समाचार | Page 2025 of 5928 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

समाचार

खेर जाने अवस्थामा कोडिभ-१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव 

काठमाडौं । केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।

‘मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ,’ प्रमुख दाहालले भने । मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २ देखि ८ डिग्रीको खोप भण्डारण बक्समा राख्नुपर्छ । जुन एक महिनाभित्रमा लगाइसक्नुपर्ने हुन्छ । त्यो अवधिमा खोप लगाउन नसकिएको खण्डमा स्वतः खेर जाने प्रमुख दाहालको भनाइ छ ।

कति मात्रामा खोप खेर गयो भन्ने तथ्यांक न स्वास्थ्य सेवा विभागमा छ न त सम्बन्धित जिल्लाको खोप शाखामा । विभागले खेर गएको खोपको पनि विवरण जिल्लासँग माग गरेको छ ।

नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकालाई मोडर्ना यो खोप लगाइएको थियो । हालसम्म नेपालमा ३७ लाख डोज मोडर्ना खोप आइसकेको छ । ‘माइनसको तापक्रमबाट बाहिर निकालेर जति सक्दो खोप लगाइसक्नु पर्छ । अहिले खोप लगाउनेको संख्यामा कमि आइरहेको छ । जसले गर्दा केही मात्रा खेर गएको हुनसक्छ,’ प्रमुख दाहालले भने ।

सामान्यता केही मात्रा खोप खेर जान्छ भन्ने नै हुन्छ । तर, ठूलो परिमाणमा खोप खेर गयो भने त्यो गम्भीर विषय बन्ने उनको भनाइ छ । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले मोडर्ना र फाइजर खोप भण्डारमा चुनौती रहेको बताए । अहिलेसम्म मोडर्नाको १० हजारभन्दा बढी डोज त्यसरी नै लगाउन नपाउँदै खेर गइसकेको छ । तर, स्वास्थ्य अधिकारीहरूलाई यति मात्रामा खोप खेर गएको दाबी स्वीकार गर्दैनन् ।

काठमाडौं उपत्यकासहित विभिन्न प्रदेश तथा जिल्लाबाट यसरी खोप खेर गइरहेको विवरण विभागमा आउने गरेको छ । खोप लगाउने मानिसको संख्यामा कमि आउँदा खोप खेर जाने क्रम जारी रहेको महाशाखा प्रमुख डा. लालले बताए ।

खोप खेर जान नदिनको लागि विभागले लेवल नै टाँसेर पठाउने गरेको छ । ‘खेर नजाओस भनेर जुन ठाउँमा पठाउने हो, त्यहाँ त्यो खोप कहिले बनेको हो र कहिले ल्याएर आएको स्पष्ट देखिने गरी लेखेर पठाउँछौं । त्यो सम्बन्धित निकायले हेर्नुपर्छ,’ खोप शाखा प्रमुख दाहालले भने ।

यसअघि पनि मिति सकिनै लागेको अस्ट्राजेनिका खोप लगाइएको थियो । भुटान र जापान सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख ३० हजार डोज अस्ट्राजेनिका खोप मिति सकिने लागेको अवस्थामा नेपाल ल्याइएको थियो । जसमा जापानले १६ लाख र भुटानले दुई लाख ३० हजार डोज अस्ट्राजेनिका खोप उपलब्ध गराएको थियो ।

उक्त खोप यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका १३ लाख ६८ हजार जनालाई लगाएको थियो भने बाँकी रहेको खोप १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी, यसअघि खोप लगाउन छुटेकाहरू लगायतलाई लगाइएको थियो ।

भुटानबाट आएको खोप म्याद सकिन तीन सातामात्र बाँकी थियो भने जापानबाट आएका खोप दुई महिनापछि । मिति सकिन लागेपछि सरकारले एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको थियो । सामान्यतया खोपको प्रयोग मिति सकिनुभन्दा जति समय बढी हुन्छ त्यति राम्रो हुन्छ । तर, मिति सकिनुभन्दा एक दिन अगाडिसम्म पनि खोप लगाउन सकिने विज्ञहरूको भनाइ छ  ।

 

खोप लगाउने क्रम घट्यो, लक्ष्य भेट्टाउन गाह्रो :

सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर, त्यो लक्ष्य भेट्टाउन मुस्किल छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै लक्षित समूहलाई चैत मसान्तभित्रमा खोप लगाइसक्ने थियो ।

एक करोड ९९ लाख २२ हजारभन्दा बढी जनसंख्यालाई खोप लगाउने लक्ष्य सरकारको छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् ।

अबको एक साताभित्रमा ३४ लाखभन्दा बढीलाई पूर्ण मात्रा खोप दिइसक्नुपर्छ । तर, त्यो सम्भव छैन । किनकी हाल दैनिक खोप लगाउनेको संख्या क्रमिक रूपमा घट्दै गएको छ । लक्ष्य भेट्टाउनको लागि दैनिक पाँच लाख जनसंख्याले खोप लगाउनुपर्छ ।

नेपालमा हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० डोज खोप प्राप्त भएको छ । जसमध्ये चार करोड २ लाख ९५ हजार ८८८ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । अझै ७५ लाख ८६ हजार ९१२ डोज खोप माैजाद छ ।

खोप शाखा प्रमुख दाहाल भने मेडिकल क्षेत्रमा शत प्रतिशत सम्भव हुनै नसक्ने बताउँछन् । ‘यो खोप लगाउने विषयमा शत प्रतिशत त सम्भव हुँदैन । तर, हामीले उल्लेख्य प्रगति हासिल गरेका छौं,’ उनले भने, ‘यतिको जनसंख्यालाई खोप लगाउनु भने निकै चुनौतीको काम थियो । त्यो सन्तोषजनक नै छ ।’ खोप लगाउन आउनेको संख्या क्रमिक रूपमा घट्दै जाँदा खोप खेर जाने क्रम पनि बढीरहेको उनको भनाइ छ ।

अवैध लागुऔषधसहित चार जना पक्राउ 

काठमाडौं । काठमाडौं र सुर्खेतबाट प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रमोद कुमार मेहेता रहेका छन् ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा अवैध लागुऔषध भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथमा लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेट भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरबाट अवैध लागुऔषधसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ बस्ने २५ वर्षीय बर्ण बहादुर बोहरा र सोही नगरपालिका–१२ बस्ने २८ वर्षीय भिमा तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको कोठाबाट प्रहरीले करिब ८ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, करिब ७ ग्राम १ सय ४० मिलिग्राम सेतो हेरोईन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद १ लाख ५६ हजार १ सय २० रूपैयाँ र १ थान एटिएम कार्ड बरामद गरेको छ ।

व्यापार व्यवसायले देशको काँचुली फेर्छ : मानन्धर

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार नै सफल जीवनको आयाम भएको बताएका छन् । व्यापार व्यवसाय गर्दा जीवन सबल हुने भन्दै उनले सबैले उद्यमी बन्नुपर्ने बताएका छन् ।

व्यापार व्यवसायबाट घरपरिवारको मात्रै नभई देशले नै काँचुली फेर्ने उनी बताउँछन् । भक्तपुरको सूर्यविनायकमा कार्यालय स्थापना गरी बुधबारदेखि सेवा शुभारम्भ गरेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै उनले सबैले इमानदारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले आफ्नो वडामा मात्र ४४ वटा सहकारी संस्था रहेको जानकारी दिए । नगरपालिकाभरिमा चार सय ४४ वटा सहकारी संस्था रहेका उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गौतम सुजखू, सचिव तीर्थरत्न राजचल, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले साना उद्योगी व्यापारीलाई सहज कर्जा दिई सहयोग गर्न संस्था स्थापना गरेको बताएका थिए ।

बालकोटस्थित सहकारीबाट नगद चोरी  

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ । सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचण्डको छोरी रेनु भन्ने थियो, अहिले रेनुको बुबा प्रचण्ड भएको छ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको बताएका छन् । भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले रेनुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताए ।

अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेनुका बुबा प्रचण्ड भन्ने स्थिती बनेको उनले बताए । ‘२०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी छ । अहिले आउँदा अब प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ’, उनले भने ।

‘२०७४ निर्वाचनमा यहाँ रेनु आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गर्थे । प्रचण्डको छोरी । यद्यपि, रेनुको आफ्नै त्याग थियो । आफ्नै तपस्या थियो’, उनले भने, ‘रोल्पा, रुकुम जिल्लादेखि भारतका विभिन्न शहरमा भूमिगत भएर काम गरेको उनको आफ्नै अनुभव थियो ।’

स्थानीय तहको चुनावमा पनि गठबन्धनलाई सँगै लिएर जाने निर्णय भइसकेको भन्दै उनले आ–आफ्नो ठाउँमा सबैजना लचिलो बन्नुपर्ने बताए । ‘सबैले आफ्नो ठाउँबाट त्याग गर्ने मानसिकता लियो भने असम्भव भन्ने केहि छैन’, उनले भने । सबै लचिलो बन्ने र त्याग गर्न सक्ने भएमा समाजवादमा पुग्न सकिने उनले बताए ।

प्रचण्डले स्थानीय तहको निर्वाचनको मुखमा भूमिहिन दलितलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । उनले भरतपुर महानगरपालिका–२ आँपटारीका ४६ भूमिहिन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।

३० वैशाख ३० गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले २५ चैतदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आचारसंहिता लागु भएपछि लालपुर्जा वितरणलगायत मतदातालाई प्रभावित पार्ने कार्य गर्न नपाउने भएकाले हतारमा लालपुर्जा वितरण गर्न प्रचण्ड बुधबार चितवन आएका हुन् ।

भरतपुर-२ मा मात्र ९८ घरधुरी भूमिहिन दलित छन् । भरतपुर महानगरपालिकामा भूमिहिन दलित एक हजार ९७९, भूमिहिन सुकुमबासी तीन हजार ७८५ र अव्यवस्थित बसोबासी पाँच हजार पाँच गरी जम्मा १० हजार ७७७ सुकुमबासी सूचिकृत छन् । बाँकी सुकुमबासीले निर्वाचनपछि मात्रै लालपुर्जा पाउने छन् ।

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाः एक लाख ४० हजारभन्दा बढी सहभागी, ७२ जनाले गुमाए ज्यान   

काठमाडौं । कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एक जना नेपाली सैनिकको मंगलबार मृत्यु भयो । मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ छन् ।

कंगोको विद्रोही समूहले चलाएको गोली लागि उनको मृत्यु भएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार गुरुङ्को मृत्युसँगै राष्ट्रसंघको शान्ति मिसनमा खटिने क्रममा वीरगती प्राप्त गर्ने नेपाली सैनिकको संख्या ७२ पुगेको छ ।

नेपाल सन् १९५५ मा राष्ट्रसंघको संघको सदस्य भएपछि त्यसको चार वर्ष बित्न नपाउँदै शान्ति सैनिक पठाउन थालेको हो । नेपालले पहिलो पटक सन् १९५८ मा सैन्य पर्यवेक्षकको रुपमा पाँच जना सैनिकलाई लेबनानमा पठाएको थियो ।

नेपालले राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना पठाउन थालेको ६४ वर्ष पुगेको छ । यो अवधिमा १ लाख ४० हजार २०२ जना नेपाली शान्ति सैनिक राष्ट्रसंघीय मिसनमा खटिएका छन्, जसमध्ये ७२ जनाको शान्तिस्थापनाका क्रममा ज्यान गुमाएका हुन् ।

नेपालले हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा आफ्ना सैनिक पठाइसकेको छ । अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको सेनाले जनाएको छ ।

‘नेपाली सेनाले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा भाग लिएको छ । यस सिलसिलामा आजसम्म ७२ जना सैनिकले वीरगती प्राप्त गरेका छन् भने ६६ जना अपाङ्ग भएका छन्,’ नेपाली सेनाका प्रवत्ता सिलवालले न्युज कारखानासँग भने ।

हाल विश्वका ११ देशका रहेका १२ वटा राष्ट्रसंघीय शान्ति मिसनमा करिव ५ हजार ५ सय नेपाली सेना खटिएको उनले जनाए । खटिने सैनिकमा २५० जना महिला सैनिक रहेका छन् ।

अहिले सिरिया, वेस्टर्न सहारा, माली, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिविया, इजरायल, यमन, सुडान र दक्षिण सुडानमा रहेका शान्ति मिसनमा नेपाली सेना खटिएका छन् ।

सिरियामा ४११, वेस्टर्न सहारामा ३, मालीमा १७५, कंगोमा १ हजार १५४, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ७५६, लेबनानमा ८७२, इराकमा ७७, लिवियामा २३५, इजरायलमा ३, सुडानमा २१ र दक्षिण सुडानमा १ हजार ७५२ जना सैनिक हाल तैनाथ रहेको प्रवक्ता सिलवालले जनाए । यसको अलवामा हाल राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट १९६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी खटिएका छन् ।

महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य : लोसपा 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक परीक्षणमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । ‘उपचारमा संलग्न चिकित्सकले दिएको जानकारीअनुसरा अध्यक्षज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ झाले भने । पार्टीको कार्यक्रममा भैरहवामा हुँदा समान्य ज्वरो, पखाला तथा डिहाइड्रेशनसमेत देखिएकोले हेलिकप्टरबाट मेडिसिटी अस्पतालमा ल्याएर उपचार भइरहेको उनले बताए । गम्भीर समस्या नदेखिएको भन्दै झाले भने, चिकित्सकहरूको ब्रिफिङअनुसार प्राराम्भिक जाँचमा स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर समस्या केही देखिएको छैन ।’

गण्डकीका मन्त्री मनाङेले कर्मचारी कुटे

पोखरा । गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्वीच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन । ‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’ मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट

काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ । नेप्से  २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेकाे छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमामा बजार बन्द भएको छ।

बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको काराेबार भएको छ । बजार लगातार घटे पनि होटेल इन्डेक्स २ दशमलब ०२ प्रतिशत र अदर्श शून्य दशमलब ३२ प्रतिशतले बढेको छ ।

बुधबार नेश्डो लघुवित्त १० प्रतिशतले बढेर १५ सय ४५ दशमलव ५ रुपैयाँ, साेल्टी होटेल ३ दशमलब ९९ प्रतिशत बढेर २ सय ३७ र तारागाउँ ३ दशमलब ९४ प्रतिशतले बढ्दा अन्तिम कारोबार तीन सय ६९ रुपैयाँमा भएको छ।

इमर्जिङ नेपालकाे नकारात्मक सर्किट लागेर ११ सय ९० दशमलव ७, ५ दशमलव ४७ प्रतिशतले घट्दा राष्ट्र उत्थान १६६० र बुद्धभूमि ४ दशमलक ०७ प्रतिशत घटेर अन्तिम कारोबार ५६६ रुपैयाँ भएको छ ।

राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति, कंगोमा मारिएका सैनिक जवानको परिवारलाई सहयोग गर्ने आश्वासन  

काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । भेटघाट बुधबार प्रधानसेनापति शर्माको जंगी अड्डास्थित कार्यकक्षमा भएको थियो । ‘भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेटवार्तामा होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पु¥याएका योगदानको प्रशंसा गरेका थिए । भेटमा उनले बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने तालिमको अन्तराष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति संवेदना व्यक्त गरेका थिए । मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन उनले दिएका थिए ।

सात महिनामा आइएनजीओको साढे १४ अर्बभन्दा बढी बजेट स्वीकृत, ७७ वटै जिल्लामा आइएनजीओका कार्यक्रम  

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु (आइएनजीओ)ले साढे १४ अर्ब रुपैयाँभन्दा बढी बजेट स्वीकृत गराएका छन् । समाज कल्याण परिषद्ले २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधीमा ३७ वटा आइएनजीको उक्त बजेट स्वीकृत गरेको हो ।

परिषद्का अनुसार सो अवधिमा कूल १४ अर्ब ६८ करोड ९५ लाख ३२ हजार ८४५ रुपैयाँ बजेट स्वीकृत भएको छ । स्वीकृत भएका कार्यक्रमहरु तीन महिनादेखि पाँच वर्षसम्मका रहेका छन् । आइएनजीओहरुले कृषि, मानवअधिकार, सामाजिक रुपान्तरण, कोरोना महामारी, विपद् जोखिम न्युनीकरण, दिगो विकास, नविकरणीय उर्जा, खानेपानी, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, बाल सुरक्षा लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न बजेट परिषद्बाट स्वीकृत गरेका हुन् ।

समाज कल्याण्ड परिषद्का सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईका अनुसार स्वीकृत भएका कार्यक्रमहरु डडेलधुरा, बैतडी, डोटी, बझाङ, कञ्चनपुर, गोर्खा, काठमाडौं, ललितपुर, बर्दिया, पाल्पा, कैलाली, कञ्चनपुर, रौतहट, धनुषा, सुनसरी, धादिङ, महोत्तरी, गुल्मी, रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, प्युठान, सिन्धुपाल्चोक, सोलुखुम्बु, ओखलढुंगा, नुवाकोट, सुर्खेत, रोल्पा, सर्लाही, मोरङ, नवलपुर, स्याङ्जा, चितवन, मुगु, बाजुरा, सिराहा, झापा, दोलखा, धनुकटा, उदयपुर, तनहुँ, लम्जुङ, कास्की, काभ्रे, मकवानपुर, बारा, पर्सा, परासी, इलाम, सिन्धुली, कालिकोट, जुम्ला, रामेछाप, जाजरकोट लगायत ७७ वटै जिल्ला लागू हुनेछन् ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा सबैभन्दा ठूलो बजेट सेभ द चिल्ड्रेन इन्टरनेसनल युकेले स्वीकृत गराएको थियो । सेभ द चिल्ड्रेनको  ४.५ वर्षको लागि ६ अर्ब १८ करोड ३८ लाख ८२ हजार ३८१ रुपैयाँ बजेट स्वीकृत भएको छ । उक्त रकम ७७ वटै जिल्लामा स्वास्थ्य क्षेत्र खर्च गरिने परिषद्ले जनाएको छ ।

आइएनजीओले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट कोरोना माहामारी नियन्त्रण तथा रोकथामका क्षेत्रमा छुट्याएका छन् । दि फिनिस इभान्जेलिकल लुथ्रन मिसन, एएमडीए–माइन्ड्स, एक्सन इन्टरनेसनल नेपाल, क्याथोलिक रिलिफ सर्भिसेज, मर्सी क्रप्स नेपाल, चिल्ड्रेन रेस्क्यु नेपाल, रिन्युवल वल्ड, कतार च्यारिटी, चाइल्ड फण्ड जापान, ब्याक टु लाइफ, एड्भन्टीस्ट डेभलपमेन्ट एण्ड रिलिफ एजेन्सी इन्टरनेसनल इन नेपाल, निक सिमोन्स फउण्डेसन्, प्लान इन्टरनेसनल नेपाल लगायतका आइएनजीओले यस वर्ष नेपालमा काम गर्न बजेट स्वीकृत गराएका छन् ।

नेपालबाट थप ३२५ मेगावाट विजुली बेच्न भारतले दियो अनुमति 

काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुलीलाई बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप विजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट विजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो । अहिले नेपालले भारतबाट विजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी विजुली उत्पादन हुँदै आएको छ । सो विजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।

ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले र माओवादीबाट यी हुन् आकांक्षी

ललितपुर । स्थानीय तहकाे निर्वाचनको सरगर्मी सुरु भएसँगै ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट काे काे उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ ।

बगमती गाउँपालिकामा हाल नेपाली कांग्रेसका वीरबहादुर लोप्चन अध्यक्ष छन् । उनले फेरि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । अध्यक्षमा स्थानीय नेता माधव दुलाल र पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दाबी गरेका छन् । ‘गाउँपालिका अध्यक्षमा मेरो पनि दाबी हो । म कुनै मूल्यमा आफ्नाे दबी छोड्दिन,’ तिमल्सिना भन्छन्, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’

एमालेबाट पालिका अध्यक्षमा नवराज सञ्जेलको पनि चर्चा छ । सञ्जेलले आफूलाई पार्टीले टिकट दिने बताउँदै आएका छन् । उनी भन्छन्, ‘निर्वाचनमा को उठ्ने भन्ने भन्दै हिँड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वाभाविक प्रतिस्पर्धी हुँ ।’ एमालेबाटै साजन दर्लामीले पनि अध्यक्षमा दाबी गरेका छन् । भन्छन्, ‘वडाध्यक्ष बनेर विकासको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०-३० लाख बजेट हात्तीको मुखमा जिरा जस्तो हुँदो रहेछ ।’

माओवादी केन्द्रबाट निसान दर्लामी मगरले अध्यक्षमा इच्छा राखेका छन् । उनीहरूको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउँछ र कस्तो समीकरण बन्छ भन्ने अझै अन्याेलमै छ ।

कांग्रेसमा वीरबहादुर र विष्णुमध्ये काे अध्यक्ष उठ्ने भन्ने दाउपेच चलिरहेको छ । नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको याे पालिकामा एमालेका आकांक्षीहरू नै कांग्रेसको उम्मेदवारीअनुसार आफूहरु अघि बढ्ने योजना बनाइरहेका छन् । केही समयअघिसम्म विष्णु र पालिका अध्यक्ष वीरबहादुरबीच राम्रो सम्बन्ध थियाे । तर पछिल्लो समय उनीहरूबीच निकै  प्रतिस्पर्धा चलेको छ ।

पालिकामा राजनीतिक दाउपेचका आधारमा कसले निर्वाचन जित्छ भन्ने निर्धारण हुने स्थानीय नेता रमेश गौतम बताउँछन् । उनी भन्छन्, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । कांग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’ उनका अनुसार कांग्रेसबाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना पनि छ । उनी भन्छन्, ‘तर यसो हुने सम्भावना ज्यादै कम छ ।’

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहसंयोजक अमृतनाथ तिमल्सिना पार्टीले अहिलेसम्म कसलाई उठाउने भन्ने विषयमा गृहकार्य सुरु नगरेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा गठबन्धन गर्ने निर्णय भएको छ । जिल्लास्तरमा समेत गठबन्धनको संयन्त्र बनेको छ । तलसम्म यसको संरचना बनेपछि तालमेल गरेर मात्र उम्मेदवार उठाइन्छ ।’

कविता सुनुवार हत्या :  घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

उदयपुर । टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो ।

शब फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शब जिम्मा नलिने अडान लिएका छन्। हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे छ ।

हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नु पर्ने माग गरेका छन्  ।

कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रर्दशन गरिरहेका छन् । सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशाेरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई  बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।

बेलका नगरपालिका–६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।

घटनास्थल विद्यालयदेखि करिब सात सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयवासीले बताए । उनलाई बियरको बोतल र ढुंगाले हिर्काएर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलबाट बियरका बोतर र रगत लागेको ढुंगा बरामद भएकाे छ । मृतक किशाेरीको टाउकोमा गहिराे चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान छ । उनी अध्यायनरत विद्यालयले बुधवार शोक सभा आयोजना गरेको छ ।

ओलीकाे आराेप- पाँचदलीय गठबन्धन कुहिएको छ

भक्तपुर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । ‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन् । तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो ।  ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो ।

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेकाे उनले औंल्याए । स्थानीय निर्वाचन आउन लागेकाे र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए । ‘मेरो टेम्पाे उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घाेषणापत्र हुन्छ,’ उनले भने, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’ एमालेकाे घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे ।

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण

काठमाडौं । बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ ।