बूढीगण्डकीका विषयमा कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु  | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बूढीगण्डकीका विषयमा कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु 

काठमाडौं । मन्त्रीपरिषद्ले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन् ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने निर्णय फिर्ता लिएको थियो । मन्त्रीपरिषद्ले उक्त आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय समेत गरेको छ ।

‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बूढीगण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको छ । मुआब्जा टुंग्याएर, सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न,’ महामन्त्री शर्माले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन् ।

बूढीगण्डकी आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो । कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा. बाबुराम भट्टराईलाई पनि बूढीगण्डकी आयोजनासँग जोडेर सुझाव दिएका छन् ।

‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य । श्रद्देय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा । ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्देय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔं ! अब बूढिगण्डकी बनाउन जुटौं!,’ महामन्त्री शर्माले भनेका छन् ।

०७४ मा कांग्रेस नेतृत्वको सरकारले डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदल बनाई गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी ‘स्वदेशी लगानीमा निर्माण गर्ने’ निर्णय गरेको उनले स्मरण गरेका छन् । ‘ओलि सरकारले विवादास्पद कम्पनी गेजुवालाई बिना प्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्यौल अब रहनुहुन्न,’ उनले लेखेका छन् ।

१२ सय मेगावाटको बिद्युत उत्पादन मात्रै होइन, फेवाताल भन्दा दशौंगुणा ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डार समेत हुने यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी रहेको उनले जनाएका छन् । ‘अब कुनै बिघ्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी छ,’ उनले भनेका छन् । समृद्धिको साझा दायित्व, आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने उनले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);