बर्दिया । बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
समाचार
धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते तीनसहित अन्य पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते तीनजनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।
स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु
पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो । जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे ।
जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत काेही नभएकाे प्रहरीले जनाएकाे छ ।
सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
फाईल तस्बिर
सप्तरी । सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानिय २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनको १७ बर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ । खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराती साढे १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।
कर्णालीमा गठबन्धनलाई उम्मेदवार टुंगाे लगाउन सकस, एमाले धमाधम सिफारिस गर्दै
सुर्खेत । कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिए । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी छलफल हुँदैछ,’ उनले भने, ‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने छ ।’
आइतबार एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियातभन्दा ठूलो भाग खोजेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । रुकुम पश्चिममा कुनै पालिका नजितेको कांग्रेसले तीन ६ मध्ये तीन पालिकासहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमपत हुन नसकेको माओवादीका एक नेताले बताए । सदरमुकाम मुसीकोटलाई कांग्रेसले बटमलाइन बनाएकाले समस्या भइरहेको उनको भनाइ छ ।
डोल्पामा एउटा पालिका पनि नजितेको कांग्रेसले सदरमुकामसहित तीन पालिका मागेपछि सहमति हुन नसकेको भन्दै प्रदेशमा जानकारी गराएको छ । जाजरकोटबाट सत्तासीन दलहरुले जितेको ठाउँमा सुरक्षित गर्दै एमालले जितेको ठाउँमा मात्र भागबन्डा गर्ने सहमतिसहितको पत्र प्रदेशमा पठाएको जिल्ला माओवादी जिल्ला इन्चार्ज गगनबहादुर खड्काले बताए । उनका अनुसार सदरमुकाम नै सबैको प्रतिष्ठाको विषयबन्दा सहमति ठोस सहमति हुन सकेको छैन । सदरमुकाममा एमालेले जितेका कारण त्यहाँ आफूले पाउनुपर्ने माग एकीकृत समाजवादीको छ ।
सल्यानमा पनि सदरमुकाम नै प्रतिष्ठाको विषय बनेको छ । केन्द्रबाट गरिएको सर्कुलरभन्दा बाहिर गएर छलफल गर्न थालेपछि सहमति हुन नसकेको नेताहरू बताउँछन् । सहमतिका लागि हुने गरेको वार्तामा उम्मेदवारका आकांक्षी नै बस्ने भएकाले सहमति हुन नसकेको स्रोतको दाबी छ ।
कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा समेत भागबन्डा मिलेको छैन । पूर्वमन्त्री नरेश भण्डारीको क्षेत्र जुम्लामा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन । जिल्लाबाट आएको रिपोर्टको विषयमा आइतबार प्रदेशमा बसेर निर्णयक छलफल गर्न लागेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।
जीविकोपार्जनका लागि आयस्राेतकाे माध्यम बन्दै आरन व्यवसाय
मुगु । मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्राेतकाे माध्यम बनेकाे छ । देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् ।अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । सोरु गाउँपालिका-७ का नन्दलाल लावड फरक क्षमताका व्यक्ति हुन् । शारीरिक रूपमा अपांग भए पनि लावडले आरनबाटै चार जनाको परिवार धानेका छन् ।
आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, कामअनुसारको ज्याला पाउन नसकेको उनीहरूकाे गुनासाे छ । आरनबाट औजार बनाउन एक घण्टा लाग्ने गरेको, तर एक घण्टाको ज्याला एक माना चालम पाइने गरेको आरन व्यवसायी बताउँछन्को । आफुसँग राम्रो खेतीयोग्य जमिन नभएकोले यहि पेसाको भरमा जीविका चलाउनु परेको उनीहरू बताउँछन् । यस्तै स्थानीय सरकार बनेपछि दु:ख हटला भन्ने आशा थियो । तर, स्थानीय सरकारले यो पेसामा ध्यान नदिँदा दु:ख लागेको उनीहरू बताउँछन् । साथै बजारीकरणको औजारले गर्दा पुख्यौली पेसा हराउँदै जाने होकि भन्ने उनीहरूकाे आशंका छ ।
सत्ता गठबन्धनको निर्णय अस्वीकार गरे कांग्रेस अछामका तीन पालिकाले
अछाम । सत्ता गठबन्धनले स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् । साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिकाे बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।
कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियाे रहेकाे क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसकाे जनाधारकाे कदर हुनेगरी निर्णय लिइएकेा बताए । तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेकाे थिएन ।
स्थानीय तह निर्वाचन : अछाममा एमालेकाे उम्मेद्वारी सिफारिस प्रक्रिया जारी
अछाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेद्वारी सिफारिको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेद्वार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेद्वार छनोट गरेर जिल्लामा पठाएकाे छ ।
एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ जिल्ला सदस्य मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।
कमलबजार नगरपालिकामा एमालेबाट मेयर पदमा कटक साउद सर्वसम्मत सिफारिस भएमा छन् । तुर्माखाद गाउँपालिका कमिटीले अध्यक्षका लागि युवा नेता डम्बर बिसीको नाम सिफारिस गरिएको छ । उनीसँगै नेता बमबहादुर बिसी र नेतृ गौमती शाहीको नाम पनि अध्यक्षमा सिफारिस गरिएको छ ।
उपाध्यक्षको लागि बिमला शाही, निर्मला धमला न्यौपाने र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ । चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि एमाले चौरपाटीले जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर आउजीसहितका ६ नेताहरूको नाम सिफारिस गरेको छ ।
एमाले पञ्चदेवल विनायक नगर कमिटीले पार्टीबाट नगरका उम्मेदवार छनोट गरेर जिल्ला कमिटी अछामलाई पठाएको जनाएको छ । मेयरमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा तत्कालीन जिल्ला कमिटी अध्यक्ष नन्दबहादुर कडायत, प्रदेश कमिटी सदस्य कमल रावल र जिल्ला कमिटी सदस्य तथा नगर सहइन्चार्ज लक्ष्मी बोगटीको नाम सिफारिस गरिएको नगरकमिटी सचिव बखतबहादुर शाहीले जानकारी दिए । जिल्ला कमिटी सदस्य हस्तना चन्द, राधिका सञ्जाल र महिला नेतृ निर्मला बुढालाई उपमेयरका लागि सिफारिस गरेको छ ।
जिल्लाका १० वटा स्थानीय तहबाट नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि नाम सिफसिरस गरेर जिल्लामा आइसकेकाे र छलफलको माध्यमबाट टुंगो लगाउने प्रयास भइरहेको जिल्ला सचिव भीम रावलले जानकारी दिए । बाँकी उम्मेद्वारकाे छनोटका लागि प्रदेशमा सिफारिस गर्ने तयारी भइरहेको र केही पालिकामा सर्वसम्मत सिफारिसका लागि नियमित बैठक जारी रहेका उनको भनाइ छ ।
सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ । दुर्घटना चालक सहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ बर्षीय गोपाल पुन र ४२ बर्षीया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । बेतनीबाट गुमीतर्फ आउदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टीएको थियो ।
तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन
तनहुँ । ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ । एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो । तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ । दुवै पक्षबाट चार-चार जना सदस्य रहने गरेर समिति गठन भएको हो ।
शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘प्रारम्भिक छलफलमा सहकार्य गरेर जाने सहमति भएको छ । सहकार्यका लागि दुवै पक्ष सकरात्मक छौँ,’ उनले भने । कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेकाे छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ । ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागबण्डा हुनेछ,’ उनले भने ।
कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीको प्रस्टोक्ति छ । ‘कांग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुने भन्ने के छ र ? बुवालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दा खेरी हामी चुप लागेर बस्ने कुरो त हुँदैन । पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर,’ उनले भने ।
जोशी पुत्र दिपकराजले व्यास नगरपालिकाको मेयरमा उम्मेदवार दिने घोषणा गरेर प्रचारप्रसारमा लागिरहेका छन् । उनले नेपाली कांग्रेसमा पनि मेयरको आकांक्षीमा नाम टिपाएका थिए । तर, पार्टीले हस्ताक्षर गर्न लगाएको प्रतिबद्धता पत्रमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन । जोशीले दिएको जानकारी अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ । जोशी समूहको पकड व्यास र भानुमा बढी छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ । गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहनेले कांग्रेसलाई कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह भारी बन्न सक्ने आँकलन भइरहेका बेला एमालेसँग तालमेल हुने सहमतीले तनहुँको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।
१० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो । जोशीले हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई सघाएको आरोप छ । जोशीले यस अगाडि जिल्लाका गाउँगाउँमा पुगेर कार्यकर्ता भेटघाटको क्रममा सम्मानजनक व्यवहार नगरे तनहुँ कांग्रेसलाई सवक सिकाउने चेतावनी दिँदै आइरहेका थिए ।
राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड
चितवन । राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए ।खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उनले माग गरेका छन् ।
‘स्थानीय प्रशासनले घटनाको तत्काल छानविन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ’, उनले भनेका छन् । घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए । ‘हामीले अनुसन्धान सुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन’, उनले भने ।
बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।
दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति पाैने १ बजे दुर्घटना भएको हो ।
जीपमा तीन महिला र ६ पुरुष गरी नाै जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए । निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भयको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताय ।
भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा
चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।
पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ । उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।
कांग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन
पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ बैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनु पर्नेछ । कांग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफै उपस्थित भएर नाम दर्ता गराउनु पर्ने जनाएको छ ।
सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । श्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।
‘माधवकुमार जीले पोखराको मेयरमा बढी नै दावी गर्नु भएको छ । उहाँले भोटसहित कांग्रेससँगको बैठकमा छलफल गर्नुभएको छ,’ कास्की कांग्रेसको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले भनेका थिए, ‘तपाईंहरुको दबाबले उथलपुथल भए मात्रै । नत्र यो एकीकृत समाजवादीले छोड्दैन ।’
काठमाडौं पुगेर फर्केपछि पोखरा महानगर समितिले मेयर र उपमेयरको आवदेन खुलाएको हो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना जारी गरिएको हो ।
कांग्रेस कास्कीले पोखराको मेयर आफैले पाउनुपर्ने अडान राखेको छ । पोखराका सभापति सुरेन्द्रमान बिजुक्छेले आवेदन लिएर सकेसम्म सर्वसम्मत एउटै व्यक्ति प्रदेश हुँदै केन्द्रमा पठाउने बताए । ‘हामी हाम्रो तयारी गरेर बस्नुपर्छ । उम्मेदवार खोजेर जित्नेलाई अघि सार्नुपर्छ,’ उनले भने, ‘गठबन्धनको कुरा केन्द्रको हो । तर, आफ्नो जिम्मेवारी त पूरा गर्नै प¥यो ।’
चितवन कांग्रेस सभापति खनाल भन्छन्– चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ
चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए ।
शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)लाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ ।
भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने खनालले दोहो¥याए ।
‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकुल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उनले भने ।
चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उनले बताए ।
नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन कांग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए ।
‘समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेरअघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुप¥यो । ग्राउण्ड सुहाउँदो हुनुप¥यो,’ उनले भने ।
नेपाली कांग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उनले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहिन काम भएको बताए ।
विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको संस्थागत निर्णय रहेको उनले बताए ।
त्यही निर्णयलाई आत्मसाथ गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उनले जानकारी दिए । ‘पटक पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन । एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सँधै खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उनले भने ।
विवेकशील साझाको काठमाडौं घोषणा : विद्युतीय सवारी करमा तीन वर्षसम्म छुटदेखि ५० वटा थप सार्वजनिक शौचालय बनाउने
काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन बर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ । महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो ।
‘डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीवाट चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगर अन्तर्गतका सबै कुरा तीन बर्षका लागि मिनाहा गरिनेछ,’ घोषणा पत्रमा उल्लेख छ ।
यसैगरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रुपमा विकास गर्ने, काठमाडौंका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधान निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानियवासीका लागि सार्वजनिक स्थलको विकास गर्ने बिषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
विवेकशीलले बागमती, विष्णुमती, रुद्रमतीलगायतका खोला किनारामा संघीय सरकारको समन्वयमा ग्रिन वेल्ट, जगिङ र साइकल ट्रयाक निमार्ण गर्ने, कुहिने र नकुहिने फोहोरलाई अलगअलग दिन निकाल्ने, प्रत्येक बर्ष २५ हजारभन्दा बढी बृक्षारोपण गर्ने, सामुदायिक बिद्यालयहरूमा १२ कक्षसम्म निःशुल्क गर्ने, काठमाडौंलाई जीवन्त संग्रहालयको रुपमा विकास गर्दै नेवाः कला सँस्कृतिको पुर्नजागरण गर्नेलगायत मुख्यतः सात विषय केन्द्रित रहेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने विवेकशील पहिलो पार्टीसमेत भएको छ ।




