त आयोजनाको पानी खान नपाए पनि शुल्क भने हरेक महिना तिर्नुपर्छ । पानी सुचारु गर्ने विषयमा सरोकारवाला मौन छन् ।

धारामा खानेपानी आउन छाडेपछि दैनिक ट्यांकरबाट पानी मगाउनु परेको अर्का व्यापारी यज्ञराज बोकटीले बताए । उनले भने, ‘निर्वाचन नजिक आएकाले बजारमा मानिसको भीड बढेको छ । राजनीतिक दलका नेता, कार्यकर्तादेखि म्यादी प्रहरी तथा कृषि गणनाका प्रशिक्षार्थीहरू आएकाले बजारमा भीडभाड बढेको छ । पानीको अभावपुर्ति गर्न निकै समस्या छ ।’

सदरमुकाममा पानीको समस्या हुँदा सार्वजनिक शौचालयसमेत बन्द रहेकाले बजारमै खुला दिसा पिसाव गर्ने गरेको स्थानीय सुरेश बहादुर चन्दले बताए ।

नगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द भट्टले भने, ‘हामी खानेपानी बनाउन लागिपरेका छौँ । खानेपानीको मुहानमै पानीको मात्रा घटेको देखिन्छ । सबै उपभाेक्तालाई कसरी पर्याप्त खानेपानी पुर्‍याउन सकिन्छ, त्यसको पहलमा छु । म अध्यक्ष बनेको एक महिना मात्र पुग्दै छ । म सबै उपभोक्तालाई पानी पुर्याउन प्रतिवद्ध छु ।’

कोरोना महामारीमा क्रिस्चियन आइएनजीओको लगानी नेपालमा बढ्यो, दश आइएनजीओले करिव तीन अर्ब खर्च गर्दै

काठमाडौं । कोरोना महामारीको समयमा क्रिस्चियन धर्मसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आइएनजीओ)ले नेपालमा लगानी बढाएको पाइएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा ती आइएनजीओले नेपालमा खर्च गर्न करिव तीन अर्ब रुपैयाँ बजेट स्वीकृत गराएका छन् । समाज कल्याण परिषद्ले उक्त बजेट स्वीकृत गरेको हो ।

परिषद्का अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्ममा १० वटा क्रिस्चियन आइएनजीओको २ अर्ब ७४ करोड ५५ लाख ८४ हजार १० रुपैयाँ बजेट स्वीकृत भएको छ ।  स्वीकृत गरिएका कार्यक्रमहरु तीन महिनादेखि पाँच वर्षसम्मको अवधिका छन् ।

परिषद्का सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कूल ३३ आएनजीओको १४ अर्ब ६८ करोड ९५ लाख ३२ हजार ८४५ रुपैयाँ बजेट स्वीकृति भएको छ । कुल स्वीकृत बजेटमध्ये १८.६९ प्रतिशत हिस्सा किस्चियन आइएनजीको रहेको छ । क्रिस्चियन आइएनजिओहरुले विभिन्न ४० वटा जिल्लामा विकास कार्यक्रम सञ्चालन गर्न बजेट स्वीकृत गराएका हुन् ।

डडेलधुरा, बैतडी, डोटी, बझाङ, कञ्चनपुर, गोर्खा, पाल्पा, कैलाली, बर्दिया, रौतहट, धनुषा, सुनसरी, धादिङ, महोत्तरी, सिन्धुपाल्चोक, रोल्पा, प्युठान, सर्लाही, रुपन्देही, मुगु, सल्यान, बाँके, गोर्खा, तनहुँ, कास्की, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, झापा, दोलखा, लम्जुङ, पाल्पा, काभ्रे, मकवानपुर, बारा, पर्सा, परासी र कपिलवस्तु जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्न उनीहरुले बजेट स्वीकृत गराएका छन् ।

परिषद्ले द फिनिस इभान्जेलिकल लुथरन मिसन फिनल्याण्डको ४ करोड ७९ लाख ९७ हजार ६ सय रुपैयाँ, क्याथोलिक रिलिफ सर्भिसेज अमेरिकाको १६ करोड ८१ लाख ४४ हजार २५० रुपैयाँ, मर्सी क्रप्सको १८ करोड २६ लाख १३ हजार ६७९ रुपैयाँ र एड्भेन्टीस्ट डेभलेपमेन्ट एण्ड रिलिफ एजेन्सी इन्टरनेसनल इन नेपालको १९ करोड २१ लाख ८९ हजार १२१ रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

यस्तै, चाइल्ड फण्ड जापानको २१ करोड ७ लाख २७ हजार ८१७ रुपैयाँ, द लुथरन वल्र्ड फेडरेसन स्वीट्जरल्याण्डको १२ करोड ५३ लाख ३१ हजार १८० रुपैयाँ, लेटर–डे सेन्ट च्यारिटीजको २ करोड २३ लाख १५ हजार ८२६ रुपैयाँ र द लिप्रोसी मिसन इन्टरनेसनल नेपालको १ अर्ब ७१ करोड ६६ लाख ८८ हजार ६९९ रुपैयाँ बजेट परिषद्ले स्वीकृत गरेको छ ।

नेपालमा बेलाबेलामा आइएनजीओहरुमाथि क्रिस्चियन धर्म प्रचार गर्ने गरेको आरोप लाग्दै आएको छ । तर बजेट स्वीकृत गरिएका आइएनजीको कार्यक्रम धर्म प्रचार गर्ने उदेश्यले नभई विकासलाई लक्षित गरी आएको परिषद्ले जनाएको छ । ‘धर्म प्रचार गर्ने उदेश्यले ल्याइने कार्यक्रम र बजेट हामी स्वीकृत गर्दैनौं । जति पनि आइएनजीको बजेट स्वीकृत भएको छ ती विकास र नेपालको हित गर्ने खालका छन्,’ परिषद्का सूचना अधिकारी भट्टराईले न्युज कारखानासँग भने ।

जनमत पार्टी र नेपाल सरकारबीच वार्ता

काठमाडाैं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ । किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ । जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ ।

ओलीले घोषणा गरेको ‘सुखी गाउँ घले गाउँ’ कसरी जाने ?

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएकाे छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले  घलेगाउँलाई सुखी गाउँ घोषणा गरेको बताए  ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्रामीण पर्यटन घलेगाउँ बिश्वमै रमणिय ठाउँ भएको बताए । उनलेे भने घलेगाउले नयाँ बर्ष सगै नयाँ कामको थालनी भएको छ मलाई बिश्वास छ घलेगाउ बिश्वमै सुन्दर र नमूना पर्यटकीय गाउले परिचीत हुनेछ ।

गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’  घोषणा गरिएको  घलेगाउँ पर्यटन व्यवस्थापन समितिका  अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

२०४० को दशकसम्म दुर्गम, पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो,  घलेगाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर उकासिएको छ । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २३ वैसाख २०५७ मा प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।

घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो । २०६४ फागुनमा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै १७ मंसिर २०७६ मा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ । लमजुङ सदरमुकाम बेंसीसहरबाट डेढ घण्टामै मोटरमा पुगिन्छ । बेंसीसहरबाट घलेगाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ ।

एमालेबाट पाेखरा मेयरमा आकांक्षी सबैको नाम जिल्ला पठाइयो

पोखरा । एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेद्वार सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ । मेयरमा १२ र उपमेयरमा नाैजनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यतालिका सार्वजनिक गरेर पनि चुनावी प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमालेले मतदान नगरी नाम सिफारिस गरेको हो ।

‘अधिकांशको आवाज सर्वसम्मत गर्ने आयो । हलको बहुमत सर्वसम्मत सिफारिसमा आएपछि मतदान प्रक्रियामा लैजान सकेनौं,’ महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले भने, ‘अहिलेको अवस्थामा अरुसँग प्रतिस्पर्धा गर्नुपर्नेमा हामीबीचमै चुनाव हुँदा मन बाझिन सक्ने अवस्था टारेर सर्वसम्मत सिफारिस गरेका हौं ।’

उनले सर्वसम्मत निर्णमा हलको दबाब भने पनि बैठककक्षबाट निस्किएका अधिकांशले गलत बाटो अपनाएको भन्दै आक्रोश पोखेका छन् । ‘वडाबाट सिफारिस हुँदा तीनजनाभन्दा बढी नलिने महानगर कमिटीले आफ्नो सिफारिस चाहिँ यति धेरै गर्न मिल्छ ?,’  उनीहरूले भने, ‘केन्द्रको निर्देशनमा यो काम भएको छ । आफ्ना मान्छेले आन्तरिक चुनावमा नजित्ने देखेपछि सर्वसम्मतको नाटक गरियो ।’

कतिपय आकांक्षीसमेत मतदानको पक्षमा थिए । एक आकांक्षी दर्शन लामाले भने, ‘जे भइरहेको छ, यो गलत हो । मतदान गरेर जसले जित्छ उसैको नाम पठाएको भए हुन्थ्यो ।’ उनले आन्तरिक प्रतिश्पर्धालाई गलत हिसावले लिन नहुने तर्क गरे । गत मंगलबार मेयर र उपमेयरको आकांक्षीको नाम टिपेर पनि शुक्रबार पुनः मनोनयन गरिएको थियो ।

चार दिनसम्म सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रियाबाट उम्मेद्वार खोज्ने भनिएकोमा सबैको नाम माथिल्लो निकायमा पठाइएको हो । मंगलबार मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका थिए । आज मनोनयन भने आकांक्षीबाहेक अरुले पनि गरेका थिए ।

मेयरमा केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा-१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), नेताहरू पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका थिए ।

उपमेयरमा पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ र सुष्मा पौडेलले उम्मेद्वारी दिएका थिए । यसअघि आकांक्षा देखाएका बैनबहादुर अधिकारी क्षेत्री र हरिमाया गुरुङले भने मनोनयन दर्ता गरेनन् ।

बिग मुभिज, एफक्युज, बिएसआर मुभिज सिनेमा हल अनुसन्धानमा तानिए 

काठमाडौं । चलचित्र विकास बोर्डले तीनवटा चलचित्र हललाई कारबाहीका लागि सिफारिस गरेको छ । अनुमति नलिई तोकिएको समयभन्दा बढी हल खोलेको भन्दै विकास बोर्डले कारबाहीका लागि सिफारिस गरेको हो । चलचित्र विकास बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयलाई सिफारिस गरेको हो ।  बोर्डका अध्यक्ष दयाराम दाहालले मध्यरातमा अनुमति नलिई शो चलाउने तीनवटा हललाई कारबाहीका लागि सिफारिस गरिएको बताए ।

तीनै हलले मध्यरातमा साउथ इन्डियन चलचित्र ‘केजीएफ च्याप्टर-२’ चलाएका थिए । तोकिएको भन्दा शो थप्न चाहेको खण्डमा चलचित्र विकास बोर्डबाट पूर्वस्वीकृति लिनुपर्छ । तर, उनीहरूले अनुमति नै नलिई हल सञ्चालनमा ल्याएका हुन् ।

केजीएफ च्याप्टर-२ हेर्ने दर्शकको अत्यधिक भीड भएपछि उनीहरू राति १ बजे र ३ बजेका लागि शो थप गरेका थिए ।अनुमतिबिना हल सञ्चालन गरेका उनीहरूले तोकिएकोभन्दा बढी टिकट शुल्क लिएका थिए । टिकटमा शुल्कसमेत उल्लेख नभएकाे पाइएकाे छ । बोर्डले आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारवाहीका लागि सिफारिस गरिएको अध्यक्ष दाहालले बताए ।

राति खोलिएको हलमा दर्शकहरू मदिरा सेवन गरेरसमेत आएका थिए । उनीहरूले मदिरा सेवन गरेर हलमा पुग्दा पनि रोक्न नसकेको, हलहरूले बिहानको शोमा छुट दिनुपर्नेमा नदिएको, सिटभन्दा बढी दर्शकलाई प्रवेश दिएकोलगायतका गुनासा बोर्डमा आएका थिए । सोही आधारमा बोर्डले कारबाही सिफारिस गरेको हो ।

बक्स अफिस सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि २०७६ ले सिनेमा हलको नियमन गर्दै आएको छ । सो कार्यविधिअनुसार बक्स अफिस सञ्चालनमा रिर्पोटिङ गरे नगरेको, बक्स अफिसको सफ्टवेयरअनुसार टिकेटिङ गरे नगरेकोलगायतका विषय बोर्ड हेर्छ ।

यसका साथै अतिरिक्त टिकट बिक्री गरेको, काटिएको बिल बराबरको भ्याट रकम बोर्डमा गणना भए नभएको विषयमा भने राजश्व विभागले छानबिन गर्छ । अनुगमनको क्रममा देखिएको गल्तीका विषयमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाही अगाडि बढाउँछ । बोर्डले थप शो चलाएको विषयमा राजश्व विभागलाई र मादक पदार्थ सेवन गरी होहल्ला गरेको विषयमा अनुसन्धानका लागि जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो ।

हलले अनियमितता गरेकाे पुष्टि भएमा ठाउँकाे ठाउँकाे कारबाही गर्न सक्ने, सिनेमा हल बन्द गर्न सक्ने तथा पाँच लाख रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ ।

समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। समिति ५६ सदस्यीय रहेको छ । आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ ।