समाचार | Page 1691 of 5961 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

समाचार

क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा 

काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा मनोनयन गरेका छन् जसमा दास पनि परेका छन् । उनले सन् २००० मा युनाइटेड अरब इमिरेट्स विरुद्धको खेलमा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

अनसनरत डा. केसी थप उपचारका लागि काठमाडौं जान तयार 

धनगढी । सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ । अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।

सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताए ।  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताए । उनले भने, ‘साधन केमा लैजाने भन्ने टुङ्गो नलागे पनि उनलाई आज लैजान्छौं ।’ उपचारमा सम्लग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताए । यस्तै आमशयमा पनि रक्तश्राव भएको चिकित्सकहरूले बताएका छन् ।

समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दे उनी २०औं पटक अनसनमा बसेका हुन् । उनले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड लिएका छन् ।

धोबीघाटस्थित ग्यारेजमा आगलागी

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं ३ को धोबीघाटमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । आगलागी भएको स्थलबाट धुवाँको मुस्लो उडेको देखिएको छ । महानगरीय प्रहरी प्रभाग सानेपाले धोबीघाटस्थित एक ग्यारेजमा आगो लागेको देखिएको र उद्धार टोली त्यसतर्फ जाँदै गरेको जनाएको छ । यद्यपि घटनाको क्षति विवरण भने यकिन भइसकेको छैन ।

नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिको कदमप्रति जनमोर्चाले गरेन हस्ताक्षर

काठमाडौं । पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति चासो दिन आवश्यक ठानेन । बुधबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय बैठकमा सहभागी भए पनि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी वा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेनन् ।

यसअघि पाँचदलीय गठबन्धनका हरेक विज्ञप्तिमा उपाध्यक्ष पौडेलले हस्ताक्षर गर्दै आएकी थिइन् । तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अस्वीकार गर्ने निर्णयको विरोधमा निकालिएको विज्ञप्तिमा जनमोर्चा सहभागी भएन ।

जनमोर्चाका अध्यक्ष केसीले राष्ट्रपति भण्डारीको कदमप्रति आफूहरूको कुनै चासो नरहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो पार्टीले सुरुदेखि नै नागरिकता विधेयकप्रति फरक धारणा राखेको उल्लेख गर्दै अहिले राष्ट्रपतिको कदमबारे बोल्नु आवश्यक नरहेको उनको भनाइ छ ।

देउवाले थपे कांग्रेस घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनयन गरेका छन् । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी उक्त जानकारी दिएका हुन् ।

देउवाले आज मनोनयन गरेका सदस्यमा फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य योगेन्द्र चौधरी, केन्द्रीय सदस्य रंगमती शाही, केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल, केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र, केन्द्रीय सदस्य नानु बाँस्तोला, अनुराधा कोइराला र मनोहरनारायण श्रेष्ठ छन् ।

यस्तै मनोनयनमा परेका अन्यमा किरण गिरि, डा बिष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णीम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा. अञ्जनी झा, ई. अभिमन्युलाल सिंह,  ई. हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ र प्रताप पौडेल रहेका छन् ।

डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा. कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र डा. प्रदीप पराजुलीलाई पनि देउवाले मनोनयन गरेका छन् ।

पुटिनले दिए सैन्य परिचालनको आदेश

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय ‘मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न’ लिएको बताए।
यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं’, पुटिनले भने ।

गठबन्धन बैठकको निर्णय : राष्ट्रपतिले संवैधानकि व्यवस्थामाथि प्रहार गरिन्

काठमाडौं । सरकारमा सहभागी दलहरूको बुधबार बसेको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको निश्कर्ष निकालेको छ । संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमा हिजो बुधबार सकिएको हो ।

राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको अपमान र अवमूल्यन भएको छ बैठकको निश्कर्ष छ । राष्ट्रपतिको कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको र अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मूल्य मान्यतामा गम्भीर प्रहार भएको बैठकको ठहर छ ।

राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, वौद्धिक समुदाय, संचार लगायतलाई बैठक आह्वान गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष सहभागी थिए ।

सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने समय पुनः थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।  यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।

तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय  कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आइपिओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । सह-निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

बलिउडका कमेडियन राजु श्रीवास्तवको निधन

मुम्बई । बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । ५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।

लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘दिवार’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए । सुरुमा अटो ड्राइभर बनेका उनले बलिउड छिर्न चार पाँच वर्ष संघर्ष गरेका थिए । एक दिन एकजना यात्रुले राजुलाई स्टेज परफरमेन्स गर्न सल्लाह दिएपछि उनले स्टेज शो गरेका थिए । जसमा उनलाई सुरुमा ५० रुपैयाँ पारिश्रमिक दिइएको थियो । पछि उनले लगातार कमेडी स्टेज शो गरे र सबैको लोकप्रिय बने ।

उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ । बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मंगलबार मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।

नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनको ठहर छ । ‘राष्ट्रपतिको कदम असंवैधानिक हो, गठबन्धनको तर्फबाट वक्तव्य आउँछ,’ माओवादीका एक नेताले कुराकारीका क्रममा भने ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित सडकमा प्र.३–०२–०१२ प ८१२२ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २१ वर्षीय दिल्लिराम खाती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको शिवसताक्षी नगरपालिका–१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार मंगलबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी इटहरी उपमहानगरपालिका–१० बस्ने ३० वर्षीया गिता चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–९ फुलबारी टोलस्थित सडकमा प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही उपमहानगरपालिका–५ बस्ने ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–७ जवाभरीस्थित सडकमा लु.४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने महम्मद मुस्तखाको १६ वर्षीया छोरी अमरुन निसा रहेकी छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगन्ज हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमान टोलस्थित सडकमा ग.२२ प ५३७० नम्बरको स्कुटर मंगलबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक तनहुँ ब्यास नगरपालिका–१ बस्ने ५० वर्षीय बल बहादुर राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।

बारामा ५० केजी गाँजा बरामद

काठमाडौं । बाराको पचरौता नगरपालिका–२ बिष्णपुरस्थित सडकबाट ५० केजी अवैध लागूऔषध गाँजा मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा बोरामा राखी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बरामद गरेको हो । अपरिचित मोटरसाइकल चालकले बोरा फालेर फरार भएपछि उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

करेन्ट लागेर तीन जनाको मृत्यु 

काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–५ बस्ने ४२ वर्षीय हर्क बहादुर नेपालीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चितवनको राप्ती नगरपालिका–९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।  आफ्नै घरमा बत्तीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको अर्जुनधारा नगरपालिका–१० कालीझोडा बस्ने २७ वर्षीय ईन्द्र चेम्जुङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनचाँदीको मूल्य घट्यो  

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौं । भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ ।

विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेम गीत ३ काबारेमा अन्तर्वार्ता लिएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेम गीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो ।  भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

शिकागोको आवासीय भवनमा विस्फोट

न्युयोर्क । शिकागोको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका स्थानीय अग्नि विभागका अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार विहान पौने दश बजे उक्त विस्फोट भएको अग्नि नियन्त्रण विभागका अधिकारीहरुले जनाएका छन् ।

वासिंटन बुलेभार्ड र सेन्ट्रल एभिन्यु नजिकै विस्फोट भएको हो । विस्फोटका घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । विस्फोट  भएको स्थान नजिकै रहेको भवन खाली गर्ने काम भइरहेको दमकल अधिकारीहरुले बताएका छन् । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।