उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ: अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ: अध्यक्ष दाहाल

dwandakalin-prachanda

काठमाडौँ, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उहाँले विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस सङ्कटको घडीमा परिचालित हुन र कोरोनाविरुद्धको लडार्इंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्नुभयो ।

विश्व महामारीको कारण निधन भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । नेपालमा सङ्क्रमण भएका नागरिकरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको कोरोना जस्तो घातक भाइरसविरुद्ध सचेततापूर्वक सावधानी अपनाउनसमेत आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले सचेत नागरिक र आमसञ्चारमाध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवं शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात् गर्नसमेत विशेष आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले कोभिड–१९ को सङ्क्रमणविरुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षा गर्न र त्यसमार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गर्नुभएको छ ।

कोरोना भाइरसविरुद्धको लडाईंको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको मनोबल उच्च राख्न सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले सङ्कटको यो अवस्थामा गरिब, असहायको सहयोगमा मुट्ठी फुकाउन, निजी क्षेत्रका व्यवसायीसँग पनि अपिल गर्नुभएको छ । अध्यक्ष दाहालले व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, हात नमिलाउने, हाच्छिउँ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकतानुसार मास्क प्रयोग गर्ने र सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न र अनुशासनमा रहन आमजनसमुदायसँग अनुरोध गर्नुभएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);