काठमाडौं, १० वैशाख । मुस्लिम संघ नेपालले तब्लिगी जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो ।
संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिगी अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गर्नुभएको छ ।
अध्यक्ष सतारले तब्लिगी जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन पनि आग्रह गर्नुभयो । उहाँले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दुरी कायम गरेर पढ्न समेत आग्रह गर्नुभएको छ ।