काठमाडौँ, ९ चैत । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना संक्रमणविरुद्ध सरकारले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । दाहालले आइतबार विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम नागरिकलाई आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमा दाहालले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । दाहालले विज्ञप्तिमा राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्नेमा जोड दिनु भएको छ ।




