काठमाडौं, १० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गर्नु भएको छ ।
मन्त्री अर्यालले शनिवार अध्यक्ष दाहालको खुमलटार स्थित निवासमा पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गर्नु भएको हो । उक्त अवसरमा अध्यक्ष दाहालले नक्सा तयार पार्न खटिने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनु भयो ।
यस अघि नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपि शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार हस्तान्तरण गरेको थियो ।
त्यसैगरी प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाइ शुक्रबार नै पनि नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको थियो ।