झापा, ८ फागुन । झापा गाउँपालिका-१ का सन्थाल समुदायमा वर्षाैं पछि खुशी छाएको छ । उनीहरुमा खुशीको बहारा आउनुको एउटै कारण हो, नयाँ घर र घरसंगै निर्माण गरिएको कालोपत्रे सडक ।
ऐलेनी जमिनमा फुसको घरमा कष्टकर जीवन बिताइरहेका ४० परिवारलाई एकै प्रकृतिको नयाँ घर निर्माण गर्दै गाउँपालिकाले हस्तान्तरण गरेपछी अहिले त्यहाँको वातावरण नै परिवर्तन भएको छ ।
लोपउन्मुख अबस्थामा रहेको संस्थाल नृत्य प्राय कुनै हाट बजार वा सभा समारोहमा मात्र देखाइन्छ । तर, यो माहोल भने अलिक फरक छ । झापा गाउँपालिका – १ लसुनाका यि बालबालिकाले आफ्नो संस्ककार संस्कृति झल्कने सन्थाल नृत्य नयाँ घर पाएसंगै खुशीले देखाएका हुन् ।
वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बस्न हुने मात्रको घरमा बस्दै आएका लसुना गाउँका ४० परिवारलाई एकै पटक घर हस्तान्तरण गरिएपछीको अहिले त्यहाँको माहोल फेरिएको छ ।
ह्याविट्याट फर ह्युमानिटीको सहयोगमा सहारा नेपाल(साकोस) सहकारी संस्था लिमिटेड बिर्तामोड र झापा गाउँपालिकाले जिविको पार्जनका लागि अर्काको खेतवारीमा ज्याला मजदुर गर्दै आएका त्यस स्थानका बासिन्दालाई सुरक्षित घर निर्माण गरिदिएको हो ।
साझेदारसंग मिलि गाउँपालिकाले प्रतिघर निर्माणका लागि १ लाख ५० हजार रुपैंयाँ उपलब्ध गराएसंगै घरधनीको जनश्रमदाननमा दुई लाख २५ हजार रुपैयाँमा घर भएको हो ।
स्थानीय संघ संस्थाको साझेदारी तथा गााउँपालिकाको पहलमा अहिले झापा गाउँपालिकामा विकास निर्माणका थुप्रै काम गरिएका छन् ।
साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरबाट अहिले झापाका विपन्न समुदायका नागरिक चिटिक्क टिनको छानो भएको र सिमेन्टको खम्बा ठड्याएको तीन कोठा घरमा बस्न पाउँदा दंग छन् ।