महोत्तरी, १ फागुन । महोत्तरीको सदरमुकाम जलेश्वरमा सेवाग्राहीको भीड हुने कार्यालयको संख्या धेरै छन् । तर ती कार्यालयमा पार्किङको उचित ब्यवस्था नहुँदा सेवाग्रहीलाई समस्या हुने गरेको छ । सेवाग्राहीले प्रयोेग गर्ने सवारी साधनले नगरको मुख्य क्षेत्र नै ढाक्दा दैनिक कार्यसम्पादन र ट्राफिक व्यवस्थापनमा नै समस्या भएको छ ।
जलेश्वरको मुख्य बजार क्षेत्रमा धेरै सरकारी कार्यालय छन् । तर पार्कीङका लागी आवस्यक स्थान नहुँदा सेवाग्राहीका सवारीसाधनले नै सडक ढाकिदिन्छ यसले पैदल यात्री र सवारी चालक दुवै आजित भएका छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला अदालत बाहिर पार्किङका लागी पुग्ने स्थान छ । तर उक्त स्थानमा कर्मचारीहरुले मात्र पार्किङ गर्न पाउँछन् ।
साँगुरो सडक र मान्छेको चाँप अत्याधीक रहेपनी पार्किङको व्यवस्था नहुँदा सडक किनारामै छोडीएका गाडीहरु चोरी हुने समस्या समेत बढेको छ । यता ट्राफिक प्रहरीले नगरपालिकासंग सहयोग मागेको भएपनी काम हुन सकेको छैन ।
स्थानीय सरकार आएपछि समस्याका समाधान हुने आशामा रहेका स्थानीय निरास भइसकेका छन् । तर जलेश्वर नगरपालिका भने ३ बर्षदेखी चाँडै नै पार्किङ ब्यवस्थापन हुने बताउँदै आएको छ ।
सडकमा पार्किङ समस्या त पुराएकै छ । बाँकी सडकपेटीमा समेत स्थानीय ब्यापारीले पसल थाप्ने गरेका कारण पैदल यात्रीलाई झनै सकस हुने गरेको छ ।