समाचार | Page 2023 of 5928 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

समाचार

म्याग्दीमा पाँच दलीय गठबन्धन

पोखरा । म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यहाँ ६ वटा पालिका छन् । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा बिहीबार कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले साझा उम्मेद्वार घोषणा गरेर जाने सहमति गरेका हुन् ।

वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्वारको टुंगो लाग्ने नेताहरूले बताएका छन् । चुनावी तालमेलका लागि जिल्ला र पालिकास्तरीय संयन्त्रसमेत निर्माण गरिएको छ । बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजवादीबाट देवेन्द्रबहादुर विश्वकर्मा र राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छवि विश्वकर्मा सहभागी थिए ।

२०७४ को निर्वाचनमा जिसस उपप्रमुखसहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा कांग्रेसले जितेको थियो । पाँचवटा वडामा माओवादी केन्द्र विजयी भएको थियो । बाँकी पालिकाको प्रमुख, उपप्रमुखसहित वडाहरू एमालेले जितेको थियो भने २ वडा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए । बेनी नगरको उपप्रमुख एमालेको समर्थनमा राप्रपाले जितेको थियो ।

नवनियुक्त कानुनमन्त्रीको दल बदल : नेमकिपाबाट एमाले हुँदै नेकपा एस पुग्दा मन्त्री

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छाडेर २०४८ अघि नेकपा एमालेमा जोडिएका थिए, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी । संघीय संसद्को निर्वाचनमा समेत उनी २०४८ मा प्रतिस्पर्धी बने । तर, पराजित हुन पुगेका थिए । उनको घर दैलेख हो । बाँकेको नेपालगञ्जमा केही वर्ष वकालत गरेर उनी काठमाडौंमा छिरेका हुन् ।

हाल उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)निकट छन् । नेकपा विभाजनको क्रममा उनी उक्त पार्टीका एक जना अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै नेकपा विभाजित हुँदा एमालेमै रहे पनि अन्ततः २ भदौमा नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गर्दा नेपालनिकट हुन पुगेका हुन् ।

काठमाडौंको अनामनगरमा उनको ‘ल फर्म’ छ । एमाले निकट कानुन व्यवसायीहरूको संगठनमा आबद्ध हुँदै नेपाल बार एसोसिएसनको उपाध्यक्ष पनि भए । १० वर्षे सशस्त्र विद्रोहपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) शान्ति प्रक्रियामा आउँदा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बन्दीले अनेक युद्ध अपराधसम्बन्धी मुद्दा मामिला गरे ।

तर, हाल तत्कालीन प्रधानमन्त्री केपी ओलीले ५ पुस र ८ जेठको प्रतिनिधिसभा विघटन गर्दा मुद्दाको पक्षबाट बहस गरेका थिए । मुद्दाको पक्ष वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेता नेपालसहित १३९ जना सांसद थिए । मुद्दा पनि पक्षले जित्यो । यसपछि गठबन्धनका नेतहरूसँग उनले मन्त्रीका लागि आन्तरिक रूपमा छलफल तीव्र पारेको उनी निकट एक कानुन व्यवसायी बताउँछन् ।

‘उहाँ अस्ति गजेन्द्रबहादुर हमाल मन्त्री हुनेबेलामै मन्त्री हुने अवस्थामा हुनुहुन्थ्यो र बढी विवाद पनि भयो । त्यसले गर्दा रोकिएको थियो । अहिले उहाँ मन्त्री हुनुभयो’, ती कानुन व्यवसायीले भने । बन्दीले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रस्तावलाई १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पास गराउन भूमिका खेलेको पनि बताउँदै आएका छन् । र, उनी एकीकृत समाजवादीका अध्यक्ष नेपालका सम्धी सोमप्रसाद पाण्डेका ज्वाइँ हुन् ।

विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन छलफल

पोखरा । विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका म्यानेजर सेल्मा, आईएफसी नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानीको टोलीले गण्डकीमा लगानी भित्र्याउने विषयमा छलफल गरेका हुन् ।

उनीहरूले प्रदेशको प्राथमिकता पर्यटन भएकोले यही क्षेत्रमा निगमले लगानीका लागि आह्वान गर्ने र विभिन्न कार्यक्रम सन्चालन गर्ने बताए । ‘हामीले लगानीको अवसर खोजेका छौं । गण्डकीको ऊर्जा र पर्यटनमा लगानी धेरै आउन सक्छ,’ सेल्माले भनिन्, ‘अहिले यहाँको पर्यटन जोखिममा परेको छ । यसलाई पुनरुत्थानका लागि निगमले केही गर्ने कि भन्ने सोचेको छ । तर, सरकारको सुझाव आवश्यक पर्छ ।’

सरकारकै प्राथमिकतामा आफुहरू योजना बनाउने सेल्माले बताइन् । अहिलेको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रिय लगानी अति आवश्यक रहेको भन्दै त्यसअनुकुल व्यवस्था गर्न उनको सुझाव छ । अर्थमन्त्री रामजी बरालले सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताए ।

‘प्रदेश सरकार लगानीको वातावरण विकास गर्ने क्रममा नै रहेको छ । त्यसका लागि आवश्यक नीति र कार्यक्रम तयार गर्दै छौँ,’ उनले भने, ‘आधुनिक कृषि प्रणालीको विकासका लागि निजी क्षेत्रसँग साझेदारी गरेर जाने सोचेको छ । स्वास्थ्य र शिक्षाको सुविधा विस्तार, जलविद्युत् निर्माण र बजारीकरणमा सरकारले चासो दिएको छ ।’

उनले सरकारको व्यवसायिक प्रबर्द्धनमा आईएफसीको सहयोग पाउने विश्वास राखे । आउँदो वर्षको बजेट निर्माणमा यसलाई प्राथमिकताका साथ अघि बढाउने बरालको भनाइ छ ।

फेवातालको मापदण्ड परिवर्तन : किनारका सांसद मौन, बाहिरकाले उठाए आवाज

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड ३० मिटर तोकेको छ । कार्यपालिकाको अन्तिम बैठकबाट मेयर मानबहादुर जिसीको अध्यक्षमामा तालको मापदण्ड ३० मिटर तोकिएको हो । यसअघि ६५ मिटर भनिएको मापदण्ड घटाएर ३० मिटरमा झार्दा कास्कीका कुनै पनि जनप्रतिनिधिहरू बोलेका छैनन् । जो बोलेका छन्, उनीहरू कि पोखरा बाहिरका छन्, कि राजनीति बाहिरका छन् ।

सधैँभरि फेवाताल संरक्षणको आवाज बुलन्द गर्ने किनारका सांसद राजीव पहारी अहिले मौन छन् । सानो घटनामा समेत सामाजिक सन्जालमार्फत आफ्ना विचार राख्ने उनले तालको मापदण्डबारे कुनै टिप्पणी गरेका छैनन् । ताल किनारकै मन्त्री रामजी बरालसमेत यसमा मौन छन् ।

यद्यपि, ताल संरक्षण र मापदण्डका विषय अहिले गण्डकी प्रदेशसभामा प्रवेश पाएको छ । जनमोर्चाकी सांसद (बागलुङ) पियारी थापाले तालको मापदण्ड घटाउनु निकै दुखद् भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘फेवातालमा ६५ मिटरलाई घटाएर ३० मिटरमा झारिएको छ । सर्वोच्चको फैसलाविरुद्ध महानगरले मापदण्ड बनाएको छ । तालको संरक्षण गर्न अतिक्रमित संरचना हटाएर सौन्दर्यीकरण कायम गराउनु तीनै तहको सरकारको दायित्व हो,’ उनले भनिन्, ‘आजको सम्पदा जति छ, सकेसम्म बढाउने नत्र जस्ताको त्यस्तै राख्नुपर्छ । मापदण्ड घटाएर सार्वजनिक जग्गा अतिक्रमण गर्ने अतिक्रमणकारीलाई प्रश्रय मिलेको छ । प्रदेश सरकारको ध्यान पुगोस् ।’

जवाफ दिँदै ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले मापदण्ड तोक्ने अधिकार महानगरलाई भएकोले आफुहरुको खासै भूमिका नरहेको बताए । ‘फेवाताल, वेगनासताल लगायत अरु तालहरू छन् । हामीले सरकारको तर्फबाट सिँचाइ क्षेत्रको अतिक्रमण र ताल क्षेत्रको अतिक्रमण रोक्नका लागि पहल गरेका छौं । मापदण्डविपरीत हाइड्रो पावरले बिजुलीको पोल गाड्ने, जनताका घर त्यहिँ बन्ने । सरकारी भवनहरु त्यहीँ बनेको छ,’ उनले भने, ‘असोजमा हामीले बैठक राखेर जिल्ला प्रशासन, तालुकदार निकाय, सिँचाइ कार्यालय र महानगरपालिकालाई ध्यानाकर्षण गरायौं । अतिक्रमण भएका ठाउँलाई तत्काल रोक्ने काम गर्दै आएका छौं । तर, मापदण्ड तोक्ने दायित्व पोखरा महानगरको हो ।’

उनले तालको मापदण्ड ६५ मिटर भनिएपनि व्यवस्थित हिसावले कानुनमा नसमेटिएको तर्क गरे । ‘६५ मिटर भनेर राज्यले घोषणा गर्‍यो । तर, व्यवस्थित कानुन बनेर आएको देखिँदैन । सर्वोच्चले पनि छिटोभन्दा छिटो मापदण्ड तोकेर कार्यान्वयन गर्नु भनेको छ,’ आचार्य भन्छन्, ‘महानगरसँग धेरै पटक छलफल भयो । अतिक्रमित संरचना भत्काउने अधिकार महानगरलाई छ, संरक्षण प्रदेश सरकारले गर्ने हो । अतिक्रमण भएको ठाउँमा भत्काउनुपर्छ भन्ने मान्यता हाम्रो हो ।’ मापदण्डका विषयमा सरोकारवालासँग थप छलफल गर्ने उनले बताए ।

महानगरले फेवातालकाे मापदण्ड ३० मिटर ताेकेकाे छ भने रुपा र बेगनासकाे ५५ मिटर तथा साना तालहरुमा २० मिटर मापदण्ड लगाउने निर्णय गरेकाे छ ।

बेवारिसे अवस्थाका सात वटा बुलेट बाइक बरामद 

काठमाडौं । प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान रोयल ईन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न करिब २१ लाख मूल्य बराबरका बुलेट बाइक बरामद गरेको हो ।

भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सात थान बुलेट बाइक बरामद गरेको हो । बरामद मोटरसाइकललाई आवश्यक कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको महाशाखाले जनाएको छ । सबै बाइकमा नक्कली नेपाली नम्बर राखिएको थियो ।

निर्वाचन आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण 

काठमाडौं । नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटी देखिएको र ति त्रुटी सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए ।

एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामी आचारसंहिता पालना गर्छौ । त्यसभित्रका केही बुँदामा हाम्रो विमती हो । त्यसबारे आयोगको ध्यानाकर्षण गराएका छौं ।’ महासचिव पोखरेलले भने ।

एमालेले निर्वाचन प्रचार प्रसार सामाग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलको भनाइ छ ।

एमालेले आचारसंहितामा उम्मेदवार, दल र दलका भातृ संगठनहरूले प्रचार प्रसार गर्न नपाउने, जनप्रतिनिधिहरूले पनि प्रचार गर्न पाउने लगायतका बुँदामा आपत्ति जनाउँदै आएको छ ।

प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिन्छौँ : महेश बस्नेत

चितवन । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नेतले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताए ।

‘प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्राको टिकट काटिदिने भन्ने छ’, उनले भने । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पिँध नभएको लोटा जस्तै भएको उनले टिप्पणी गरेका छन् ।

छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनि उनले व्यंग्य गरे । गठबन्धनलाई धम्काउन एमालेलाई प्रयोग गर्न सजिलो नभएको भन्दै उनले चुनावमा बाबु छोरी मिलेर आएपनि साइजमा राख्ने बताए ।

एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए । एमालेले एक्लै चुनावमा जाने बताएपनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनले बताए ।

अस्ट्रेलियाले लगायो ६७ रुसीमाथि प्रतिबन्ध

एजेन्सी । युक्रेनमाथि रुसी आक्रमणको विरोधमा अस्ट्रेलियाले ६७ रुसीमाथि प्रतिबन्ध लगाएको छ । युक्रेन हमलाको विरोधमा उनीहरूलाई प्रतिबन्ध लगाइएको अस्ट्रेलियाकी विदेशमन्त्री मारिस पेनीले जानाकारी दिइन् ।

‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका अपमानजनक कार्यहरूलाई सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र कुलीनविरुद्ध प्रतिबन्धहरूको घोषणा गर्दैछु’, ब्राजिलको राजधानी ब्रसेलमा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।

रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको रुसले बताउँदै आएको छ । युक्रेनमाथिको रुसी हमला पछिल्लो समयमा पूर्वतर्फ केन्द्रित छ । रुसले दोनबासमा हमलाको तीव्र तयारी गरेको विवरणहरू सार्वजनिक भएका छन् । रुसी सेना पूर्वीयुक्रेनतर्फ बढ्दै जाँदा युक्रेन आफ्ना नागरिकहरूलाई दोनबासबाट सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरेको छ । रुसी हमलाका कारण युक्रेनबाट ४२ लाख मानिसहरूले देश छाडेका छन् ।

तनहुँका अधिकांश स्थानीय तह प्रमुखकाे दाेहाेरिने चाहना

तनहुँ । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् ।  यही क्रममा तनहुँमा कांग्रेसले आकांक्षीहरूको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी  पार्टी र राप्रपालगायतका दल पनि उम्मेदवार छनोटको गृहकार्यमा छन् । उम्मेदवारी दिने र उम्मेदवारीम आकांक्षा राख्नेमा अधिकांश स्थानीय तहको प्रमुख नै छन् । सबै जसो स्थानीय तहका प्रमुखले दोहोरिने चाहना राखेका छन् । टिकट कसकाे पोल्टामा पर्ने हो त्यो उम्मेदवारी दर्तापछि मात्रै टुंगो लाग्नेछ ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले फेरि दोहोरिने इच्छा देखाएका छन् । उनले नेपाली कांग्रेस व्यास नगर कार्य समितिमा मेयर बन्ने आकंक्षा देखाउँदैैँ आवदेन दिएका छन् । उनीसँगै मेयर बन्ने दौडमा कांग्रेसका १५ जना छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेदेखि पत्रकार डम्मरबहादुर अधिकारी व्यासको मेयर बन्ने दौडधुपमा छन् ।

शुक्लागण्डकीका मेयर किसान गुरुङले पनि फेरि एक पटक मेयर हुने आकांक्षा देखाएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट शुक्लागण्डकीको मेयरमा बलियो दाबेदार भएको राजनीतिक वृत्तमा चर्चा छ ।

भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले पनि एक कार्यकाल दोहोर्‍याउने मनस्थिति बनाएर लबिङ गरिरहेका छन् । आफू बलियो उम्मेदवार भएकाले यसपालि टिकट पाउनु पर्ने मेयर थापाको माग छ । ‘कोरोना महामारीले धेरै काम गर्न पाइएन् । दुई वर्षको समय कोरोनाले नै  खायो । एक पटक फेरि मलाई दिनुपर्छ भन्ने छ उहाँको माग,’ नेकपा एमाले भिमाद स्रोतले भन्याे ।

भानु नगरपालिकाका मेयर उदयराज गौलीले भने दोहोरिने इच्छा देखाएका छैनन् । भानु नगरपालिबाट प्रमुख र उपप्रमुखको आकांक्षीहरूको नामावली संकलनमा उनले भने बुधबार नाम दर्ता नै गराएनन् । उनको चाहाना जिल्ला समन्वय समितिमा जाने बुझिन्छ । भानु नगरपालिका–११ को वडा सदस्य हुँदै जिल्ला समन्वयमा जाने तयारीमा लागेको चर्चा छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पनि फेरि इच्छा देखाएकी छिन् । उनी जिल्लाको १० स्थानीय तहमा एक मात्र महिला प्रमुख हुन् । म्याग्देमा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको पनि यसपालि अध्यक्ष बन्न जोडबल गरेका छन् ।

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको फेरि दोहोरिने इच्छा छ । नेपाली कांग्रेसको पकड मानिएको ऋषिङमा उनी मात्रै नभएर संविधानसभा सदस्य झुलबहादुर आलेसहित १३ जनाले अध्यक्षमा इच्छा जाहेर गरेका छन् ।

घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाको पनि दोहोरिने इच्छा छ । उनले पार्टीमा दावी पनि गरेका छन् । ‘फेरि अध्यक्ष हुने आफूमा मात्रै भर पर्दैन् । पार्टीले, जनताले अनुमोदन गर्नुपर्‍यो,’ उनले भने । पार्टीले जिम्मेवारी दिएमा फेरी अध्यक्ष बन्न तयार रहेकाे उनको भनाइ छ । ‘रोएर पद लिने हाेइन्’, उनले सुनाए । कोरोनका कारण अपेक्षित काम गर्न नपाएकाले पार्टी र जनताले एक पटक अवसर दिए विकास गरेर देखाउने उनको भनाइ छ ।

देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा पनि दोहोरिनलाई पार्टीमा दावी गरिरहेका छन् । उता

आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा पनि फेरि एक पटक दोहोरिने मनस्थितिमा छन् ।  ‘फेरि पनि अध्यक्ष बनेर जनताको सेवा गरु भन्ने हो’, उनले संक्षिप्त प्रतिकृया दिए ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा पनि दोहोरिन चाहन्छन् । उनले आफू दोहोरिनलाई माहोल पनि बनाइरहेका छन् । तर, दोहोरिने नदोहोरिने पार्टीको निर्णयमा भर पर्ने उनको प्रतिक्रिया छ । ‘नेतृत्वमा दोहोरिने मेरो व्यक्तिगत चाहनामा भर पर्दैन् । हामी राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने भएकाले दलको दिशानिर्देश पालना गर्नुपर्ने हुन्छ । आगामी दिनमा कसरी अगाडि बढ्ने पार्टीको निर्णयमा नै भर पर्छ,’ उनले भने ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो । पाँच स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले एक एक स्थानीय तहमा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको हो ।

व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले प्रमुख उपप्रमुख दुवै पदमा जितेको हो । शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भए थिए । ८५ मध्ये ५० वडाको वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको पल्लाभारि भएको थियो ।

एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जित्यो । देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्न सफल भयो ।  ३० वडामा वडाध्यक्ष एमालेले जितेकोमा तीन जना वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख सहित जिल्लाका पाँच वडामा वडाध्यक्ष जितेको थियो ।   यसपालि जिल्लामा चार दलिय गठबन्ध मिलेर स्थानीय तहको निर्वाचन लड्ने निर्णय गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर स्थानीय तहको निर्वाचन लड्नलाई कार्यदल नै बनाउने सहमति गरेका छन् ।

साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो, जुवातास खेलेको आरोपमा करिव १० हजार पक्राउ 

काठमाडौं । बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको विभागले जनाएको छ । सो मुल्यमा ९४ लाख २ हजार १०७ प्याकेट तास भित्रिएको छ । ती तास भित्राउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको छ । नेपलमा चीन, फ्रान्स, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ ।

पछिल्लो सात महिनामा चीनबाट १७ करोड १८ लाख ६८ हजार रुपैयाँमा ७७ लाख ७१ हजार १३४ प्याकेट तास नेपाल आएको छ । सोही समयमा भारतबाट १ करोड ४७ लाख ७१ हजार रुपैयाँमा १६ लाख ३० हजार ९२१ प्याकेट तास नेपाल भित्रिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास नेपालले आयात गरेको थियो । यस वर्ष चीनबाट मात्र २६ करोड ३२ लाख ४ हजार रुपैयाँको तास नेपालमा आएको थियो । ब्राजिल, जर्जिया, बेलायत, अष्ट्रेलियाबाट पनि यस वर्ष तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट तास नेपाल भित्रिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा निकै कम तास नेपाल भित्रिएको थियो । उक्त वर्ष २५ हजार रुपैयाँको तास मात्र नेपाल भित्रिएको थियो । त्यसपछिका वर्षहरुमा भने तास ठूलो मात्रामा नेपाल भित्रदै आएको विभागको तथ्याङ्कले देखाउँछ ।

भन्सारको तथ्याङ्कले वर्षेनी करोडौं रुपैया तास आयात गर्दा विदेशीने गरेको देखाएको छ ।

जुवातास खेलेको आरोपमा करिव १० हजार पक्राउ 

तासकै कारण नेपालमा वर्षेनी सयौं जना पक्राउ पर्ने गरेका छन् । प्रहरीले जुवातास खेलेको आरोपमा उनीहरुलाई पक्राउ गर्ने गरेको छ । पछिल्ला वर्ष वर्षेनी तीन हजारभन्दा बढी व्यक्तिहरु जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा २८६९, २०७६/७७ मा ३ हजार ५८४ र २०७७/७८ मा ३ हजार ४५६ जना व्यक्ति जुवातास खेलेको आरोपमा पक्राउ गरेका थिए । अर्थात पछिल्लो तीन आर्थिक वर्षमा जुवातास खेलेको आरोपमा प्रहरीले ९ हजार ९०९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ३३१ जना महिला रहेका छन् ।

मोरङमा ४८ वर्षीया महिला बलात्कृत 

मोरङ । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक सानेपामा

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा डा.आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् । आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकाका एजेन्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए । समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।

कांग्रेस चितवनका नेताले रामचन्द्र पाैडेललाई भेटेर भने- भरतपुर प्रमुख कांग्रेसले छोड्दैन

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली कांग्रेस चितवनले दबाब बढाउँदै लगेको छ । महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीयस्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका छन् ।

चितवन कांग्रेस सभापतिसहितका नेताहरूले बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।

वरिष्ठ नेता पौडेल सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत हुन् । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए ।

‘उहाँले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभयो । चितवनको सन्दर्भमा धेरै जानकार पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ’, श्रेष्ठले भने । केन्द्रीय नेताहरूलाई भेट्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, नेता दिनेश कोइरालालगायतका नेता काठमाडौँ पुगेका छन् ।

पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । देउवालाई पनि भेटेर चितवन कांग्रेसले गरेको निर्णयबारे जानकारी गराइने श्रेष्ठले बताए ।

‘भरतपुर महानगरमा मेयर पद कुनै पनि हालतमा छाड्न सकिँदैन । गठबन्धनको हामी विरोधी होइन’, उनले भने, ‘केन्द्रीय समितिकै निर्णय छ नि आवश्यकता र औचित्यका आधारमा निर्णय गर्ने भनेर । चितवनको आवश्यकता भनेकै भरतपुरको मेयर हो । गठबन्धन गर्दै गर्दा मेयर हामीलाई छोड्न पर्‍यो भन्ने अन्तिम बटमलाइन हो ।’

जिल्लाका सातवटै पालिकामा सत्ता गठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन कांग्रेस छ । माओवादी केन्द्र पनि महानगर प्रमुख आफूले पाउने गरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।

१२ वर्षपछि जयबागेश्वरीमा शुक्रबारदेखि हरसिद्धि जात्रा सुरु हुने 

काठमाडौं । काठमाडौँको जयबागेश्वरी २५ चैतदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । लामो समयदेखि १२/१२ वर्षमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।

जात्रा बाह्र वर्षपछि २५ देखि २८ चैतसम्म चार दिन जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलिप वैद्यले बताए । जात्रालाई सहज ढङ्गले सञ्चालन गर्नका लागि समिति गठन गरिएको छ । २०६६ सालदेखि जनसहभागिताबाट रकम सङ्कलन गरी जात्रा सञ्चालन गरिँदै आइरहेको छ ।

लामो समयसम्म रोकिएको जात्रा २०६६ सालबाट जनसहभागितामा जात्रा आयोजना गर्दै आइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले बताए । यसपटक जात्राका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेको वैद्यले बताए ।

२५ चैत दिउँसोबाट जात्रा विधिवत् रूपमा सुरूवात गरि २६ र २७ गते हरसिद्धि डबली, जयबागेश्वरी डबलीमा नाच प्रदर्शन गरिनेछ । यस्तै २८ चैतमा हरसिद्धिको पूजापश्चात जात्रा सम्पन्न हुनेछ ।

त्रिशक्ति हरसिद्धिको बास बसुञ्जेल अन्य बाजा बजाउन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।

हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । काठमाडौँको जयबागेश्वरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको क्षेत्र हो ।

ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु 

ललितपुर । ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । पैदल हिडीरहेका बालकलाई घारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।

दमकमा ट्रयाक्टर दुर्घटन हुँदा एकजनाको मृत्यु 

झापा । झापाको दमक नगरपालिका–१० जहदामा बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अंदाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन् । घाइते उनको उपचारको क्रममा दमक स्थित एडभान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो । ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।