समाचार | Page 1692 of 5961 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

समाचार

काठमाडौं उपत्यकामा एकैदिन ३५ सय ३२ सवारी चालकमाथि कारवाही 

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामआ एकैदिन ३ हजार ५३२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् । यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ । बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नाैवटा कम्पनीकाे कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि कसले के भने ? 

काठमाडौं । प्रतिनिधि सभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भएको छ ।विभिन्न राजनीतिक दलका नेताहरुले संविधान विपरित कार्य गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना गरेका हुन् ।

प्रतिनिधि सभाले पठाएको विधेयक राष्ट्रपतिले १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाले प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा नागरिकता विधेयक पठाएको मंगलबार राती १२ बजे १५ दिन पुगेको छ र विधेयक निस्क्रिय बनेको छ । राष्ट्रपतिले संविधानले नदिएको अधिकार प्रयोग गरेपछि अहिले उनको आलोचना भएको हो ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदमले प्रणालीमा नै खतरा पुगेको प्रतिक्रिया जनाका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार हाे । म यसको भर्त्सना गर्दछु ।’

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिबाट लोकतन्त्रको डुंगामा प्वाल पार्ने काम भएको बताएका छन् । उनले सबैलाई जिम्मेबार बन्न आग्रह समेत गरेका छन् ।

‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ ! राष्ट्रपतिले संसदबाट २÷२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन् । सबै जिम्मेवार बनौं !,’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।

पूर्वमन्त्री तथा पूर्व राजदूत नीलाम्बर आचार्यले राष्ट्रपतिको कदमलाई सापेक्षतामा हेर्नुपर्ने बताएका छन् । राष्ट्रपतिको सन्देशमा उठाएका प्रश्नलाई उपेक्षा गर्नु दलहरुको गल्ती भएको उनले औंल्याएका छन् ।

‘सापेक्षतामा हेर्नुपर्छ । आम निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई, व्यापक विचारविमर्शलाई पन्छाई, नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत थियो,’ आचार्यले भनेका छन्, ‘राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु अर्को गल्ती थियो । अब जे गर्नुपर्छ चुनावपछिको संसदले गर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान संरक्षकको जिम्मेवारी निर्वाह गरेको प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्, ‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ । राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ । संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ ।’

राजा बीरेन्द्रले पनि राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको स्मरण गर्दै थापाले संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको बताएका छन् ।

‘राजनीतिक स्वार्थ परिपुर्तिका लागि संविधान/राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको छ । राजनीतिकरुपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले प्रशंसा गर्नेछ,’ थापाले भनेका छन् ।

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रपति भण्डारीलाई पदबाट राजीनामा दिएर निर्वाचन लड्न सुझाव दिएका छन् । राष्ट्रपति पदमा बसेर कसैले पनि राजनीति गर्न नमिल्ने उनले बताएका छन् ।

‘पदमै रहेर राष्ट्रपतिले संविधान मिच्न मिल्दैन । यदि चित्त नबुझेकै हो भने पदबाट राजीनामा दिएर निर्वाचन लड्दा हुन्छ । तर, त्यो पदमा रहेर एउटा पार्टीको राजनीति गर्न मिल्दैन । एकचोटी होइन, दुई चोटि होइन, बारम्बार त्यही हुँदै छ । संविधानभन्दा माथि कोही छैन । विधिको शासनभन्दा माथि कोही छैन,’ पाण्डेले ट्वीटरमा लेखेका छन् ।

चोरको निसानामा पोखराका एटिएम मेसिन, दुई दिनमा २ वटा मेसिन फुटाए

पोखरा। पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् । सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएरु नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो । उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दिप बस्नेत र १९ वर्षका अनिस रानामगर पक्राउ परेका छन् । उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।

यस्तै, मंगलबार राती पोखरा ६ लेकसाइडमा रहेको एनएमवी बैंकको एटिएम फुटाउन लागेको अवस्थामा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको छ । खुकुरीले मेसिन फुटाएर पैसा चोरी गर्न लागेको अवस्थामा धादिङको त्रिपुरा सुन्दरी १ घर भइ पोखरा ८ बस्दै आएका २५ वर्षीय मनोज कुमाल पक्राउ परेका हुन् । उनलाई पनि कास्की अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ।

कास्कीमा हरेक महिना एटिएम फुटाउने घटना बढिरहेको छ । अहिले चोरको निसानामा बैंकका एटिएम परेका छन् ।

खैरो हेरोइनसहित ६ जना पक्राउ

चितवन। लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनानकारी दिएको छ । सोमबार राति जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट सो परिमाणमा लागु पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट  स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरी ) जम्मा  ६० रुपैया, लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटि  पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ।  उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २२ को सन्तोष परियार, सोही महानगर वडा नं. १९ बस्ने बर्ष  २२ को यम बहादुर आले मगर, लम्जुङ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. २० बस्ने बर्ष  ३० को तुल बहादुर गुरुङ, भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष  २३ को प्रशन्न गुरुङ, नवलपरासी देवचुली न.पा. वडा नं. १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १५  बस्ने बर्ष  २३ को चेत बहादुर क्षेत्री, र भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेको प्रहरीले जनाएको छ।

डा. केसी पक्ष र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न ७ बुँदे मागसहित ९ दिनयता अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको छ । वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र शिक्षासविच रामकृष्ण सुवेदी सहभागी थिए । नेपाल मेडिकल एसोसिएसनबाट डा. अनिलविक्रम कार्की सहभागी थिए । डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल, डा. विष्णु पोखरेल थिए । यसअघि आइतबार र सोमबार भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो ।

डा. केसीलाई लिन धनगढी गएको नेपाली सेनाको स्काइ ट्रक (हेलिकोप्टर) भने रित्तै फर्किएको छ ।

झापामा कार दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं। कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.१४च ९१०८ नम्बरको कार पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१० मा दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीको भनाइ छ । अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो । दुर्घटनामा परेर दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए। दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

घाइते हुनेमा मोरङ सुन्दरहरैँचा–६ की ४० वर्षीया रिता चौधरी, इटहरी–८ का २७ वर्षीय तेजन चौधरी, धरान–१५ का  ३६ वर्षीय बिबिसन दास र धरान–१५ कै ३३ वर्षीय राजेश चौधरी छन् । उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीकझ भनाई छ ।क

गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति 

काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटना अनुसन्धानका लागि विशेष समिति गठन भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा म‌ंगलबार पाँच सदस्यीय समिति गठन भएको हो । समितिमा ५ जना छन् । सोमबार साँझ घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । मोहम्मदको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए ।  उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

‘महापुरुष’ को नयाँ गीत बेमौसमीमा रोमान्टिक अरुण–अञ्जना र हरिवंश–गौरी

काठमाडौं। आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् । गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । अभिनेता हरिवंश आचार्यले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताए । ‘अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन् । यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ,’ उनले भने । फिल्म पारिवारिक ड्रामा रहेको उनले बताए । सार्वजनिक गीतमा हरिवंशले गौरीसँग अनस्क्रिन रोमान्स गरेका छन् । उनीहरू प्रेमभाव गीतमा देख्न सकिन्छ । ‘गीत छायांकन गर्दा धेरै रमाइलो भयो । यो अव्यक्त हाम्रो उमेर समूहको व्यक्तिको कथा पनि भन्न सकिन्छ । केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले भन्न सक्नु हँुदैन । यो कथाले हरेकलाई छुन्छ,’ आचार्यले भने । गीतमा बा र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीले यसमा समाजको गम्भीर विषयवस्तुलाई सरल किसिमले प्रस्तुत गरेका छौँ । अघिल्लो फिल्मको तुलनामा यहाँसम्म आइपुग्दा झनै दायित्वबोध भएको छ,’ उनले भने ।‘लोभीपापी’ पश्चात दोस्रोपटक हरिवंशसँग स्क्रिन सेयर गरेको गौरीले बताइन् । ‘यसमा हामीले गरेको मिहिनेत विस्तारै देखिएला । तर मैले नयाँ कुराहरू सिक्न पाएँ । गीतले थोरै हिन्ट गरेको छ,’ उनले भनिन् । अरुण क्षेत्रीले राम्रो टिमसँग जोडिएर डेब्यु गर्न पाएको बताए । ‘उहाँहरूको ऊर्जाले मलाई निकै हेल्प गरेको छ । गीतमा काम गर्दा निकै रमाइलो भयो । केही अगाडि मात्र छायांकन गरिएको गीत कथाअनुसार नै अगाडि बढ्छ,’ अरुणले भने ।

डेब्यु गर्ल अञ्जनाले पनि यस टिमसँग सहकार्य हुँदा निकै खुसी लागेको बताइन् । ‘यो टिमले मलाई यस उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ । यो मेरो लागि फिल्म क्षेत्रमा आउनु अगाडिको स्कुल झैँ भएको छ,’ उनले भनिन् ।
तस्बिरः ज्ञानु राई

नेकपा (एस) खोटाङ जिल्ला कमाण्डले थाल्यो निर्वाचनको तयारी

खोटाङ। नेकपा (एकीकृत समाजवादी) खोटाङ जिल्ला कमाण्डले निर्वाचनको तयारी थालेको छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङ संयोजकत्वको जिल्ला कमाण्डको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले जिल्ला अध्यक्ष जलसेर राईको संयोजकत्वमा १५५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । ७९ वडाका दुई जना प्रतिनिधि पर्नेगरी निर्वाचन परिचालन मूल समिति गठन गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिव राजन आचार्यले बताए ।  यस्तै, निर्वाचन सम्बन्धी प्रतिबद्धता–पत्र तयार पार्नका लागि केन्द्रीय सदस्य एवं पूर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला कमिटीका पदाधिकारी, १० पालिका इन्चार्ज, विज्ञ सदस्य रहेको कार्यदल बनाइएको छ । बैठकले आर्थिक विभाग प्रमुख एन्टी शेर्पाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ । आर्थिक व्यवस्थापनका लागि खोटाङ–काठमाडौं सम्पर्क मञ्चलाई पनि परिचालन गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले दसैँ तिहारको अवसरमा घटस्थापनाको दिन जिल्लाका सबै पालिकामा शुभकामना आदान–प्रदान कार्यक्रमको तयारी गरेको छ ।

खोटाङ: सहमतिपछि वडा कार्यालयको सेवा सुचारु

खोटाङ। सहमतिपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा सुचारु भएको छ । नगरपालिकाले हस्तक्षेप गरेको भन्दै दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहान, वडा सदस्य पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले भदौ २५ गतेदेखि वडा कार्यालयको सेवा बन्द गरेका थिए । मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडाध्यक्ष चौहानबीच भएको छलफलमा सहमति जुटेपछि ११ दिनपछि वडा कार्यालयको नियमित सेवा सुचारु भएको हो । वडा कार्यालयमा कार्यरत पुरानै कार्यालय सहयोगीलाई निरन्तरता दिने, वडा सचिव मीनप्रसाद आचार्यलाई वडामा खटाइएको बारेमा लिखित जानकारी उपलब्ध गराउने, अख्तियारमा उजुरी परेको अवस्थामा मध्यपहाडी लोकमार्ग–वडा कार्यालय दोर्पाचिउरीडाँडा सडक ढलानको भुक्तानी दिन नमिल्ने ब्यहोराको पत्र उपभोक्ता समितिलाई पठाउने, वडाको हक अधिकारमा हस्तक्षेप नगर्ने सहमति भएपछि वडाको सेवा सुचारु भएको हो । मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको भुक्तानीको सन्दर्भमा अख्तियारको निर्णयको आधारमा काम अघि बढाउने सहमति भएको मेयर भट्टराईले बताए । वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाका जनप्रतिनिधिले भदौ ३१ गते नगरपालिकालाई वडा कार्यालयको बाची बुझाएका थिए । सहमतिपति वडा कार्यालयको चाँबी प्रमुख प्रशासकीय अधिकृत पौडेलले वडाध्यक्ष चौहानलाई फिर्ता दिएका छन् । फरक दलले जितेकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरूमा अवरोध गर्ने, दुःख दिने, कर्मचारी हेरफेर गरेकाले विरोधमा उत्रनु परेको चौहानले बताए । वडाको कामकाज बन्द गरेको भन्दै सामाजिक सञ्जालमा वडाध्यक्ष चौहानको आलोचना भएको थियो ।

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बाबजुद दोर्पाचिउरीडाँडामा चौहान सहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् । मेयर भट्टराई गठबन्धन अन्तरगत कांग्रेसबाट र उपमेयर राई माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । यही राजनीतिक कारण पनि वडा र नगरबीचमा द्वन्द्व सिर्जना हुन पुगेको हो ।

स्टीमेट अनुसार सडक ढलान नभएको, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको, एकीकृत वस्ती विस्तार योजना अलपत्र परेको लगायत अधिकांश योजनामा गठबन्धन दलका स्थानीय नेताले आवाज उठाउँदै आएका छन् ।

खुला डवल ब्याडमिन्टन प्रतियोगितामा एलिस र सविन प्रथम 

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डवल ब्याडमिन्टन प्रतियोगितामा दोर्पा स्पोर्टस् क्लबका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो । बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगितामा सोल्मा स्पोर्टस् क्लबका प्रकाश राई र पवन राईको जोडी दोस्रो तथा ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रवीण मुग्रातीको जोडीले तेस्रो प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, दोस्रो स्थान प्राप्त गर्ने टिमले ३५ हजार र तेस्रो स्थान प्राप्त गर्ने टिमले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदीयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदीयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एवं गाउँपालिकाका सूचना प्रविधि अधिकृत संगम खतिवडाले बताए । विजेता टिमलाई गाउँपालिका अध्यक्ष समीर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

संविधान दिवसको अवसरमा गाउँपालिकाले अफिस ब्याडमिन्टन कभर्डहल उद्घाटनका साथमा खुला डवल ब्याडमिन्टन प्रतियोगितामा आयोजना गरेको हो । प्रतियोगितामा २५ टिमको प्रतिस्पर्धा भएको थियो ।

पाँच दलीय गठबन्धन टुट्ने खतरा : मसालका महामन्त्री सिंह

अर्घाखाँची। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलीय गठबन्धन कुनै पनि बेला टुट्नसक्ने बताएका छन् । ‘एकातिर सत्तागठवन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भई गठबन्धन भत्कन सक्छ,’ नेता सिंहले भने, ‘अर्कोतिर नेपाली काँग्रेसको एउटा पक्ष गठबन्धनको विपक्षमा छ ।’ गत स्थानीय निर्वाचनमा आफूहरूले इमानदारिता प्रस्तुत गरेको उनले बताए। ‘बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे,’ उनले भने । यद्यपि आफूहरूको जोड गठबन्धन बचाउन केन्द्रित भएको नेता सिंहको भनाई छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् ।

‘हिन्दु राज्यको बाटोमा एमाले हिँडेको र हिन्दु राष्ट्रको लागी हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ,’ सिंहले भने, ‘त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ ।’

 

अभियुक्तको परिचय गोप्य राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । अभियुक्तको परिचय गोप्प राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले आरोपी तथा अभियुक्तको परिचय गोप्य राख्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाइ संवैधानिक इजलाशमा हुनेछ ।
‘यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी अभियोग लागेका अभियुत्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक ना प्रदान गर्नु भनि विपक्षीको नाममा संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम परमादेश आदेश जारी गरी पाऊँ,’ रिटमा उल्लेख गरिएको छ ।

पीडक भनिएको व्यक्तिले सफाइ पाएमा न त उचित क्षतिपूर्तिको व्यवस्था नरहेको भन्दै रिट निवेदकहरुले अपराध पुष्टि नभएकै अवस्थामा अभियुक्तको चरित्र हत्या गर्नेगरी परिचय सार्वजनिक गर्दा पछि अपराधबाट सफाइ पाउँदासमेत समाजमा निजप्रति कलुषित धारणा बनिसकेको हुने दाबी गरेका छन् ।

फौजदारी अभियोग लागेका अभियुक्तको नाम जोडेर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने नकारात्मकण टिप्पणीले भने अभियुक्त नै अपराधि हो भन्ने मिडिया ट्रायलबाट हुने यौनजन्य अपराध तथा नैतिक पतन हुने फौजदारी अभियोग लागेका अभियुक्तको नाम छद्म राखी सुविधाको सन्तुलन तथा अभियुक्तलाई पुग्ने अपूरणीय क्षतिलाई न्यूनिकरण गर्नलाई आजकै मितिदेखि यौनजन्य अपराधमा कुनै व्यक्तिउपर अनुसन्धान गर्दा निजको चरित्र हत्या गर्ने तरिकाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्ने र कसैको गोपनीयतामाथि धावा बोल्ने, दख्खल गर्ने कार्य नगर्र्नू नगराउनू भनि विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्न रिट निवेदनहरुले माग गरेका छन् ।

विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गरः राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

‘प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

गत हप्ता परेको अबिरल बर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र कञ्चनपुर, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा बाढी, पहिरो एवम् डुबानका कारण ३२ जनाको मृत्यु, ३० जना घाइते, १२ जना बेपत्ता र ४ हजार ५१ घरपरिवार विस्थापित भएको आयोगले जनाएको छ ।

उक्त घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘यस प्राकृतिक विपद्बाट हुन गएको जनधनको क्षतिप्रति आयोग गहिरो दुःख व्यक्त गर्दछ,’ आयोगले भनेको छ ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको अवस्थासम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको छ ।

स्थानीय बासिन्दाको घर डुबानमा परी घरमा रहेका अन्नपात, लत्ताकपडा बगाएको, विस्थापितहरू पशु चौपायासहित स्थानीय सडकमा बसिरहेका, खुला आकाशमुनि बस्नुपरिरहेकोले बालबालिका, वृद्धवदाहरू र असहायहरूलाई समस्या परिरहेको, खाद्यान्न अभावको कारण चाउचाउ र चिउरा खाएर बसिरहेको जानकारी आयोगलाई विभिन्न स्रोतहरुबाट प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।

बाढीबाट विस्थापितहरूको लागि तत्कालै गाँस, बासको उचित व्यवस्था हुन नसक्दा प्रभावितहरू कष्टकर जीवन बिताउन बाध्य भएको पाइएको आयोगले बताएको छ ।

बाढीका कारण सयौं चौपाया मरेको र स्थानीयहरू चौपायासहित अव्यवस्थितरूपमा सडकमा बसिरहेकाले खानेपानी तथा सरसफाईको अभावमा विभिन्न रोगको सङ्क्रमण हुनसक्ने जोखिम देखिएकोमा आयोगले चिन्ता प्रकट गरेको छ ।

 

सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता

काठमाडौं ।सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता भएको छ । युवा तथा खेलकूद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी र नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रमलाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको स्काउटका संयोजक भण्डारीले बताए ।

खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै संयोजक भण्डारीले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Avatar