इलाम, २८ कात्तिक । पछिल्लो समय प्राविधिक शिक्षामा जस्तै गुरुकुल शिक्षामा पनि विद्यार्थीहरुको रुची वढिरहेको छ । धर्म, संस्कृतिको रक्षासंगै चाँडै नै आम्दानी गर्न सकिने भएकाले गुरुकुल शिक्षा प्रति विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढ्दै गएको देखिन्छ ।
इलामको माईजोगमाई गाउँपालिकामा रहेको बालागुरु संस्कृत वेद बृद्धाश्रम गुरुकुल विद्यालयमा अध्ययनरत बालबालिकाहरु सानैदेखि धर्म संस्कृतिको रक्षा गर्ने र पुराण पढ्ने लक्ष्यका साथ सरकारले प्रदान गर्दै आएको औपचारिक शिक्षा त्यागेर गुरुकुल शिक्षा हासिल गर्न लागि परेका छन् ।
गुरुकुल शिक्षाले धर्म र संस्कृति जोगाउने मात्र हैन कम उमेर समूहदेखि नै यस शिक्षा लिने विद्यार्थीहरुले आम्दानी गरेर जिविकोपार्जन गरिरहेका छन् । आफ्नो समाजमा उनिहरुले सम्मान पनि पाइरहेका छन् । यसैकारण गुरुकुल शिक्षाको छुट्टै महत्व रहेको छ । इलामको माइजोगमाई गाउँपालिकामा यसैवर्षबाट मात्र गुरुकुल शिक्षाको सुरुवात गरिएको हो ।
यहाँ स्थापना गरिएको प्राथमिक तहको शिक्षा पछि भारतको सम्पुर्णानन्द विश्वविद्यालयमा अध्ययन गरेपछि नेपालको औपचारिक शिक्षासँग सम्बन्ध राख्ने बताइएको छ । यहाँ स्थापना गरिएको गुरुकुललाई माइजोगमाई गाउँपालिकाले सहयोग गरेको छ । त्यससँगै गुठी र दाताले दान दिने गरेकाले पनि अध्ययनमा सहज भएको प्राचार्य कृष्ण भट्टराईले बताउनुभयो ।
यहाँ हाल आवास सहित ७ जना र बिहान बेलुका २७ जना गरेर ३४ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुले अध्ययनका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने र आवासका लागि पनि निशुल्क ब्यवस्था गरिएको छ । यस्तो गुरुकुलले धार्मिक पर्यटक भित्र्याउन टेवा पुग्ने माइजोगमाई गाउँपालिकाले जनाएको छ ।
जिल्लाको देउमाई नगरपालिकाको मंगलबारे, इलाम नगरपालिकाको तोरीबारी, सन्दकपुर गाउँपालिकाको सुलुबुङलगायतका स्थानहरुमा पनि गुरुकुल शिक्षा शुरु भएको छ ।




