वुहानमा रहेका नेपालीलाई ल्याउन विमान चीनतर्फ उड्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

वुहानमा रहेका नेपालीलाई ल्याउन विमान चीनतर्फ उड्यो

काठमाडौं, ३ फागुन । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको बिमान आज त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट त्यसतर्फ उडेको हो । विमान चिनियाँ समय अनुसार शनिबार राति  वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

स्वदेश फर्कनका लागि १ सय ८२ जना नेपाली बुहान बिमानस्थलमा जम्मा भइसकेको जनाइएको छ । वुहानबाट स्थानीय समयअनुसार आज राती ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ।

आइतबार विहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ। काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १सय ८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ।

विमानको ककपिट क्रुलाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी क्याबिन क्रुलाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।

विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् ।