एजेन्सी,७ जेठ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाबारे लिएको नीतिबारे छानविन गर्न सदस्य राष्ट्रहरु सहमत, अमेरिकाकोे निरन्तर आलोचना पछि यस्तो निर्णय गरिएको प्रतिकृया ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोरोना भाइरसबारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि सहमत भएका छन् ।
डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको नीतिप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि स्वतन्त्र छानविन गर्न सहमति जुटेको हो ।
डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देशहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोना भाइरसबाट सिर्जित संकटबारे अन्तर्रा्ष्ट्रिय प्रतिक्रियाको निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्यांकन गर्दै प्रस्ताव पारित गरेको बताइएको छ ।
जसमा डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानविन र उनीहरूको सीमा समेत रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो ।