समाचार | Page 2024 of 5928 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

समाचार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९२ पैसा र बिक्री दर १२१ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४९ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ५५ पैसा र बिक्री दर ९२ रुपैयाँ  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २४ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर ११ रुपैयाँ एक पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ नौ पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८३  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ  ९८ पैसा कायम भएको छ ।

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन

एजेन्सी । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।  ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास  क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ ।

रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् । सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् ।  हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ । युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

संघले लुम्बिनीलाई ६८९ खानेपानी आयाेजना हस्तान्तरण गर्‍याे, तर बजेट नदिँदा ४८७ आयाेजना अलपत्र

बुटवल । बजेट बिनाका खानेपानी आयोजनाले लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको ‘सबैका घरमा खानेपानी’ पुर्‍याउने लक्ष्य पूरा हुन कठिन हुने देखिएको छ ।

संघीय सरकारले चार वर्षअघि लुम्बिनी प्रदेशलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण गरेको थियो । खानेपानी आयोजना प्रदेशलाई हस्तान्तरण गरे पनि त्यस अनुरुप बजेट भने उपलव्ध भएन । ‘आयोजना हस्तान्तरण गर्ने र त्यस अनुरुप बजेट नदिँदा आयोजना पूरा गर्न समस्या देखिएको छ,’ पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका खानेपानी महाशाखा प्रमुख इन्जिनियर ध्रुव धितालले भने । अलपत्र आयोजनालाई गतिमा ल्याउन र सरसफाOमा प्रगति देखाउन काम भइरहेको बताए ।

संघीय सरकारले हस्तान्तरण गरेका ६८९ आयोजना मध्ये ४८७ आयोजना अलपत्र छन् । हस्तान्तरण भएका आयोजना सम्पन्न गर्न मात्रै अब करिब ११ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर, संघले यसवर्ष ८९ करोड ९७ लाख रुपैयाँ मात्र पठाएको छ ।  प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ सम्म सबैका घरमा खानेपानी पु¥याउने योजना बनाएको  छ ।

निर्माण सुरु भएका खानेपानी आयोजनालाई समयमै पूरा गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । सरकारले सुरु गरेका आयोजना समयमा नसक्दा सबैको पहुँचमा खानेपानी पुर्‍याउन नसकिएको सरोकारवालाको भनाइ छ ।

दीगो विकास लक्ष्यले सन्  २०३० सम्म सबैको पहुँचमा सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । प्रदेश सरकारले एक घर एक धाराको संकल्प सहितको कार्यक्रम पनि पारित गरेको छ । तर त्यस अनुसार काम हुन सकेको छैन ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले रकम अभावले धेरै योजना अलपत्र परेकाले त्यसलाई पूरा गर्न संघले बजेट व्यवस्था गर्नुपर्ने बताए । ‘माग र आवश्यकता भन्दा नेताको पहुंचका आधारमा आयोजना बन्दा पनि समस्या भएको छ,’ उनले भने ।

उनले खानेपानीको उपलब्धता र स्वच्छता बारे तत्काल सही तथ्य संकलनको काम अगाडि बढाउने र योजना कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्तसमेत गरे ।

हिजो सम्झाएको कुरालाई मन्त्रिले कुट्यो भनेछ : मन्त्री मनाङे

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई आफ्नै कर्मचारीमाथि कुटपिट गरेको आरोप लाग्यो । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझाले आफुलाई मन्त्रिले कुटपिट गरेको बताएका थिए ।

मंगलबार फाइल बोकेर मन्त्रिको कार्यकक्षमा प्रवेश गरेपछि आफुमाथि हातपात गरेको उनको आरोप थियो । तर, मन्त्रि मनाङेले भने कुटपिट गरेको भन्ने आरोप गलत भएको बताए ।  मन्त्री मनाङे संग सोही कुरामा आधिरत रहेर गरेको कुराकानी ।

तपाईले आफ्नै कर्मचारीमाथि हातपात गर्नुभएछ नि ? 
यो आफैं बच्नका लागि गरेको प्रोपोगण्डा हो । घटना हिजाको हो । यदि कुटेको भए अस्ती  नै किन बोलेन त ? अस्तीको दिनमा केही भएको भए अस्ती नै कुरा आउँथ्यो नि त । हिजो १२/१ बजेतिर डिजाइन गर्‍यो । प्लान बनायो । अनि कुटपिट ग¥यो भनेर हल्ला फैलायो । यस विषयमा मैले ४/५ जनाको आयोग गठन गर्छु ।

के विषयमा विवाद भएको हो ? 

युवा स्वरोजगारको पैसाको कुरा आएको छ । मैले करप्सनलाई म्याक्सिम कन्ट्रोल त गरे । तर, जिरो लेभलमा पुर्‍याउन सकिन् । यिनीहरूले के गरेछन भने स्वरोजगार कोषमा आएको पैसाहरू आफ्नो आफ्नो मान्छेलाई पार्ने भनेर गेम खेलेछन् ।

यस्ले मान्छेहरूसँग पैसा दिएपछि मात्रै काम गरिदिन्छु भन्दो रहेछ । धेरै मान्छे आएर मलाई भनेपछि मैले यस्लाई हिजो राम्रोसँग सम्झाएको थिए । आइन्दा मैले यस्तो सुन्न नपरोस् । तेरो पहिला पनि रेकर्ड नराम्रो छ, त्यसैले सुध्रिएर बस भनेर सम्झाएको थियो ।

यसले अहिले मात्र नभएर यसअघि पनि यस्तै फटाहा काम गर्दै आएको रहेछ । यसअघि के गर्‍यो भने हाम्रो एउटा सोसल वर्क प्रोग्राम छ । जसबाट १३६ जना युवा युवतीलाई काम गर्न दिने भनिएको थियो । त्यसका लागि तीन करोड २४ लाखको बजेट आएको थियो ।

तर, यस्ले त क्याबिनेटमा ३२ करोड भनेर फाइल पठाएछ । योले के लेखेर मरेछ भने ३२ करोड लेखेर मरेछ । तीन करोड २४ लाखलाई ३२ करोड लेखेर पैसा पास भएर आयो । क्याबिनेटमा कुमार खड्का ( मन्त्रालयको प्रवक्ता) ले चेक गर्दा थाहा पाउनुभयो । अनि के हो त्यो ३२ करोड भनेर सोधेपछि बल्ल हामीले थाहा पायौं । अर्थमन्त्रि, कानूनमन्त्रि र म पनि जेल जाने अवस्था थियो । धन्न बेलैमा थाहा पाइयो ।

यस्लाई मैले बोलाएर सोधे, तैले के लेखेको यस्तो ?

यस्ले के भन्यो भने,– अंकमा मिस्टेक भयो भन्यो । एउटा सुन्य बढी लेखिएछ भन्यो । तर, यसले अक्षरमा पनि त्यस्तै लेखेको रहेछ । अक्षरमा पनि ३२ करोड नै लेखेको रहेछ ।

भनेपछि यो प्रि–प्लानिङमा नै चलेको रहेछ । यो मान्छे एकदमै खतरा छ, यो केटाले डुबाउँछ । यो ले मलाई पनि जेल हाल्ने खेलमा रहेछ ।  अनि हिजो बोलाएर सम्झाको हो । तेरो स्वरोजगारमा कृषि सम्बन्धि काम गर्ने मान्छेलाई तैले केही कुरा भनेको रहेछ आइन्दा त्यो कुरा थाहा पाएपछि राम्रो हुनेछैन् भनेर मैले राम्रोसँग सम्झाएर पठाएको थिए ।

सम्झाएकै विषयलाई किन कुटपिट भयो भनियो त ? 

अस्ती सम्झाउँदा केही पनि भनेन हिजो दिउँसो आएर हातपात गर्‍यो भनेछ । मैले पत्रकारलाई भनेको छु, सबैभन्दा पहिला प्रमाण माग्नु । भावनामा नबग्नु । पढेर आएको मान्छे हौं, जे पायो त्यही नलेख भनेर पत्रकारहरूलाई नि भनेको छु । मैले कारवाही गर्नुपर्ने मान्छेलाई छोड्देको थे, अब मैले यस्लाई कारवाही गर्नुपर्छ । किनभने अब त यस्ले झुटो आरोप लगाएपछि त छानविन कमिटी त बनाउनुप¥यो ।

विकास त यिनीहरूले गर्न पनि दिन्नन् । हामीले के नराम्रो भनेको थियौं, र घुस नखाईदेउ त भनेका हौं नि । त्यल्ले जागीर खाँदा घुस खान्छु भनेर सपथ लिएको थियो ? यो मान्छेहरू भनेको प्रोफेसनल चोरहरू हुन् । यिनीहरूको इन्टेन्सन नै जागीर खाँदा पैसा लुटेर कमाउँछु भनेर आको हो ।

३६ हजारमा यस्को भात खानलाई पुग्दैन् । यस्ले कसरी जागीर खायो त ? यस्को इन्टेन्सन नै साइटमा आएर ठग्छु भन्ने हो । अनि त्यो गाउँमा बस्ने आलु, सागसब्जी रोप्ने मान्छेलाई, आधा पैसा मागेर दुई लाख दियो भने काम गराईदिन्छु भन्ने यस्तो पनि गर्न मिल्छ भन्या ?

टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ ।

बालबालिकालाई शुक्रबारदेखि खाेप दिइदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

गहना लुटपाटपछि महिलाको हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गयराति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ । मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएकाे श्रीमान बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् ।

घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहन्छ : मन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहने बताएका छन् । प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौंडाबाट नसर्ने उनले बताएका हुन् ।

उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे । मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दै प्रतिष्ठान हेटौंडाको गौरव भएकोले प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका हुन् । प्रतिष्ठानलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए ।

उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नसकेको आरोप लगाउँदै काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए ।

‘हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन नसकिने अवस्था भएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको हो,’ उनले भने, ‘स्नातक तहका ३ विषयको कक्षा हेटौंडामा नै सञ्चालन भइरहेको छ ।’ हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउने उनको दावी छ । उनले अफवाह र भ्रमको पछि नलाग्न आग्रह पनि गरे ।

सरोकारवालाको मागअनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ । ‘प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको हो,’ उनले भने, ‘प्रतिष्ठान स्थापनाकाल देखि ३ बर्षसम्ममा देखिएका समस्यालाई पनिअहिले समाधानको काम भइरहेको छ ।’

छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरीहरू को हुन् ?

एजेन्सी । युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको सुरक्षा परिषद्का सदस्यलाई पनि निशाना बनाएको छ ।

अमेरिकाले रुसी वित्तीय संस्थाहरुमाथि पनि उत्तिकै कडाइ गरेको छ ।

प्रतिबन्धसँगै पुटिनका परिवारका सबै नजिकका सदस्यहरू अमेरिकी वित्तीय प्रणालीबाट अलग हुनेछन् ।  अमेरिकामा रहेको उनीहरूको सम्पत्ति रोक्का हुनेछ ।
रुसी राष्ट्रपतिका छोरीहरु ३७ वर्षीया मारिया भोरोन्तोभा र ३५ वर्षीया कतरिना तिखोनोभा पूर्वपत्नी ल्युडमिला पुटिनातर्फ जन्मिएका हुन् । त्यसो त पुटिनका छोरीहरूबारे थोरै मात्र जानाकारी सार्वजनिक हुने गरेको छ । उनीहरूको विवरण प्रायः गोप्य राखिन्छ ।

मारियाको जन्म सन् १९८५ मा सेन्ट पिटर्सबर्गमा भएको हो । अर्को वर्ष, कतरिनाको जन्म भएको थियो । कतरिनाको जन्मको समयमा पुटिको परिवार जर्मनीमा  थियो । त्यतिबेल पुटिन रूसको गुप्तचर सेवा  केजीबीमा विदेशी गुप्तचर अधिकारीकोरूपमा कार्यरत थिए ।
पुटिनको पुटिनासँग सन्  २०१३ मा सम्बन्ध विच्छेद भएको थियो  ।

मारियाले सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातक र २०११ मा मस्को स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातकोत्तर गरेकी थिइन् । रिपोर्टअनुसार उनी बाल चिकित्सक हुन् । मारिया र उनको डच व्यापारी श्रीमान  जोरिट फासेनबीच गत महिना सम्बन्ध विच्छेद भएको बताइन्छ ।

अर्कोतर्फ कतरिना मस्को स्टेट युनिभर्सिटीको इन्स्टिच्युट फर म्याथेमेटिकल रिसर्च अन कम्प्लेक्स सिस्टम्सकी उपनिर्देशक हुन । उनी विगतमा एक्रोबेटिक डान्सर पनि थिइन् । उनको व्यक्तिगत जीवन धेरै हदसम्म गोप्य छ ।

माथिल्लो मैलुङ्ग ‘ए’ अन्तिम चरणमा 

रसुवा । रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ ।

विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र कोरोना भाइरसको असरले गर्दा निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । ०६९ सालदेखि निर्माण सरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तोकिएको समय सीमाभित्र निर्माणकार्य नसकेपछि दोस्रोपटक असोजसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।

दोस्रोपटक थपिएको समयमा काम नसकिएपछि फेरि पनि म्याद थप्ने तयारीमा लागेको आयोजनाले जनाएको छ । कुल ६.४२ मेगावाट क्षमताको आयोजनाको निर्माणकार्य वर्षाका कारण ठप्प थियो । यसअघि वर्षाका कारण असारबाट निर्माणकार्य रोकिएको थियो । आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीका अनुसार वर्षा, नाकाबन्दी र बाढीपहिरोका कारण आयोजनाका काम पछि धकेलिएको हो ।

९ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । ‘पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पगेको छ,’ पोजेक्ट इन्चार्ज जोशीले भने, ‘३ हजार ८ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी छ ।’ आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले  हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्यत् उत्पादन गर्न सक्ने बताएको छ ।

सर्लाहीमा गोली प्रहार गरी १ जनाको हत्या

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए ।

प्रतिवेदन नआउँदा तालमेलको मोडालिटीबारे छलफल भएन

काठमाडौं । पाँच दलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ । संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिएको थियो । तर, प्रतिवेदन नै नआएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे छलफल गर्न पाएको छैन ।

समितिलाई संयन्त्रहरूले पठाएको गठबन्धनका दलहरूको वस्तुस्थितिसहितको प्रतिवेदनलाई अध्ययन गरी विश्लेषण गर्दै तालमेलको मापदण्ड बनाउने जिम्मेवारी छ । समिति पाँच दलीय गठबन्धनको शीर्ष नेताहरूको बैठकले मंगलबार गठन गरेको हो । समितिले महानगर, उपमहानगरसहित नगरपालिका र गाउँपालिकादेखि वडा तहसम्मै तालमेलको स्पष्ट ‘मोडालिटी’ प्रतिवेदनकै आधारमा बनाउने समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले बताए ।

‘गठबन्धनमा रहेका दलहरूको स्थिति कस्तो छ ? तालमेल कहाँ कसरी गर्ने भनेर टुंग्याउनु त प¥यो । त्यसका लागि १७ चैतमै बसेको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरको गठबन्धनको संयन्त्रहरूलाई कुन दलको स्थिति कस्तो छ र गठबन्धनको स्थिति के छ ? प्रतिवेदन बुझाउन भनेका थियौँ । सबैको आउन बाँकी छ र त्यहीअनुसार कहाँ कसरी तालमेल गर्ने भन्ने मोडालिटी तयार हुन्छ,’ भुसालले भने ।

देशभरका सबै स्थानीय तहमा सबै पार्टीको बलियो पकड छैन । गठबन्धनमै रहेको एउटा दल राष्ट्रिय जनमोर्चाको ७५३ मध्ये अधिकांश स्थानीय तहमा एक जना पनि मतदाता छैन । बाग्लुङ, प्युठान, अर्घाखाँचीलगायत केही जिल्लामा बाहेक अन्य जिल्लामा बलियो संगठन छैन ।

गठबन्धनका अन्य दलहरूको स्थिति पनि केही स्थानीय तहमा उस्तै छ । सोही कारण वस्तुस्थितिसहितको प्रतिवेदनको पखाईमा समिति छ । समितिका अर्का सदस्य तथा जनमोर्चाकै सचिव हिमलाल पुरीले पनि प्रतिवेदन आइसकेपछि निर्वाचनमा तालमेलको मोडालिटी टुंग्याउन सजिलो हुने बताए । समितिले निर्वाचनको तयारीस्वरुप एकातिर तालमेलको मोडालिटी बनाउने छ भने अर्कोतिर तालमेलको स्थितिबारे अनुगमन पनि गर्नेछ ।

२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले चैत २६ गतेसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको गठबन्धनले यस्तो निर्देशन दिएको हो ।

बालुवाटारमा बुधबार रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको गठबन्धनसम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि अर्को बैठक बस्ने उनले जानकारी दिए । ‘आजको बैठकमा गठबन्धनको मोडालिटी लगायतका विषयमा केही कुराकानी भएको हो । जिल्ला समितिलाई २६ गतेभित्र विस्तृत रिपोर्ट पठाइसक्न भनेका छौं,’ उनले भने ।

कविताको हत्या सहपाठीबाटै,  दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बेलका नगरपालिका-३ स्थित कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत सुनुवारको एउटै कक्षामा पढ्ने मिलनसार साथीको योजनामा बेलका नगरपालिका-३ डंगटोलस्थित बाँस घारीमा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन् । ढलिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुंगाले हिर्काएर मरेपछि लुकाएको प्रहरीले जनाएको छ ।

सरिताले दुई हप्ताअघि नै कवितालाई मार्ने योजना बनाएको प्रहरी समक्ष दिएकी छन् । हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा हत्या गरिएको थियो ।

सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । कविताले स्कुलमा आफूलाई होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बताएकी छन् ।

हत्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए । उनीहरूले हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । मृतक किशोरीको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

घटना स्थलदेखि विद्यालय करिब सात सय मिटर र घर करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याए प्रतिरोध गर्छाैं : पूर्वमुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याए प्रतिरोध गर्ने चेतावनी दिएका छन् । हेटौंडामा बुधबार पत्रकार सम्मेलन गर्दै पौडेलले प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग्याउने र भरतपुरमा सञ्चालन गर्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका हुन् ।

उक्त प्रतिष्ठान प्रदेश तथा मकवानपुरको गौरवको आयोजना रहेको भन्दै उनले यसलाई भरतपुर लगिए ढुंगा हान्नेसमेत चेतावनी दिएका छन् । उनले आफू नेतृत्वको सरकारले स्थापना गरेको प्रतिष्ठानलाई कमजोर बनाउने र यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै कमजोर बनाउन वर्तमान सरकार लागेको आरोप लगाए । यो अध्याधेशमार्फत केवल राजनीतिक बेइमानी मात्र नभएर मकवानपुरे आम जनताप्रति अक्षम्य अपराध गरिएको उनको भनाइ छ ।

अस्पताललाई प्रतिष्ठानमार्फत विशेषज्ञ डाक्टर, अत्याधुनिक उपकरणहरूको सेवा विस्तारलाई अगाडि बढाउँदै आईसीयू, एचडीयू, अक्सिजन प्लान्टजस्ता सेवाहरू समेत विस्तार भइरहेको पौडेलले बताए ।

‘५० शैय्या, तीन सय शैय्या हुँदै हाल पाँच सय शैय्यामा पुग्ने क्रममा रहेको र निर्माणाधीन भवन सम्पन्न पश्चात सेवा अझ विस्तार हुने क्रममा रहेको थियो,’ उनले भने, ‘अस्पताललाई प्रतिष्ठानबाट अलग गराएर पुनः रिफर अस्पतालमा झार्न तथा यस प्रतिष्ठानमा सञ्चालन भइरहेका तीनवटा विषयका कक्षाहरू भरतपुरमा सञ्चालन गर्न मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीहरू स्वयं लागेका छन् ।’

वर्तमान सरकारले यस्ता जनविरोधी कामलाई निरन्तरता दिइरहे त्यसको भण्डाफोर गर्दै गम्भीर रुपमा प्रतिरोध गरिने पौडेलले चेतावनी दिए । प्रतिष्ठानको थप विकासका लागि छुट्याइएको डेढ अर्ब बजेट ५/५ लाखका टुक्रे योजनामा खर्च गर्ने वर्तमान सरकारको निर्णय कार्यकर्ता पाल्ने योजना भएको उनको आरोप छ । प्रतिष्ठानमा प्रदेश सरकारको हालसम्म करिब १५ करोड लगानी भइसकेको र उक्त लगानी खेर जाने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

सरकारको यो कदम राजनीतक प्रतिशोध मात्रै नभएर मकवानपुरबासीलाई स्वास्थ्य र शिक्षामा पछि धकेल्ने कार्य भएको उनको दावी छ । बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश लगायत ३ वटा अध्यादेश स्वीकृतिका लागि ल्याएको थियो । संसदमा भएको अवरोधका कारण सरकारलाई तत्काल काम गर्न बाधा आएकाले अध्यदेशमार्फत् काम चलाउनु परेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरू अध्यापन गराउनको लागि प्रयाप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक कार्यक्रमलाई बाधा नपार्नको लागि तत्काल चितवनको भरतपुर अस्पतालमा पठनपाठनको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

खेर जाने अवस्थामा कोडिभ-१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव 

काठमाडौं । केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।

‘मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ,’ प्रमुख दाहालले भने । मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २ देखि ८ डिग्रीको खोप भण्डारण बक्समा राख्नुपर्छ । जुन एक महिनाभित्रमा लगाइसक्नुपर्ने हुन्छ । त्यो अवधिमा खोप लगाउन नसकिएको खण्डमा स्वतः खेर जाने प्रमुख दाहालको भनाइ छ ।

कति मात्रामा खोप खेर गयो भन्ने तथ्यांक न स्वास्थ्य सेवा विभागमा छ न त सम्बन्धित जिल्लाको खोप शाखामा । विभागले खेर गएको खोपको पनि विवरण जिल्लासँग माग गरेको छ ।

नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकालाई मोडर्ना यो खोप लगाइएको थियो । हालसम्म नेपालमा ३७ लाख डोज मोडर्ना खोप आइसकेको छ । ‘माइनसको तापक्रमबाट बाहिर निकालेर जति सक्दो खोप लगाइसक्नु पर्छ । अहिले खोप लगाउनेको संख्यामा कमि आइरहेको छ । जसले गर्दा केही मात्रा खेर गएको हुनसक्छ,’ प्रमुख दाहालले भने ।

सामान्यता केही मात्रा खोप खेर जान्छ भन्ने नै हुन्छ । तर, ठूलो परिमाणमा खोप खेर गयो भने त्यो गम्भीर विषय बन्ने उनको भनाइ छ । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले मोडर्ना र फाइजर खोप भण्डारमा चुनौती रहेको बताए । अहिलेसम्म मोडर्नाको १० हजारभन्दा बढी डोज त्यसरी नै लगाउन नपाउँदै खेर गइसकेको छ । तर, स्वास्थ्य अधिकारीहरूलाई यति मात्रामा खोप खेर गएको दाबी स्वीकार गर्दैनन् ।

काठमाडौं उपत्यकासहित विभिन्न प्रदेश तथा जिल्लाबाट यसरी खोप खेर गइरहेको विवरण विभागमा आउने गरेको छ । खोप लगाउने मानिसको संख्यामा कमि आउँदा खोप खेर जाने क्रम जारी रहेको महाशाखा प्रमुख डा. लालले बताए ।

खोप खेर जान नदिनको लागि विभागले लेवल नै टाँसेर पठाउने गरेको छ । ‘खेर नजाओस भनेर जुन ठाउँमा पठाउने हो, त्यहाँ त्यो खोप कहिले बनेको हो र कहिले ल्याएर आएको स्पष्ट देखिने गरी लेखेर पठाउँछौं । त्यो सम्बन्धित निकायले हेर्नुपर्छ,’ खोप शाखा प्रमुख दाहालले भने ।

यसअघि पनि मिति सकिनै लागेको अस्ट्राजेनिका खोप लगाइएको थियो । भुटान र जापान सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख ३० हजार डोज अस्ट्राजेनिका खोप मिति सकिने लागेको अवस्थामा नेपाल ल्याइएको थियो । जसमा जापानले १६ लाख र भुटानले दुई लाख ३० हजार डोज अस्ट्राजेनिका खोप उपलब्ध गराएको थियो ।

उक्त खोप यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका १३ लाख ६८ हजार जनालाई लगाएको थियो भने बाँकी रहेको खोप १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी, यसअघि खोप लगाउन छुटेकाहरू लगायतलाई लगाइएको थियो ।

भुटानबाट आएको खोप म्याद सकिन तीन सातामात्र बाँकी थियो भने जापानबाट आएका खोप दुई महिनापछि । मिति सकिन लागेपछि सरकारले एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको थियो । सामान्यतया खोपको प्रयोग मिति सकिनुभन्दा जति समय बढी हुन्छ त्यति राम्रो हुन्छ । तर, मिति सकिनुभन्दा एक दिन अगाडिसम्म पनि खोप लगाउन सकिने विज्ञहरूको भनाइ छ  ।

 

खोप लगाउने क्रम घट्यो, लक्ष्य भेट्टाउन गाह्रो :

सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर, त्यो लक्ष्य भेट्टाउन मुस्किल छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै लक्षित समूहलाई चैत मसान्तभित्रमा खोप लगाइसक्ने थियो ।

एक करोड ९९ लाख २२ हजारभन्दा बढी जनसंख्यालाई खोप लगाउने लक्ष्य सरकारको छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् ।

अबको एक साताभित्रमा ३४ लाखभन्दा बढीलाई पूर्ण मात्रा खोप दिइसक्नुपर्छ । तर, त्यो सम्भव छैन । किनकी हाल दैनिक खोप लगाउनेको संख्या क्रमिक रूपमा घट्दै गएको छ । लक्ष्य भेट्टाउनको लागि दैनिक पाँच लाख जनसंख्याले खोप लगाउनुपर्छ ।

नेपालमा हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० डोज खोप प्राप्त भएको छ । जसमध्ये चार करोड २ लाख ९५ हजार ८८८ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । अझै ७५ लाख ८६ हजार ९१२ डोज खोप माैजाद छ ।

खोप शाखा प्रमुख दाहाल भने मेडिकल क्षेत्रमा शत प्रतिशत सम्भव हुनै नसक्ने बताउँछन् । ‘यो खोप लगाउने विषयमा शत प्रतिशत त सम्भव हुँदैन । तर, हामीले उल्लेख्य प्रगति हासिल गरेका छौं,’ उनले भने, ‘यतिको जनसंख्यालाई खोप लगाउनु भने निकै चुनौतीको काम थियो । त्यो सन्तोषजनक नै छ ।’ खोप लगाउन आउनेको संख्या क्रमिक रूपमा घट्दै जाँदा खोप खेर जाने क्रम पनि बढीरहेको उनको भनाइ छ ।

अवैध लागुऔषधसहित चार जना पक्राउ 

काठमाडौं । काठमाडौं र सुर्खेतबाट प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रमोद कुमार मेहेता रहेका छन् ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा अवैध लागुऔषध भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथमा लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेट भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरबाट अवैध लागुऔषधसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ बस्ने २५ वर्षीय बर्ण बहादुर बोहरा र सोही नगरपालिका–१२ बस्ने २८ वर्षीय भिमा तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको कोठाबाट प्रहरीले करिब ८ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, करिब ७ ग्राम १ सय ४० मिलिग्राम सेतो हेरोईन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद १ लाख ५६ हजार १ सय २० रूपैयाँ र १ थान एटिएम कार्ड बरामद गरेको छ ।