समाचार | Page 2027 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

समाचार

गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

पोखरा । गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ । ११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारीलाई सरकारले काम चित्तबुझ्दो नभएको आरोपमा हटाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘उहाँहरूलाई काम चित्तबुझ्दो नभएकोमा स्पष्टीकरण सोधिएको थियो । उहाँहरुले दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालयको सिफारिसमा पदबाट हटाईएको हो,’ उननले भने ।

यसअघि सरकारले सबैलाई स्पष्टीकरण सोधेको थियो । सबै समिति एमाले नेतृत्वको सरकार भएका बेला गठन गरिएको हो । हटाइएकाहरुले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । संक्रामक तथा सरुवा रोग अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्ण पौडेलले राजनीतिक परिवर्तनसँग यस्ता संस्थालाई चलाउनु उपयुक्त नहुने बताए ।

‘सरकार त परिस्थिति जन्य विषय हो । कहिले को आउँछ, कहिले को आउँछ । तर, मातहतका निकायलाई सरकार नयाँ भएपछि चलाउनु राम्रो होइन,’ उनले भने, ‘यसरी देशको विकास हुँदैन । काम राम्रो नभए सुधार्न सुझाव दिनुपर्छ । एकैचोटी हटाउनु राम्रो हुँदैन ।’

बर्खास्तमा परेकाहरु भने अदालत जाने तयारीमा छन् । विनाकारण राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै उनीहरु अदालत जान लागेका हुन् ।
‘विधि प्रक्रियाबाट नियुक्त भएका हौं । व्यक्तिगत कुरा होइन । सबै समितिसँग कुरा गर्छौं । त्यतिबेला नियुक्त गर्ने सरकारसँग पनि सल्लाह गर्छौं । कानुन अनुसार नियुक्ति थियो,’ उनले भने, ‘सरकारले सोधेपछि स्पष्टीकरण दिएका थियौं । हटाउला भन्ने चाहिँ लागेको थिएन । यसरी हटाउनु गैरकानुनी हो । हामी कानुनी उपचार खोज्छौं ।’ उनले राजनीतिक विभेद गरेर देश नबन्ने बताए ।

‘विल्कुल राजनीतिक विभेद हो । हामी राजनीति गर्ने नै मान्छे हौं । संकुचित भावनाबाट अघि बढ्यौं भने देश र खेलकुद क्षेत्र बन्दैन,’ उनले भने । बर्खास्तमा पर्नेहरूमा १४३ जना खेलकुद विकास समितिका पदाधिकारी र सदस्य तथा अस्पतालका अध्यक्ष छन् । सबै जिल्लामा १३ सदस्यका दरले समिति गठन भएको थियो ।

युक्रेनको ट्रेन स्टेशनमा रकेट हमला : ३० को मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी । पूर्वी युक्रेनको क्रामास्टोर्क सहरको ट्रेन स्टेशनमा रकेट हमला हुँदा ३० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । उक्त स्टेसन युक्रेनी आम मानिसहरूले सहर छोड्नको लागि प्रयोग गर्दै आएको संचारमाध्याम एपीएफले जनाएको छ ।

शुक्रवार भएको उक्त रकेट हमला सहर छोडेर बाहिर जान चाहेका युक्रेनी नागरिकहरूलाई लक्षित गर्दै रुसद्वारा प्रहार भएको एपीएफको रिपोर्टमा उल्लेख छ । पछिल्लो समय रुस माथि युद्ध अपराध र मानव अधिकार हननको आरोप लागिरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो । रुसले युक्रेनको बुचा सहरमा पनि आम मानिसहरूको हत्या गरी युद्ध अपराध गरेको बताइएको छ जसका कारण हालै मात्र रुसलाई मानव अधिकार परिषद्बाट समेत निलम्बित गरिएको छ ।

गण्डकीको हिउँदे अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्यको आह्वान गरेको हो । सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको संसद बैठकमा अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका हुन् । यो  विधेयक अधिवेशन गत २७ फागुनमा सुरु भएको थियो । हिउँदे अधिवेशनमा ८ वटा बैठक बसेको थियो ।

स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आरोप लगाएका हुन् ।

‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने छन्,’ उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्पताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’

पशुपति धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा सरकारले लगायो ताला

काठमाडौं । पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको होटेलको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ। नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।

ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।

कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।

यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।

तनहुँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु   

तनहुँ । व्यास नगरपालिका–१२ देउरालीमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आईकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक 

काठमाडौं । धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना हुने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।

सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै सुदुरपश्चिम आइकन महिला तर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् ।

कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी एन्फा प्रेसिडेन्ट कप च्याम्पियन बनेको थियो । त्यस्तै उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सि डिभिजन छनोट भएको थियो । उनकै नेतृत्वमा रहेको विजय स्पोर्टस क्लब जिल्ला च्याम्पियन बनेको थियो ।

अर्जुन साउँदले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए । उनले एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा श्रीलंका विरुद्ध अर्धशतक बनाएका थिए । अशोक भण्डारीले २४ औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताएका छन् ।

उनी सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए । त्यस्तै राजविराजमा भएकोमा भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

क्रिकेटर कविता कुँवरले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेब्यु गरेकी छिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ७ विकेट र ४० रनको योगदान दिएकी थिइन् । ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा ५ खेलमा ४० रन र बनाउँदै उत्कृष्ट बलिङ गरेकी थिइन् ।

स्वस्तिका तिरुवाले युएईमा सञ्चालन भएको जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी छिन् । उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन् । जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिइन् ।

त्यस्तै तेक्वान्दोकी गीता कडायतले हालै काठमाडाैँमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनले काठमाडाैँमा भएको मेयर कपमा रजत पदक जितेकी थिइन् ।

विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा

काठमाडौं । यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ। साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो । साताको अन्तिम दिन बिहीबार  भने ३५ अंकले बढेर सेयर बजार २४६४ बिन्दुमा आएर बन्द भएको छ । यो साता नेप्से आइतबार २५८५ उच्च बिन्दु र बुधबार २४१६ मा झरेको थियो ।

यो साता इन्डिकेटर आरएसआईमा डाइभर्सन देखिन खोजेको छ । लगातार घटेको बजार बिहीबार ३५ अंकले उकालो लाग्दा आरएसआइ २८ बाट ३५ अंकमा अएको छ भने इन्डिकेटर एमए सिडीले भने बिहीबारसम्म बाइ सिग्नल दिएको छैन ।

साप्ताहिक बजार हेर्दा होटेल इन्डेक्स भने पहिलाको हप्ताको हाइ ३१४० मै बन्द भएको देखिन्छ । होटेल इन्डेक्स यो साता खासै घटेको देखिन्न । अन्य परिसूचक भने यो साता करिब ८३ अंकले घट्दा १९६९ बिन्दुमा आएर बन्द भएको छ ।

डेभलप्मेन्ट बैंक इन्डेक्स १४ अंकले, कमर्सियल बैंक इन्डेक्स २९ अंकले घटेको छ । हाइड्रो इन्डेक्स, माइक्रो फाइन्न्स इन्डेक्स भने ३३, ४९ र १०२ अंकले घटेको छ ।

यसरी लगातार बजार घट्नुको कारण बजारमा तरलताको कमी रहेको अर्थविद्हरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले आयात गर्ने करिब ३०० वस्तुमा कडाइ गरेकाले बजारमा बिस्तारै तरलताको समस्या समाधान हुने अर्थविद्हरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापारः २४ भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य, निर्यात शून्य रहेका नाकाबाट ४० अर्बको आयात 

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाधरुपमा चलिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिना (साउनदेखि फागुनसम्म)को अवधिमा १० वटा नाकाबाट एक रुपैयाँको वस्तु पनि पठाइएको छैन ।

भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सुनसरी, तातोपानी र टाँडी सीमा भन्सार नाकाबाट पछिल्लो आठ महिनामा कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । जबकी सोही अवधिमा ती नाकाबाट नेपालमा ३९ अर्ब ८४ करोड १५ लाख ४३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयौको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

नेपालले भद्रपुर, भैरहवा, विराटनगर, विरगन्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरी २४ वटा सीमा भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।

नेपालको निर्यात शून्य रहेका सीमानाकामध्ये भद्रपुरबाट ७७ करोड ७३ लाख १ हजार रुपैयाँ, गौरबाट १ अर्ब ४ करोड ५२ लाख ५५ हजार रुपैयाँ, जनकपुरबाट ८४ करोड ६७ लाख ३९ हजार रुपैयाँ, महेशपुरबाट १ अर्ब १२ करोड ४७ लाख २६ हजार रुपैयाँ, राजविराजबाट ११ करोड १० लाख ४४ हजार रुपैयाँ, रसुवाबाट १८ अर्ब ४७ करोड ५२ लाख ९४ हजार रुपैयाँ, सर्लाहीबाट ३ अर्ब ४२ करोड ९५ लाख ६७ हजार रुपैयाँ, सुनसरीबाट ४ अर्ब ८४ करोड २५ लाख ७५ हजार रुपैयाँ, तातोपानीबाट ९ अर्ब ६ करोड ६५ लाख ५५ हजार रुपैयाँ र टाँडीबाट १२ करोड २४ लाख ८७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

चीनसँग सीमा जोडिएका दुवै नाका रसुवागढी र तातोपानीबाट निर्यातसुन्य रहेको छ ।

सबैभन्दा बढी आयात–निर्यात विरगन्जबाट 

नेपालका २४ मध्ये सबैभन्दा ठूलो वैदेशिक व्यापार विरगन्ज नाकाबाट हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा विरगन्ज नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख ७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सोही समयमा विरगन्ज नाकाबाट ६६ अर्ब ३६ करोड २ लाख ८३ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

नेपालको कूल आयात व्यापारमध्ये ३५.४० प्रतिशत विरगन्ज नाकाबाट हुने गरेको छ । यस्तै, कूल निर्यात व्यापारको ४४.९२ प्रतिशत विरगन्ज नाकाहुँदै हुने गरेको छ ।

नेपालले दोस्रो ठूलो आयात भैरहवा नाकाबाट गर्ने गरेको छ । बितेका आठ महिनामा भैरहवा नाकाबाट नेपालमा २ खर्ब ६ अर्ब ७५ करोड ४५ लाख ९३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।

यस्तै, चालु आर्थिक वर्ष सुरु भएयता विराटनगरबाट १ खर्ब ४८ अर्ब ५६ करोड ८६ लाख २६ हजार रुपैयाँ, ड्राइपोर्टबाट १ खर्ब ४६ अर्ब ५५ करोड ४३ लाख ४३ हजार रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ५७ अर्ब ७३ करोड २० लाख ५७ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।

कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ। कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो । खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा दबाब बनाउँदै उत्कृष्ट पुनरागम गरेको थियो।

दोस्रो हाफमा खेलमा दबाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए। तर, ४३ औं मिनेटमा कीर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो।  त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।

फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरू भाग्यमानी रहेको बताए। ‘दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर, आजको खेलमा हामी भाग्यमानी ठहर्‍यौं। अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ,’ उनले भने।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए। ‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं। मौकाहरु धेरै बनाउन सक्यो। १३/१४ वटा टार्गेटमा सट प्रहार गरे पनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्‍यौं,’ उनले भने ।

पशुपति धर्मशालामा तालाबन्दी गर्ने सरकारको दोस्रो प्रयास पनि असफल

काठमाडौं । पाशुपत क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा तालाबन्दी गर्ने पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल भएको छ । कोषका पदाधिकारी तालाबन्दी गर्न आएको भन्दै बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि उनीहरू फर्किएका छन् । गत साताको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित  कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी गर्न भने सकेनन् ।

शुक्रबार पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखोलेपछि कोषका पदाधिकारी फर्किए । आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको जानकारी दिए ।

काेषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारी नरहेको भन्दै गेट खोल्न नमानेका हुन् । यो विषय अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट हुने फैसला आफूहरूलाई मान्य हुने बताउँदै ती कर्मचारीले गेट नखोल्ने जिकिर गरे ।

जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गर्ने कोषको प्रयास पनि असफल भएको छ । धर्मशालाको विषय अदालतमा विचाराधीन रहेको भन्दै तालाबन्दी गर्ने विषयमा काठमाडौं महानगर वडा ८ का अध्यक्ष दिनेश डंगोलले हस्ताक्षर गर्न मानेनन् ।

च्याउ खेतीप्रति मुगुका महिलाकाे आकर्षण

मुगु । मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् । मा रमाउन थालेकि छन् । परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका  धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन् ।

च्याउ खेती सुरु गरेपश्चात आधारभूत आवश्यकता टार्नेदेखि  अतिरिक्त आम्दानी हुने उनीहरू आशावादी छन् । उनीहरूले च्याउ खेतीसँगै परम्पराग बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताइन् । मुगुमो च्याउको प्रतिकिलो पाँच सय रुपैयाँका किनबेच हुने गरेको छ । मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौसम्मको समय ठिक हुने उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकका कर्मचारीले नै चुहाउँछन् मिडियामा गोप्य सूचनाः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।

‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्‍याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’ यसअघि अर्थमन्त्री शर्माले व्यापारी शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैंकले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन आफूले सहजीकरण गरिदिएको प्रतिक्रिया दिएका थिए ।

मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पु¥याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने दाबी पनि गरे । ‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ।’

नलगाड जलविद्युत् : ८० महिना पनि बनेन डीपीआर 

सुर्खेत । ३२ महिनाभित्र सक्नुपर्ने नलगाड जलविद्युत कम्पनी लिमिटेडको ४१७ मेगावाट आयोजनाको डीपीआर ८० महिना भइसक्दा पनि बन्न सकेको छैन । यस विषयमा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जाविकास मन्त्री गणेशप्रसाद सिंहले सरोकारवालासँग छलफल गरेका छन् ।

३२ महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काम करिब ८० महिना पुगिसक्दा पनि कन्सलटेन्टले प्रतिवेदन नबुझाएपछि मन्त्री सिंहले चासो राखेका हुन् । उनले अबको तीन महिना डीपीआरको प्रतिवेदन बुझाउन कन्सलटेन्टलाइ निर्देशन दिएका छन् ।

८० महिनासम्म डीपीआरको प्रतिवेदन बुझाउन नसकेको डीपीआर निर्माणको जिम्मेवारी लिएको स्मेक कम्पनीको म्याद थप गर्ने विषयमा समेत मन्त्री सिंंहले छलफल गरेका छन् ।

तीन महिना भित्र काम पूरा गर्ने र सन्सलटेन्टलाइ भुक्तानी गर्नुपर्ने रकम समेत समयमै भुक्तानी गर्ने विषयमा समेत छलफल भएको छ । छलफलमा मन्त्री सिंहसहित स्मेक कन्सलटेन्टको नेतृत्वकर्ता राजेश डार्मिन नेतृत्वको टोली र कम्पनीका प्रमुख सुनिल पौडेलको सहभागीता थियोे ।

हप्ता दिनभित्र नलगाड जलविद्युत कम्पनी लिमिटेडले मन्त्री सिंहको निर्देशनअनुसार आफूहरू काममा जुटिसकेको कम्पनीका प्रमुख पौडेलले जानकारी दिए ।

त्यस्तै ७.१ मेगावाट क्षमताको  ताक्सुगाड जलविद्युत आयोजना निर्माणका लागि डीपीआरको काम तीन महिनाभित्र सक्न मन्त्री सिंहले निर्देशन दिएका छन् । ताक्सुगाड जलविद्युत आयोजना जाजरकोट नलगाड नगरपालिका भित्र नै पर्दछ ।

लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग

ललितपुर । ललितपुर चेम्बर आफ कमर्सले ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ ।

ललितपुर चेम्बरको दोस्राे साधारण सभामा शुक्रबार अध्यक्ष पुष्परत्न शाक्यले आठबुँदे माग राख्दै कोरोना प्रभावित उद्यमीलाई निकासीजन्य हस्तकलालगायत सरसामानमा प्रोत्साहन अनुदान दिन ललितपुरका व्यवसायीहरूको सर्टिफिकेट अफ ओरिजिन सिफारिस ललितपुर चेम्बरबाट गर्ने व्यवस्था मिलाउन, निर्यात वस्तुमा जिएसए लागू गर्न, महानगरपालिकाको स्वामित्वमा रहेको पसल कवल तीनवटा चेम्बरको हस्तकला प्रदर्शनीका लागि उपलव्ध गराउन,चेम्बरको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउनेलगायतका माग राखेका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले संघीय सरकारले सकेको सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘ललितपुर महानगरले पनि उद्योगी व्यवसायीहरूलाई आवश्यक सहयोग गर्न सक्ने हुँदा समन्वय गरेर काम गर्नु होला ।’

ऊर्जामन्त्री भुसालले व्यवसायीहरू राजनीतिक दल जस्तो झगडा नगरी मिलेर अघि बढ्नुपर्ने बताइन् । उद्यमी व्यवसायीको काँधमा देशको अर्थतन्त्रलाई कायापलट बनाउने जिम्मेवारी रहेकाले मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । मन्त्री भुसालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बरजस्ता धेरै संघसंस्थामा उद्योगी व्यवसायी बाँडिएर काम गर्नुभन्दा मिलेर अघि बढ्दा फाइदा हुने बताइन् ।

ललितपुर महानगरकी उपमेयर गीता सत्यालले व्यवसायीहरूले उत्पादन गरेका वस्तुहको बिक्री तथा प्रवर्द्धनका लागि बिक्री कक्ष निर्माण गरी उपलव्ध गराउने निर्णय भइसकेको बताइन् । उनले भनिन्, ‘कार्यान्वयनका लागि पहल गर्न अघि बढ्नुस् ।’

कार्यक्रममा फोटोपत्रकार अशोक दुलाल र पत्रकार शरद ओझलाई पत्रकारितामा उत्कृष्ट योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट 

सुर्खेत । दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेताहरू नमुना बस्तीमा पुग्छन् र समस्या समाधान गर्ने आश्वासन  दिन्छन् । चुनावी एजेण्डा बनाउँछन्, चुनाव जित्छन् । उनीहरू फर्किएर आउँदैनन् र समस्या ज्यूँकात्यूँ रहेका हुन्छ । वर्षाैँदेखि यही पीडाबाट गुर्जिरहेका छन्– नारायण नगरपालिका ६ स्थित नमुना बादी समुदाय ।

हरेक निर्वाचनमा आफ्नो बस्तीको एजेण्डा बने पनि समाधान भने हुन नसकेको राजन बादी बताउँछन् । ‘लालपुर्जाविना यहाँ बस्न थालेको १८ वर्ष बित्यो,’ उनले भने, ‘अहिलेसम्म नेताहरूको कमाइ खाने भाँडो र चुनावी एजेण्डा मात्र भयौँ ।’

दैलेखको नारायण नगरपालिकास्थित नमूना बस्तीमा बस्दै आएका ५१ घरपरिवार रहेका बादी समुदायलाई १८ वर्ष बितिसक्दा पनि सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन । सदरमुकामसमेत रहेको नारायण नगरपालिका –६ गणेशचोकको पछाडि भिरालो जग्गामा ५१ घरधरी बसोबास गर्दै आएका छन् ।

तत्कालीन द्वन्द्वकालमा राज्य र माओवादी दुवै पक्षबाट असुरक्षित भएपछि उनीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट ल्याएर उक्त ठाउँमा राखिएको थियो । अहिले उनीहरू बिहानदेखि साँझसम्म अरूकै घरमा ज्याला मज्दुरी गरेर साँझ बिहानको छाक टारिरहेका छन् । अहिले उनीहरूसँग न त जमिन छ, न त आफू बस्ने घरको जमिनको लालपुर्जा नै छ । जब–जब चुनाव आउन थाल्छ, तब–तब नेताहरू बस्तीमा पुग्छन् र भन्छन, ‘हामीलाई भोट दिनुहोस्, तपाईँको अमूल्य भोटले हामीले जित्यौँ भने तपाईँका समस्या हल गर्नेछौँ ।’ तर, जितेपछि फर्केर आउदैनन् ।

आशा निराशामा परिणत हुँदै

स्थानीय सरकार आएपछि नमूना बस्तीका बादी समुदायलाई आफ्ना दैनिकी फेरिने आशा थियो । तर, उक्त आशाहरू सबै निराशामा परिणत हुँदै गएको बादी समुदायकी अगुवा गीता बादी बताउँछिन् ।  ‘सरकारले आश्वासन दिएअनुसार नै लालपुर्जा मात्र दिएको भए पनि गाँस र कपासको त व्यवस्था आफैँ गरिहाल्ने थियौँ,’ उनले भनिन्, ‘१८ वर्षदेखि बसोबास गरेको जग्गा आफूहरूले नै प्रयोग गर्न पाउनु पर्छ ।’

बस्तीका सबै एकजुट भएर हाम्रा माग पूरा नभएसम्म कसैलाई भोट दिदैनौैँ उनले बताइन् । नमूना बस्तीकै गोरबहादुुर बादीले पनि यसअघि भएका निर्वाचनका बेला नेताहरूले पटकपटक बस्तीमा आई झुक्याएकोले अब काम नगरी भोट नदिने बताए ।

यहाँका समुदायको दैनिकी बिहान साँझ छाक टार्नका लागि दिनभर सदरमुकाममा आउने ठूलाठूला मालबाहक गाडीहरूमा आएको समान लोड अनलोड गरेर कमाएको थोरै पैसाले छाक टार्दै आएका छन ।

लालपुर्जा नहुँदा सेवासुविधाबाट बञ्चित

लालपुर्जा नभएकै कारण यहाँका नागरिकले सरकारले दिने विभिन्न सेवासुविधाबाट पनि वञ्चित हुँदै आउनु परेको छ ।  राष्ट्रिय भूमि आयोग दैलेखका अध्यक्ष नयाँराम थापाले भूमिहीन नागरिकले छिटै लालपुर्जा पाउने बताए । ‘स्थानीय सरकारको वडादेखि जति छिटो विवरण आयोगको जिल्ला समितिमा प्राप्त हुन्छ,’ उनले भने, ‘त्यहीअनुसार तत्काल भू–स्वामीत्वविहीन नागरिकहरूले जग्गाको लालपुर्जा पाउनेछन् ।’

३५ दिने सुचना मागेर दुई किसिमको फारम भरिसकेपछि   आयोग विगठन भएको नारायण नगरपालिका मेयर रत्नबहादुर खड्का बताउँछन् । अहिले पुन आयोग गठन भएपछि भुमि आयोगको केन्द्रीय कार्यालयमा पुगेर सम्झौता गरेर आएको बताएका मेयर खड्का बताउँछन्, ‘पालिकास्तरीय बैठक बसेर ३५ दिने सूचनाको लागि थप म्याप गरेर सुचना खुलेको छ ।’