समाचार | Page 2022 of 5928 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

समाचार

राष्ट्र बैंकका कर्मचारीले नै चुहाउँछन् मिडियामा गोप्य सूचनाः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।

‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्‍याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’ यसअघि अर्थमन्त्री शर्माले व्यापारी शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैंकले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन आफूले सहजीकरण गरिदिएको प्रतिक्रिया दिएका थिए ।

मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पु¥याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने दाबी पनि गरे । ‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ।’

नलगाड जलविद्युत् : ८० महिना पनि बनेन डीपीआर 

सुर्खेत । ३२ महिनाभित्र सक्नुपर्ने नलगाड जलविद्युत कम्पनी लिमिटेडको ४१७ मेगावाट आयोजनाको डीपीआर ८० महिना भइसक्दा पनि बन्न सकेको छैन । यस विषयमा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जाविकास मन्त्री गणेशप्रसाद सिंहले सरोकारवालासँग छलफल गरेका छन् ।

३२ महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काम करिब ८० महिना पुगिसक्दा पनि कन्सलटेन्टले प्रतिवेदन नबुझाएपछि मन्त्री सिंहले चासो राखेका हुन् । उनले अबको तीन महिना डीपीआरको प्रतिवेदन बुझाउन कन्सलटेन्टलाइ निर्देशन दिएका छन् ।

८० महिनासम्म डीपीआरको प्रतिवेदन बुझाउन नसकेको डीपीआर निर्माणको जिम्मेवारी लिएको स्मेक कम्पनीको म्याद थप गर्ने विषयमा समेत मन्त्री सिंंहले छलफल गरेका छन् ।

तीन महिना भित्र काम पूरा गर्ने र सन्सलटेन्टलाइ भुक्तानी गर्नुपर्ने रकम समेत समयमै भुक्तानी गर्ने विषयमा समेत छलफल भएको छ । छलफलमा मन्त्री सिंहसहित स्मेक कन्सलटेन्टको नेतृत्वकर्ता राजेश डार्मिन नेतृत्वको टोली र कम्पनीका प्रमुख सुनिल पौडेलको सहभागीता थियोे ।

हप्ता दिनभित्र नलगाड जलविद्युत कम्पनी लिमिटेडले मन्त्री सिंहको निर्देशनअनुसार आफूहरू काममा जुटिसकेको कम्पनीका प्रमुख पौडेलले जानकारी दिए ।

त्यस्तै ७.१ मेगावाट क्षमताको  ताक्सुगाड जलविद्युत आयोजना निर्माणका लागि डीपीआरको काम तीन महिनाभित्र सक्न मन्त्री सिंहले निर्देशन दिएका छन् । ताक्सुगाड जलविद्युत आयोजना जाजरकोट नलगाड नगरपालिका भित्र नै पर्दछ ।

लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग

ललितपुर । ललितपुर चेम्बर आफ कमर्सले ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ ।

ललितपुर चेम्बरको दोस्राे साधारण सभामा शुक्रबार अध्यक्ष पुष्परत्न शाक्यले आठबुँदे माग राख्दै कोरोना प्रभावित उद्यमीलाई निकासीजन्य हस्तकलालगायत सरसामानमा प्रोत्साहन अनुदान दिन ललितपुरका व्यवसायीहरूको सर्टिफिकेट अफ ओरिजिन सिफारिस ललितपुर चेम्बरबाट गर्ने व्यवस्था मिलाउन, निर्यात वस्तुमा जिएसए लागू गर्न, महानगरपालिकाको स्वामित्वमा रहेको पसल कवल तीनवटा चेम्बरको हस्तकला प्रदर्शनीका लागि उपलव्ध गराउन,चेम्बरको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउनेलगायतका माग राखेका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले संघीय सरकारले सकेको सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘ललितपुर महानगरले पनि उद्योगी व्यवसायीहरूलाई आवश्यक सहयोग गर्न सक्ने हुँदा समन्वय गरेर काम गर्नु होला ।’

ऊर्जामन्त्री भुसालले व्यवसायीहरू राजनीतिक दल जस्तो झगडा नगरी मिलेर अघि बढ्नुपर्ने बताइन् । उद्यमी व्यवसायीको काँधमा देशको अर्थतन्त्रलाई कायापलट बनाउने जिम्मेवारी रहेकाले मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । मन्त्री भुसालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बरजस्ता धेरै संघसंस्थामा उद्योगी व्यवसायी बाँडिएर काम गर्नुभन्दा मिलेर अघि बढ्दा फाइदा हुने बताइन् ।

ललितपुर महानगरकी उपमेयर गीता सत्यालले व्यवसायीहरूले उत्पादन गरेका वस्तुहको बिक्री तथा प्रवर्द्धनका लागि बिक्री कक्ष निर्माण गरी उपलव्ध गराउने निर्णय भइसकेको बताइन् । उनले भनिन्, ‘कार्यान्वयनका लागि पहल गर्न अघि बढ्नुस् ।’

कार्यक्रममा फोटोपत्रकार अशोक दुलाल र पत्रकार शरद ओझलाई पत्रकारितामा उत्कृष्ट योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट 

सुर्खेत । दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेताहरू नमुना बस्तीमा पुग्छन् र समस्या समाधान गर्ने आश्वासन  दिन्छन् । चुनावी एजेण्डा बनाउँछन्, चुनाव जित्छन् । उनीहरू फर्किएर आउँदैनन् र समस्या ज्यूँकात्यूँ रहेका हुन्छ । वर्षाैँदेखि यही पीडाबाट गुर्जिरहेका छन्– नारायण नगरपालिका ६ स्थित नमुना बादी समुदाय ।

हरेक निर्वाचनमा आफ्नो बस्तीको एजेण्डा बने पनि समाधान भने हुन नसकेको राजन बादी बताउँछन् । ‘लालपुर्जाविना यहाँ बस्न थालेको १८ वर्ष बित्यो,’ उनले भने, ‘अहिलेसम्म नेताहरूको कमाइ खाने भाँडो र चुनावी एजेण्डा मात्र भयौँ ।’

दैलेखको नारायण नगरपालिकास्थित नमूना बस्तीमा बस्दै आएका ५१ घरपरिवार रहेका बादी समुदायलाई १८ वर्ष बितिसक्दा पनि सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन । सदरमुकामसमेत रहेको नारायण नगरपालिका –६ गणेशचोकको पछाडि भिरालो जग्गामा ५१ घरधरी बसोबास गर्दै आएका छन् ।

तत्कालीन द्वन्द्वकालमा राज्य र माओवादी दुवै पक्षबाट असुरक्षित भएपछि उनीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट ल्याएर उक्त ठाउँमा राखिएको थियो । अहिले उनीहरू बिहानदेखि साँझसम्म अरूकै घरमा ज्याला मज्दुरी गरेर साँझ बिहानको छाक टारिरहेका छन् । अहिले उनीहरूसँग न त जमिन छ, न त आफू बस्ने घरको जमिनको लालपुर्जा नै छ । जब–जब चुनाव आउन थाल्छ, तब–तब नेताहरू बस्तीमा पुग्छन् र भन्छन, ‘हामीलाई भोट दिनुहोस्, तपाईँको अमूल्य भोटले हामीले जित्यौँ भने तपाईँका समस्या हल गर्नेछौँ ।’ तर, जितेपछि फर्केर आउदैनन् ।

आशा निराशामा परिणत हुँदै

स्थानीय सरकार आएपछि नमूना बस्तीका बादी समुदायलाई आफ्ना दैनिकी फेरिने आशा थियो । तर, उक्त आशाहरू सबै निराशामा परिणत हुँदै गएको बादी समुदायकी अगुवा गीता बादी बताउँछिन् ।  ‘सरकारले आश्वासन दिएअनुसार नै लालपुर्जा मात्र दिएको भए पनि गाँस र कपासको त व्यवस्था आफैँ गरिहाल्ने थियौँ,’ उनले भनिन्, ‘१८ वर्षदेखि बसोबास गरेको जग्गा आफूहरूले नै प्रयोग गर्न पाउनु पर्छ ।’

बस्तीका सबै एकजुट भएर हाम्रा माग पूरा नभएसम्म कसैलाई भोट दिदैनौैँ उनले बताइन् । नमूना बस्तीकै गोरबहादुुर बादीले पनि यसअघि भएका निर्वाचनका बेला नेताहरूले पटकपटक बस्तीमा आई झुक्याएकोले अब काम नगरी भोट नदिने बताए ।

यहाँका समुदायको दैनिकी बिहान साँझ छाक टार्नका लागि दिनभर सदरमुकाममा आउने ठूलाठूला मालबाहक गाडीहरूमा आएको समान लोड अनलोड गरेर कमाएको थोरै पैसाले छाक टार्दै आएका छन ।

लालपुर्जा नहुँदा सेवासुविधाबाट बञ्चित

लालपुर्जा नभएकै कारण यहाँका नागरिकले सरकारले दिने विभिन्न सेवासुविधाबाट पनि वञ्चित हुँदै आउनु परेको छ ।  राष्ट्रिय भूमि आयोग दैलेखका अध्यक्ष नयाँराम थापाले भूमिहीन नागरिकले छिटै लालपुर्जा पाउने बताए । ‘स्थानीय सरकारको वडादेखि जति छिटो विवरण आयोगको जिल्ला समितिमा प्राप्त हुन्छ,’ उनले भने, ‘त्यहीअनुसार तत्काल भू–स्वामीत्वविहीन नागरिकहरूले जग्गाको लालपुर्जा पाउनेछन् ।’

३५ दिने सुचना मागेर दुई किसिमको फारम भरिसकेपछि   आयोग विगठन भएको नारायण नगरपालिका मेयर रत्नबहादुर खड्का बताउँछन् । अहिले पुन आयोग गठन भएपछि भुमि आयोगको केन्द्रीय कार्यालयमा पुगेर सम्झौता गरेर आएको बताएका मेयर खड्का बताउँछन्, ‘पालिकास्तरीय बैठक बसेर ३५ दिने सूचनाको लागि थप म्याप गरेर सुचना खुलेको छ ।’

उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन

सप्तरी । चार दिन मनाइने चैते छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर शुक्रबार बिहान सम्पन्न भएको छ। परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न गरेका हुन्।

छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने गरिन्छ । पहिले छठ चैत महिनामा मनाउने प्रचलन रहेकोले भाकल हुनेले अहिले पनि यस पर्वमा यस पूजालाई निरन्तरता दिएका छन् ।

´छठ कठोर व्रत भए पनि वर्षको दुई पटक मनाउँदै आएका छाैँ,’ व्रतालु मिनु गुप्ताले भनिन्, ´मेरो ससुरा सिकिस्त बिरामी भएको बेला चैतमा पनि छठ गर्ने सासुले भाकल गरेको चार पाँच दिनमै निक‍ो भएपछि ३५ वर्षदेखि कात्तिक र चैतमा वर्षको दुई पटक छठ पूजा हुँदै आएको छ।’ उनकी सासुक‍ो मनोकामना पूरा भएपछि चैतमा पनि छठ गर्न थालेपछि हामीले मागे जति पूरा भएको उनले बताइन् ।

बूढीगण्डकीका विषयमा कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु 

काठमाडौं । मन्त्रीपरिषद्ले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन् ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने निर्णय फिर्ता लिएको थियो । मन्त्रीपरिषद्ले उक्त आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय समेत गरेको छ ।

‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बूढीगण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको छ । मुआब्जा टुंग्याएर, सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न,’ महामन्त्री शर्माले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन् ।

बूढीगण्डकी आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो । कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा. बाबुराम भट्टराईलाई पनि बूढीगण्डकी आयोजनासँग जोडेर सुझाव दिएका छन् ।

‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य । श्रद्देय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा । ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्देय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔं ! अब बूढिगण्डकी बनाउन जुटौं!,’ महामन्त्री शर्माले भनेका छन् ।

०७४ मा कांग्रेस नेतृत्वको सरकारले डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदल बनाई गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी ‘स्वदेशी लगानीमा निर्माण गर्ने’ निर्णय गरेको उनले स्मरण गरेका छन् । ‘ओलि सरकारले विवादास्पद कम्पनी गेजुवालाई बिना प्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्यौल अब रहनुहुन्न,’ उनले लेखेका छन् ।

१२ सय मेगावाटको बिद्युत उत्पादन मात्रै होइन, फेवाताल भन्दा दशौंगुणा ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डार समेत हुने यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी रहेको उनले जनाएका छन् । ‘अब कुनै बिघ्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी छ,’ उनले भनेका छन् । समृद्धिको साझा दायित्व, आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने उनले जनाएका छन् ।

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना भने घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

युवाले लिए परम्परागत बाजाको प्रशिक्षण

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं (एक प्रकारको बाजा) तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम बिहीबार सम्पन्न भएको छ । स्थानीयस्तरमा बाजागाजाको प्रशिक्षण सम्पन्न भएपछि पिदानेगू (दिक्षान्त समारोह जस्तै) गरिएको थियो । यो बेला प्रशिक्षार्थीलाई देवतास्थानमा लगेर बाजा प्रदर्शन गर्न लगाउने हुन्छ ।

बिहीबार स्थानीय नासद्य (देवता घर) मा पुगेर प्रशिक्षार्थीलाई बाजा बजाउन लगाएर प्रदर्शन गराइएको थियो । साथसाथै नेवार संस्कृति अनुसार त्यो बेला प्रशिक्षार्थीका आफन्तहरू आएर प्रशिक्षार्थीलाई सम्मान गर्ने गरिएको थियो । त्यस अवसरमा उनीहरू सामूहिक पैसा हालेर भोज पनि खाएका थिए ।

कार्यक्रमका संयोजक पुन्यराम दुवालका अनुसार लालाखिंमा १३ जना र म्येमा ४ जना प्रशिक्षार्थी रहेका थिए । उनीहरू सबै आठवर्षदेखि ३२ वर्षसम्मका युवा रहेको उनले बताए ।

बाजाका प्रशिक्षार्थी इन्जिनियर सुमन दुवाललले आफ्नै टोलमा भएको लालाखिं बजाउने कला सिकेको बताए । इन्जिनियर भएर पनि आफ्नो बाबुबाजेदखि चल्दै आएको लालाखिं सिक्न ६ महिना लगाएर आफूले बाजा बजाउन सिकेको उनले बताए ।

‘हाम्रो पुरानो बाजालाई पनि बचाउनुपर्छ, यसलाई मर्न दिनुहुन्न भनेर मैले पनि बाजा सिंके,’ बाजा प्रशिक्षणको अन्तिम दिन बिहीबार बाजा बजाउँदै इन्जिनियर दुवालले भने, ‘मैले मात्रै होइन, यो प्रशिक्षणमा टोलका आठ वर्षदेखि ३२ वर्षसम्मका युवा सहभागी छन् ।’

प्रशिक्षण ६ महिना भएको थियो । लालाखिंको प्रशिक्षण कृष्णराम देउपाला, म्ये शंकर सुवालले सिकाएका थिए ।

कार्यक्रममा विष्णुभक्त दुवाललगायतलाई सम्मान गरिएको थियो । साथै स्वगं वियगू ज्या (सगुन दिने कार्यक्रम) पनि भएको थियो ।

सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार  निर्धारण भएको छ ।  चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५३ पैसा र बिक्री दर १५९ रुपैयाँ ३२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९५ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६६ पैसा र बिक्री दर ९१ रुपैयाँ ११ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५४  पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ दुई पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ८० पैसा र बिक्री दर नाै रुपैयाँ ८५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ६ पैसा र बिक्री दर १९ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९४ पैसा र बिक्री दर नाै रुपैयाँ  ९९ पैसा कायम भएको छ ।

किसानलाई माछाका भुरा प्रदान

लमजुङ । मर्स्याङदी  गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष ०७८/०७९ पशुसेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रमको मत्स्य मिसन कार्यक्रम अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो ।

गाउँपालिकाको वडा- ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख पवन श्रेष्ठले बताए । उनका अनुसार माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । ९ जना किसानलाई गरी १५ हजार भुरा दिइएको छ ।  तनहुँको खहरेबाट ९५ हजार रुपियाँमा भुरा खरिद गरी ल्याएर किसानलाई दिएको गाउँपालिकाले जनाएको छ । माछाको भुरा कार्प जातको छ ।

कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव ९ महिना उमेरको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मत्स्य मिसन कार्यक्रम गाउँपालिकाले कार्यक्रमका लागि १९ लाख बजेट रहेको छ । अहिले भुरा प्रदान गरिएका किसानलाई यसअघि माछा पोखरी निर्माणका लागि ५० प्रतिशत अनुदान दिएको थियो । अहिले माछा पोखरी निर्माण भइसकेको छ ।

मनाङमा नयाँ पाँच दल दर्ता

लमजुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६  वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले नयाँ  पाँच दलले नाम दर्ता गराएका छ्न् ।

जसमा राप्रपा, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, सामाजिक एकता पार्टी र उन्नत लोकतन्त्र पार्टी दर्ता भएका हुन् । आयोगले तोकेको समयमा जिल्लामा रहेका पाँच दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

टुँडिखेलमा शनिबारदेखि लोकदोहोरी महोत्सव, उपराष्ट्रपतिले उद्‌घाटन गर्ने

काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वीतिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा गायक-गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा अमृत खाती, मिनामैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहने छ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरुको मूल्यांकन हुने आधारका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक-गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ ।

महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ ।

टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकलाई प्रवेश नि:शुल्क गरिएको जानकारी दिए ।

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ ।

गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेबास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ । गुल्मीमा १० वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । कांग्रेस सभापति खिलध्वज पन्थीले कांग्रेसले आठ र माओवादीले चार पालिका लिने सहमति भएको बताए ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेकपा एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन । गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष शुदर्शन बराल, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले आफ्नो दललाई बाइपास गर्न खोजिएको भन्दै त्यसो गरिए गठबन्धन धरापमा पर्ने चेतावनी दिए । ‘समाजवादीलाई हेप्न खोजिएको छ, यदि त्यसो भयो भने गठबन्धन नै धरापमा पर्न सक्छ,’ उनले भने ।

७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप

काठमाडौं । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हाे ।

खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए ।  केही क्षेत्रमा केही दिनदेखि खाेप लगाउन सुरु भए पनि आजदेखि अभियान नै  सुरु भएकाे हाे ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएकाे स्वास्थ्य विभागले जनाएकाे छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

प्रथम मुलपानी महोत्सव सुरु

काठमाडौं । बिहीबारदेखि काठमाडौंको मुलपानीमा प्रथम मुलपानी महोत्सव सुरु भएको छ । श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो । काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव सुरु भएको हो । महोत्सव चैत २४ गते बिहीबारदेखि वैशाख ५ गतेसम्म चल्ने जनाइएको छ । काठमाडौंको नागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मुलपानी चौर मुलपानी काठमाडौंमा मेला भएको हो ।

मेलाको प्रा.डा. श्रृषिराम पोखरेलले एक भव्य समारोहबीच बिहीबार उद्घाटन गरे । कार्यक्रममा नागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले महोत्सवले नागेश्वरी मनोहरा नगरपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजक श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीका अध्यक्ष ८० वर्षीय जग्गनाथ खनालले स्थानीय गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मेला आयोजना गरिएको जनाए । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिले पनि आआफ्नो धारण राखेका थिए ।

महोत्सवमा विभिन्न सुलभ मूल्यका उपभोग्य सामाग्रीहरूको व्यापारिक स्टलहरू, बालबालिकाहरूका लागि बाल उद्यानको व्यवस्था (रोटेपिंग, नाउ, ब्रेक डान्स, मिकी माउस, डयागन, वाटर बोट आदि), विभिन्न खानाका स्टल, आइसक्रिम, आइसमोलालगायतका थुप्रै परिकाका साथमा कृषि उत्पादनका सामान, स्थानीय कलाकार तथा राष्ट्रिय स्तरका कलाकारद्वारा भरपुर मनोरञ्जन गराइने जनाइएको छ । नववर्ष २०७९ को पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रमका साथ मेला गरिएको जनाइएको छ ।

मेलामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० टिकट दर राखिएको छ । विद्यार्थीका लागि ४० प्रतिव्यक्ति टिकट दर राखिएको छ । साथै अशक्त, अपांगका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

मेलामा नागेश्वरी, मनोहरा, बौद्ध, जोरपाटी, नरेफाँट, चाँगुनारायणलगायतका काठमाडौं, भक्तपुर, ललितपुरबाट लाखौँ मानिस आउने विश्वास गरिएको छ । मेलाको व्यवस्थापन आइटी एण्ड सप्लायर्स ग्रुप प्रालिले गरेको हो ।