काठमाडौं, २ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा जारी मतदानमा अहिले दिउँसो १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मतदान कार्य बेलुका ५ बजेसम्म हुनेछ। प्रदेश नं दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा सोमबार भइरहेको मतदानबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने छन्।